शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा जलपक्षी गणना थालिएको छ ।

निकुञ्जभित्र र बाहिर रहेका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो । गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञ, हिमाली प्रकृति, एनटीएनसी, नेचर गाइड एसोसिएशनका प्रतिनिधिलगायत सहभागिता छन् ।

गणनामा वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए । आउँदो माघ २ गतेसम्म स्थलगत रूपमा पुगेर र कुनै ठाउँमा डुङ्गा लगायतमा चढेर जलपक्षी गणना हुने उनले बताए ।

उनका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुनेछ । अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुनेछ ।

तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्ष जलपक्षीको अनुगमन र गणना हुँदै आएको छ । अघिल्लो वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए । तालतलैयामा जलपक्षीको सङ्ख्या सँगै सिमसारको अवस्था बारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्