मेरो जन्मदिन र बा-आमा

मलाई यो धर्तिमा पाईला टेकाउने स्वर्गीय वुवा छोराको खुशी संगै रमाउदै आउने वृद्ध आमा प्रति कोटि कोटि प्रणाम का साथै उच्च सम्मान र अविरल सम्झना पनि ।
पौष महिनाको ३ गते शुक्रवार । हेमन्त ऋतुको मध्यभाग । शिरशिर शिरशिर चलिरहेको चिसो हावा । उ डाँडा माथि लागेको पारिलो घाम । बुवाको मन भारी, आमाको प्रसव पिडा । यो दिन यो संसारमा सवै भन्दा वढि सवै भन्दा पहिला चाहाने माया,ममता र स्नेह प्रदान गर्ने मेरा वुवा आमाको खुसिको सिमा रहेन होला । म यो पृथ्वीमा खालि हात र नाङ्गो शरीर लिएर जोड जोडको रुन्चे आवाजको चिच्याहटमा जन्म लिदै गर्दा मेरी आमा सुत्केरी व्यथाको त्यो वेलाको प्रसव पिडालाई भुलेर मुसुमुसु हास्दै मलाई छातीमा टाँसेर चुमिरहेकि थिईन वुवाले जिवनका सवै पीडा भुलेर मेरो जन्मको खुसियालीमा भुई खुट्टा छाडेर गाउँभरि प्रचार प्रसार गरिरहेका थिए होला । परिवारको खुसी।मेरो जन्म दिन । मेरो आमाबुवाको आँखा खुसीका आँसुले भरिएको पौष । म जन्मिएको पौष ।

आफुले नखाएर मलाई खुवाउने आमा । आफुले नलगाएर मलाई कपडा लगाई दिने मेरो बुवा । अनी हरेक क्षणमा म मुस्कुराएको देख्न चाहाने मेरो परिवार।आमा बुवा म बाल्यकाल हुदैँ जवान हुदाँ समेत हजुरहरुलाई सम्बोधन गर्ने कुनै शब्द भेटेको छैन। र भेटु पनि कसरी !
म सम्झन्छु,आमा, हजुर धर्ती हो, मलाई मायाको कहिल्यै कमी हुन दिनुभएन। बुवा, हजुर आकाश हो, मलाई हरेक कुराको कमी हुन दिनु भएन् । हजुरहरुले भन्नु हन्थ्यो नी, ‘राम्रो बनेस्, ज्ञानी बनेस्, धेरै पढेस्, ठूलो मान्छे बनेस्, झगडा नगरेस्, आफु भन्दा अगाडीको मान्छेले भनेको सबै कुरा मानेस्, आमाबुवाको र परिवारको ईज्जतको ख्याल गरेस् ।’
म अहिले पनि हजुरहरुले सिकाएको बाटोमा छु।अहँ, मैले बाटो बिराएको छैन्, तर माफ गर्नुहोस् आमाबुवा म गन्तब्यमा पुग्न सकेको छैन। जिन्दगीमा ठेस नलाग्ने कहाँ हुन्छ र ? मन नदुख्ने कस्को हुन्छ र ?
मैले बिगतमा भोगेका दुखका दिनलाई बिर्सिने कोशिस गर्दै छु । विगत बिर्सिन गाह्रो हुदोँ रहेछ।तर बिगतले सिकाएको पाठ अहिलेको मार्ग बन्दै गएको छ। मेरो निम्ती, परिवारको निम्ती मिठो नखाएर, राम्रो नलगाएर । भोली भोली भन्दै साँचेर यहाँ सम्म ल्याउनुभयो आमाबुवा ।
छिमेकीले डाँह गर्थे, साथीसंगीले झगडा गर्थे, आफन्तले गिद्धे नजरले हेर्थे।तर पनि संघर्ष गर्नुपर्छ भनेर सिकाउने मेरो आमाबुवा।हुर्काउनु भयो, बढाउनु भयो, पढाउनु भयो, लेखाउनु भयो, संसार देखानु भयो, संघर्ष गर्न सिकाउनु भयो। म सानो हुदाँ मेरा अनेकौँ सपना सँग लुरीबुरी खेल्ने मेरो आमाबुवा ।
परिवारमा ठूलो आँधीबेरी आयो । पापी दैव, निष्टुरी भगवानले बुवालाई २०७२ कार्तिक २८ गतेक‍ो झिसमिसे उज्यालो संगै लिएर गयो । बाघले बाख्रो लिए जस्तै, चिलले चल्ला लिए जस्तै, खोलाले किनार कटान गरे जस्तै, बर्षातको भेल बगे जस्तै।अहँ, मेरो बुवा कहिल्यै नफर्किने गरेर लगेर गयो ।
मलाई सम्झना छ, याद छ, र त त्यो झिसमिसे उज्यालो हुँदै गरेको दिनको प्रतिक्षामा छु, मेरो बुवा एक दिन फर्किएर आउनु हुन्छ । तर त्यो मेरो भ्रम हो। र पनि मन मान्दैन, मान्दै मान्दैन् । यहाँ सम्म आउदाँ राम्रो गर भन्ने धेरै बुवा भेटाए, तर जन्म दिने बुवा ? मलाई संसार देखाउने बुवा ? भेटाउन सकिन । सायद अब भेट्टाउन सक्दिन होला !
अहिले बुवाको माया आमा सँग साट्दै आएको छु । मेरो आमा उमेरले ६५ काटिसक्नु भएको छ । म जन्मदा जती माया गर्नुहुन्थ्यो,अहिले त्यो भन्दा झन् बढी माया गर्नुहुन्छ । आमा रिसाएको कहिल्यै थाहा पाएन । म भोकाएकी छु भनेको कहिल्यै थाहा पाएन । मलाई राम्रो लगाउन र मिठो खान मन छ भनेको कहिल्यै थाहा पाएन । मेरी आमा !
म अहिले घर देखी टाढा छु। टाढाको वसाईले आमा संगै परिवार जनमा वसेर आफ्नो जन्मोत्सव वनाउन असमर्थ भए। म ठूलो भैसके जस्तो लाग्छ । तर आमाको नजरमा म सानो छु । आमा भन्नुहुन्छ ः काम गर्दा होसियार बन्नु है ।आफ्नो ख्याल गर्नु ।आमाको माया लाग्छ। घरको याद आउँछ । घर जान मन पनि लाग्छ । तर पनि जीवन जिउने उपाय सिक्दै छु । म भन्छु “आमा केही दिनमा घर आउँछु“।आमा सोच्नुहुन्छ होला, छोराले घर आउने भन्थ्यो, तर उसको केही दिन कहिले आउँछ ?’
मलाई मेरो घरपरिवारको साथ छ, सहयोग छ, माया,ममता र स्नेह छ । अनी मात्रै म यहाँ सम्म आएको छु । यदी हजुरहरुको साथ र सहयोग हुदैन् थियो भने अहिले साँझ बिहान खान पनि पाउदैन थिए होला । राम्रो लगाउन पाउदैन थिए होला ।यो सबै हजुरहरुको प्रेरणा र सहयोगले हो । मलाई आशा छ। म जिन्दगी भर हजुरहरुको माया र प्रेरणा पाइरहन्छु ।म फेरी सोच्छु । मेरी आमाको अपेक्षा मध्य सबैभन्दा ठुलो अपेक्षा हो बुढेसकालको सहारा अनि साथ । त्यो बेलाको दुध भातले माया दर्शाएको छ।अनि सन्तान मोह छ साथमा । म मेरो आमाबुवाको जीवन बिमा त हुँ, एउटा खाली चेक आमाबुवाका लागि हैन र ?
यदाकता तरह–तरहका भाव संगै सामाजिक सञ्जालमा फोटाहरु छरपष्ट पार्ने सन्तान पनि थुप्रै छन् आमा । एक छाक खान नदिएर भोकभोकै पार्ने अनी बुढेसकालमा बृद्धाश्रम लिएर छोडिदिने सन्तान पनि छन् आमा । अनी आमाको उच्च सम्मान गर्दै बुढेसकालको सहारा बनेका सन्तान पनि छन् आमा । बुवाले हाम्रो खुसी देख्न नपाउदैँ पापी दैवले चुडाएर त लियो आमा, तर शरिरमा एक मुठी सास र एक चिम्टी रगत रहुन्जेल सम्म म हजुरलाई खुसी बनाउने छु, र हजुरको बुढेसकालको लौरी भनेर सहारा दिने छु मेरी आमा ।यो मेरो लागी एउटा उज्यालो दिन हो । यो सुनौलो अपरचुनेटीमा मेरा बाबुआमा जस्ले मलाई यो जीवन दिनुभो, अनि अन्य शुभ तथा अशुभ चिन्तकहरु, अनि सम्पुर्ण म सँग जोडिनुहुने दाजुभाई, दिदी बहिनीहरु, साथी सगीँहरु सम्पुर्णलाई हृदय देखी नै आभार ब्यक्त गर्न चाहान्छु । किनकी उहाँहरुको साथ सहयोग नै ठुलो रह्यो जीवनका यी सिँढीहरु चढ्नको लागी । साथै सम्पुर्ण आत्मिय मनहरुमा आभार व्यक्त गर्दछु । हजुरहरुको यसैगरि बर्षौ–बर्ष सम्म माया र स्नेह पाईरहु ।आमा आज मेरो जन्म दिन ।

प्रेम जोशी ‘सागर’

शैल्यशिखर न.पा. ८ झरकडा, दार्चुला।
हाल धनगढी कैलाली।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्