बाँकेको एक चप्पल कारखानामा आगलागी, १ जना गम्भीर घाइते, करोडौको क्षति

सांकेतिक तस्विर

काठमाडौं – बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा १ जना गम्भीर घाइते भएका छन् । बुधबार बिहानबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अमरजित सिंहले जानकी गाउँपालिका–३ मा सञ्चालन गरेको जयश्री सियाराम चप्पल कारखानामा बुधबार बिहान १ः१५ बजे आगलागी भएको हो ।

आगलागीमा सुरक्षा गार्ड दीपककुमार चौहान गम्भीर घाइते भएका छन् । शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगोले कारखानामा रहेका चप्पल, कच्चापदार्थलगायत जलेर नष्ट भएका छन् । यद्यपि, मेसिनलगायतका महँगा उपकरण भने जोगाउन सफल भएको बाँके प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि गुलरिया, कोहलपुर, नेपालगञ्जलगायत स्थानबाट ६ दमकल मगाएर नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

कारखाना सञ्चालक सिंहले आगलागीबाट आफ्नो कारखानामा रहेका ८–१० करोड रुपैयाँ बराबरका मालसामान जलेर नष्ट भएको दाबी गरेका छन् । तर, प्रहरीले भने क्षतिको यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ ।

विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरे पनि खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्