सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात, यातायात अवरुद्ध

डडेल्धुरा – सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको छ ।

लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरु हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभाबर, बजपानीलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातपछि भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको हगुल्टेमा र दशरथ चन्द राजमार्ग अन्तरगत बैतडीको खोड्पेमा यातायात सेवा अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । हिउँ पर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार राजमार्ग खुलाउन प्रयास भइरहे पनि बाक्लो हिउँका कारण समस्या भइरहेको छ । बाजुरा, बझाङ, डोटी, दार्चुलाका हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएपछि चिसो बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्