हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध, बैतडीमा भारी हिमपात

File Photo: Social Media

डडेल्धुरा – डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ ।

मङ्गलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो । भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । सडक क्षेत्रको हिउँ पन्छाउन डोजर पठाइएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताउनुभयो । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।

बैतडीमा भारी हिमपात

बैतडी – बैतडी र दार्चुलामा गए रातिदेखि हिमपात भइरहेको छ । बैतडीको अनारखोली, खोड्पे, सतबाँझ श्रीभावर, गाँजरी, बाजपानी, ढोल्यामोड र देहिमाडौँ तथा दार्चुलाको ब्याश, राप्ला, घुसा र खण्डेश्वरीमा हिमपात भएको छ ।

हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द छन् । अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्ग अवरुद्ध छ । बाजपानी, ढोल्यामोड, खोडपे क्षेत्रमा परेको हिउँका कारण जयपृथ्वी राजमार्गमा पनि सवारीसाधन चल्न नसकेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्