कोरनाको त्रास : नेपाली बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव, विश्वका ६३ मुलुकमा कोरना फैलियो

काठमाडौं – चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड १९) को असर विश्वव्यापी बनिरहँदा नेपालमा पनि यसको त्रास फैलिएको छ । नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्दा हालसम्म एक जनामा मात्रै पोजटिभ देखिएको छ । ती एक जना बिरामी पनि पूर्णरुपमा स्वस्थ भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराएपछि थप त्रास फैलिएको छ । यो रोगको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन सरकार र सरोकारवालाले पटक पटक आह्वान गर्दै आएका छन् ।

कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी, अन्तर्रा्ष्ट्रिय समूदायका साथै राजनीतिक पार्टी र संघसंस्था समेतले सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् ।

सरकारले गत आइतबार सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेसँगै त्यसको कार्यान्यन गर्न थालिएको हो ।

अहिले बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव भएको छ । कतिपय स्थानमा पाइएपनि चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेका उपभोक्ताहरुको गुनासो छ । बजारमा भाइरसको त्रासले मास्क र सेनिटाइजरको माग अत्यधिक रहेकाले अभाव र कालोबजारी देखिएको हो ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जनाएको छ । बुधबार बिहानसम्म यो रोगबाट ३ हजार २ सय ३ जनाको मृत्यु भएको छ भने ९३ हजार १ सय ६० जना बिरामी छन् । यस्तै यो रोगको संक्रमण भएका ५० हजार जना भने निको भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्