‘काेराेनाकाे सङ्क्रमण राेक्न संसद् र विद्यालय बन्द गराैँ’

नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना सङ्क्रमणबाट विश्व नै त्रसित भइरहेकाले सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस (काेभिड–१९) लाई महामारी भनेर घोषणा गरिसकेको र ‘प्याण्डेमिक’ प्रकृति भनेको विश्वभर एकसाथ फैलने रोग भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपका सबै उडानलाई रोक लगाइसकेकाले नेपालले पनि यसतर्फ थप सर्तकता अपनाउनुपर्ने आवश्यकता रहेकाे औँल्याउनुभयो । सरकारले अहिले पनि संसद्लाई निरन्तर चलाइराख्न नहुने तर्क उहाँले गर्नुभयो । त्यसैगरी ठूलो भिड जम्मा हुने ठाउँहरुलाई तत्काल बन्द गर्न पनि उहाँले सुझाव दिनुभयो ।

समयमै सतर्कता अपनाउन नसके देशले ठूलो मानवीय क्षति बेहाेर्नुपर्ने भन्दै उहाँले यसतर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘भिडभाड हुने ठाउँहरु जहाज, स्कुल, र बसमा सङ्क्रमण हुन सक्ने अवस्था भएकाले यस्तो ठाउँमा सरकारले तुरुन्तै बन्देज लगाउनुपर्‍याे । स्कुलहरु बन्द गर्नुपर्‍याे । यदी हामीकहाँ यो संक्रमणले भ्यायो भने हामीसँग राेक्नलाई केही पनि पूर्वाधार छैन । अमेरिका त्रसित छन् । युरोप त्रसित छन् । नेपालसँग केही पनि छैन । सरकार के हेरेर बसेको छ ?’

त्यसैले सरकारले  चाँडोभन्दा चाँडो संसद् पनि बन्द गर्नुपर्ने उहाँले धारणा राख्नुभयाे । साथै उहाँले विद्यालय पनि बन्द गर्नुपर्ने बताउनुभयाे । ‘ती ठाउँ तत्काल बन्द नगरिए त्यसबाट आउने भयाभव स्थिति नेपालले रोक्न सक्दैन । धेरै मान्छेको मृत्यु हुन सक्ने सम्भावना छ’, उहाँले भन्नुभयाे ।

 

श्राेत : उज्यालाे अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्