काँग्रेसले गर्‍यो निर्वाचन कार्यक्रम सार्वजनिक, नयाँ नेतृत्व चयन गर्न मंसिर २७ गते मतदान

काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । जसअनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ । काँग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि ५ बजेसम्म हुनेछ ।

यस्तै दावी विरोधको समय २५ गते बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय दिइएको समितिले जनाएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रियसभा गृहमा हुनेछ ।

यस्तै सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै गरिनेछ । सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरुको मतगणना पार्टी कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ । काँग्रेसको सभापतिमा हालसम्म शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने इतर पक्षबाट साझा उम्मेदवार तय गर्न छलफल जारी छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्