चार हजारभन्दा धेरैले फिर्ता लिए उम्मेदवारी, सबैभन्दा बढी उम्मेदवार एमालेका, कुन पार्टीका कति उम्मेदवार ?

काठमाडौँ – आउँदो ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई हिजो बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । तथ्याङ्क सङ्कलनको काम भइरहेकाले फिर्ता लिनेको सङ्ख्या थपघट हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन् ।

चुनावी कार्यतालिकाअनुसार आज उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ । सत्ता गठबन्धनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन दबाब दिए पनि भरतपुर, पोखरा लगायतका ठाउँमा उम्मेदवारी कायमै छ । भरतपुरमा कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी कायम राखेपछि त्यहाँको चुनाव रोचक हुने देखिएको छ । पौडेलको उम्मेदवारी फिर्ता लिन निकै कोसिस भएको थियो ।

यस्तै पोखरामा कांग्रेसका नेता विमल कार्कीले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुभएको छैन । गठबन्धनको तर्फबाट चितवन माओवादी केन्द्र र पोखरामा एकीकृत समाजवादीको भागमा परेको थियो । यस्तै जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार मनोज साहले पनि उम्मेदवारी फिर्ता लिनुभएको छैन ।

यसैबीच पालिका चुनावमा एमालेका उम्मेदवार सबैभन्दा बढी छन् । आयोगकाअनुसार एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । एमालेले पुरुष १९ हजार ४९९ र महिला १४ हजार ४ जना गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको हो ।

यसमध्ये मेयरमा २६४ जना पुरुष र २७ जना महिला गरी २९१ जना तथा अध्यक्षमा ४१९ पुरुष र २८ जना महिला गरी ४४७ उम्मेदवार छन् । एमालेले उपप्रमुखमा २६ पुरुष र २६० महिला गरी २८६ जना तथा उपाध्यक्षमा ३५ पुरुष र ४१० महिला गरी ४४५ जनालाई उम्मेदवार बनाएको छ ।

यस्तै नेपाली कांग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ । कांग्रेसबाट पुरुष १८ हजार ५४३ र महिला १२ हजार ८८२ जना गरी ३१ हजार ४२५ जना उम्मेदवार छन् । यसमध्ये मेयरमा २५० जना पुरुष र १५ जना महिला गरी २६५ जना तथा अध्यक्षमा ३६२ पुरुष र १९ जना महिला गरी ३८१ जना उम्मेदवार छन् । कांग्रेसले उपप्रमुखमा ३० जना पुरुष र १८२ महिला गरी २१२ जना तथा उपाध्यक्षमा ६७ जना पुरुष र २९३ जना महिला गरी ३६० जनालाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले पुरुष १३ हजार ३०२ र महिला ८ हजार ९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । यसमध्ये माओवादीले मेयरमा १५६ जना पुरुष र १८ जना महिला गरी १७४ तथा अध्यक्षमा २६१ पुरुष र २९ जना महिला गरी २९० जना उम्मेदवार बनाएको छ । माओवादीबाट मेयरमा ८५ जना पुरुष र १३३ जना महिला गरी २१८ जना तथा उपाध्यक्षमा ११५ जना पुरुष र २०० महिला गरी ३१५ जना उम्मेदवार छन् ।

यस्तै पालिका चुनावको लागि देशभरबाट १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्