म कहिल्यै पनि पार्टी फुटाउने छैन भन्दै कमल थापाले गीता निकाले

File Photo

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अब पार्टी कहिल्यै पनि नफुट्ने बताएका छन् ।

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्त एकता घोषणा सभा सम्बोधन गर्दै अध्यक्ष थापाले फेरि पार्टी फुट्छ कि भन्ने आशंका नराख्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

अध्यक्ष थापा र पशुपतिशम्शेर जवराले एकीकरण पत्र आदानप्रदान गर्दा कार्यकर्ताले गीता पुस्तक छोएर अब पार्टी फुट्दैन भन्न गरेको आग्रहलाई थापाले स्वीकार गरे ।

थापाले खल्तीबाट गीताको पुस्तक निकाल्दै भने, ‘पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं, म कहिल्यै पनि पार्टी फुटाउने छैन । तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन ।’

उनले गीताको पुस्तक अध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबरालाई पनि चाहिन्छ कि भन्दै पोडिएममै छाडेर गए । थापाले फेरि पार्टी फुट्छ कि भनेर सोच्न नहुने बताए ।

‘पार्टी फेरि फुट्छ कि भन्ने आशंका धेरै साथीहरूमा छ । यसलाई मैले अस्वभाविक ठानेको छैन । विगतमा फुटको श्रृंखलाबाट गुज्रदै आएको हुँदा कार्यकर्ताहरूमा निराशा छ,’ उनले भने, ‘आशंका छ । दुविधा छ । हामी नेतृत्वमा रहेकाहरूले निराकरण गरेर जानुपर्छ ।’

उनले पार्टीलाई माया गर्ने कार्यकर्तालाई र मतदातालाई अब राप्रपा कहिल्यै पनि फुट्ने छैन भन्ने विश्वास दिलाउनुपर्ने बताए ।

‘अनावश्यक सोचबाट मुक्त हुनुस्। एकता हुन पाएको छैन फुट्छ भन्ने चिन्ताबाट मुक्त हुनुस्,’ उनले कार्यकर्तालाई भने ।

पार्टी फुटमा नेतालाई मात्र गाली नगर्न उनले आग्रह गरे ।

‘अब फुट्दैन । फुट्न दिनौं । फुटमा नेतालाई मात्र गाली गरेर हुन्न,’ उनले भने, ‘कार्यकर्ताले हस्ताक्षर नगर्ने हो भने पार्टी कहिल्यै पनि फुट्दैन। नेताको पछाडि होइन नीतिको पछाडि लाग्नुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्