सुदूरपश्चिम प्रदेश : प्रदेशकाे नाम र राजधानी ताेक्न मै बित्याे २ बर्ष

प्रदेशको नामकरण सुदूरपश्चिम घोषणा गर्नु र गोदावरी नगरपालिकाको तेघरीलाई राजधानी तोक्नुलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षको सबैभन्दा ठूलो उपलब्धि मानेको छ । कर्मचारीतन्त्रको अभाव र ऐन कानुन निर्माणका चुनौती क्रमशः हट्दै गएको दाबी मन्त्रीहरू गर्छन ।
प्रदेशको अर्थ मन्त्रालयले हालै वित्त सम्मेलनको आयोजना गरेर उद्योग, कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासमा लगानी भित्र्याउने दाबी गरिरहेको छ । यसबीच सामाजिक विकासमन्त्री दीर्घ सोडारी महिलामाथि दुर्व्यवहार र वन, उद्योग तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पदमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालय एम्बुलेन्स खरिद र अल्ट्रासाउन्ड मेसिन खरिद प्रकरणमा आर्थिक चलखेल भएको आरोपमा मुछिएको छ । दुवैको प्रदेशसभा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ ।

सत्तापक्षकै सभासदहरू सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिन्छन् । उनीहरूले जनचाहनाअनुसार सरकार अघि बढ्न नसकेको, सरकारको कार्यशैली ठीक नभएको तथा जनप्रतिनिधिका कुरै नसुन्ने गरेको विषय प्रदेशसभामा जोडदार ढंगले उठाउने गरेका छन् । ‘अब त हामीले भन्दा सत्तापक्षले नै सरकारको चर्को आलोचना गर्न थाले,’ प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले भने, ‘यो सरकार हरेक क्षेत्रमा असफल भएको छ ।’

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १०.१८ प्रतिशत मात्र खर्च गर्न सकेको छ । अबको ६ महिनाभित्र ९० प्रतिशत बजेट खर्च गरिसक्ने दाबी सरकारको छ ।

साभार : कान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्