भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १०० दिनको प्रगति विवरण सार्वजनिक, ९ हजार ५ सय खाल्डा पुरिए

 

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रगति विवरणमा सडकका खाल्डाखुल्डी पुरेको विषयलाई ‘विशेष उपलब्धीपूर्ण’ भनेर पहिलो नम्बरमा राखिएको छ ।

मन्त्री नेम्वाङका अनुसार सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको छ ।

यसका साथै काठमाडौं उपत्यकाका करिब २७ किलोमिटर सडकमा कालोपत्रे गर्ने कामसमेत सम्पन्न भएको छ । यसलाई पनि मन्त्री नेम्वाङले गौरव गर्न लायक काम भनेर उल्लेख गरेका छन् ।

‘१०० दिनको कार्यकालको अधिकांश समय हिउँदको समय भएकाले चिसोको कारण उल्लेखनीय मात्रामा कालोपत्रेको कार्य हुन नसके तापनि प्राप्त भएको प्रतिफलमा गौरव गर्न मिल्ने अवस्था छ,’ प्रगति विवरणमा लेखिएको छ ।

यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकामा थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्री नेम्वाङले जानकारी दिए ।

१७ वटा चोकहरुमा ट्राफिक लाइट बालिएको, बल्खु, महालक्ष्मीस्थान र बानेश्वरमा आकाशे पुल निर्माण थालिएको, कलंकी–महाराजगञ्ज सडक बिस्तारको काम थालिएकोलगायतका विषयलाई प्रगति विवरणमा समेटिएको छ ।

मन्त्रालयका अनुसार १५ सय वटा रुग्ण आयोजनाको म्याद विनासर्त एक वर्ष थप गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्