महाधिवेशन भएको ४ वर्ष पछि विभाग गठन गर्दै देउवा, पौडेलसँग मागे नेताहरुकाे नामावली

काठमाडौँ – नेपाली कांग्रेसले पार्टी विधानअनुसार विभाग गठन गर्ने गृहकार्य सुरू गरेको छ ।

१३ औं महाधिवेशन भएको चार वर्षसम्म विभाग गठन हुन सकेको थिएन । सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन आउन एक वर्ष बाँकी रहँदा विभाग गठन अगाडि बढाएका हुन् ।

पुस ११ मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले विभाग संख्या बढाएर ४७ पुर्‍याएको छ । ती विभागका संयोजक मनोनित गर्न सभापति देउवाले शुक्रबार बरिष्ठ नेता रामचन्द्र पौडेलसँग नाम मागेका छन् ।

‘सभापति देउवाले आज अपरान्ह ४ बजे बरिष्ठ नेतालाई टेलिफोन गरेर विभागमा रहने साथीहरूको नाम पठाउन आग्रह गर्नुभएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।

आइतबारसम्म संगठन, प्रचार, जनसम्पर्कलगायत विभाग गठन गर्ने पक्षमा देउवा देखिएका छन् । सहमतिमार्फत् नै विभाग गठन गर्न सभापतिले चाहेकोले बरिष्ठ नेतासँग आफ्नातर्फका नेताको नाम दिन भनिएको हो ।

बिहीबार उपसभापति विमलेन्द्र निधिले बरिष्ठ नेता पौडेललाई भेटेर विभाग गठन गर्ने जानकारी गराएका थिए । पौडेलले भने महाधिवेशन आउन वर्ष दिन पनि बाँकी नरहेको भन्दै विभाग गठनमा खासै चासो देखाएका छैनन् ।

‘बरिष्ठ नेताले नाम उपलब्ध गराउनु भएन भने पनि शनिबार वा आइतबारसम्म केही विभाग गठन भइसक्छ,’ ती केन्द्रीय सदस्यले भने ।

सभापति देउवाले अधिवेशन नजिकिएका बेला आफूप्रति दुई हजारभन्दा बढी नेता र कार्यकर्ता आकर्षित गर्न विभाग गठन गर्न लागेको पौडेल पक्षले आरोप लगाउने गरेको छ ।

‘क्षेत्रीय प्रतिनिधिसम्म भोट भएका मान्छेहरूलाई विभागमा राखेर आफ्नो गुट बलियो बनाउने गरी विभाग गठन गर्न लागिएको छ,’ देउवाइतर एक केन्द्रीय सदस्यले भने, ‘समयमा महाधिवेशन गर्न नसकेर एक वर्ष थपिएको कामचलाउ कार्यसमितिले विभाग गठन गर्न मिल्दैन । यसले पार्टीलाई फाइदा पनि गर्दैन, आफ्नो गुट बलियो बनाउने धन्दा मात्रै हो ।’

२५ सदस्यीय विभाग बनाएर तलैदेखि गुट बलियो बनाउन सभापतिले अहिले विभाग गठन गर्न लागेको उनले आरोप लगाए ।

‘नयाँ विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र र पुरानो विधानअनुसार दुई महिनाभित्र विभाग गठन गर्नुपर्ने हो । अहिले कामचलाउ समितिले महत्वपूर्ण निर्णय गर्न सक्दैन,’ उनले भने ।

तर प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवाले सहमतिकै आधारमा विभागहरू गठनको गृहकार्य सुरू गरेको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्