एक हप्तामा ५ लाखले उपत्यका छाडे, उपत्यकामा गाडीको संख्या घट्यो

काठमाण्डौ – आज पनि काठमाण्डौको कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुको चाप छ । भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो । गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौँसम्म गाडी कुरेर बसेका थिए ।

यस्तै, पालिका चुनावका लागि एक हप्तायता ५ लाखको हाराहारीमा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाले जानकारी दिए । गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थाले पनि अस्ति र हिजो भिड धेरै थियो । यस्तै, हिजो धेरैजसो लामो दूरीका यात्रु बाहिरिएका थिए ।

आज भने मध्यम दूरीका यात्रु धेरै बाहिरिने क्रममा रहेका छन् । आज नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत जिल्लामा जानेको सङ्ख्या धेरै छ । यसैबीच, भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाण्डौ उपत्यकामा गाडीको सङ्ख्या केही कम भएको छ ।

राजनीतिक दल तथा उम्मेदवारहरुले मतदाता ओसारपसार गर्नका लागि सार्वजनिक गाडी रिजर्भमा लैजान थालेकाले काठमाण्डौमा गाडीको सङ्ख्या केही घटेको हो । काठमाण्डौमा २० देखि २५ प्रतिशतले गाडीको सङ्ख्या घटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्