गोविन्दराज जोशी समूहले तनहुँमा एमालेसँग तालमेल गर्ने

काठमाडौँ – गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। वैशाख ३० मा हुने स्थानीय चुनावमा जोशीका छोरा दीपकराज जोशी व्यास नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन्। उनले मेयर उठ्न चुनावी प्रचारलाई तीव्र बनाएका छन् भने सम्पर्क कार्यालय खोलेका छन्।

शनिबार भएको छलफलमा जोशी समूहबाट चार र एमालेबाट चार जना रहने चुनावी परिचालन समिति गठन गर्ने निर्णय भएको छ। जोशी निवासमा बैठक बसेको थियो। सबै पालिकाका प्रमुख, उपप्रमुखलगायत पदहरूमा साझा उम्मेदवारी दिने सहमति एमालेसँग भएको दीपकराजले सेतोपाटीलाई बताए।

‘म व्यासको मेयरमा उठ्दैछु। व्यासमा मलाई एमालेले समर्थन गर्छ,’ उनले भने, ‘व्यासमा एमालेबाट उपमेयर उठ्ने कुरा छ। अरू पालिकामा सदस्यदेखि वडाध्यक्ष र पालिका प्रमुखहरूसम्म साझा उम्मेदवार बनाउने सहमति भएको छ।’

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराजलाई पार्टीले कारबाही गरेको थियो। उनलाई ५ वर्षका लागि कांग्रेसले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको थियो। ०७४ मा तनहुँमा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोपमा जोशीमाथि अनुशानसको कारबाही गरिएको थियो। उनीमाथि गरिएको अनुशासन कारबाही फिर्ता लिनेबारे कांग्रेसमा छलफल भइरहेको बेला जोशीले एमालेसँग चुनावी तालमेल गर्ने भएका छन्। दीपकराजले भने आफू विदेशबाट स्वदेश फर्केर काम गर्न चाहे पनि ओझेलमा परेको बताए। ‘म स्वदेशमै केही गर्छु भनेर फर्केको हुँ,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्