पाकिस्तानमा बलात्कारीलाई नपुसंक बनाउने कानुन पारित

काठमाडौं – पाकिस्तानमा कैयौं पटक बलात्कार गरेको आरोप पुष्टि भएमा बलात्कारीलाई नपुसंक बनाउन सकिने भएको छ । पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित गरेपछि बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने भएको हो ।

पाकिस्तानमा केही वर्षयता बलात्कारका घटना बढेको भन्दै जनआक्रोश बढ्न थालेपछि कडा कानून बनाउने फैसला गरिएको थियो । गत वर्ष बलात्कारीका दोषीलाई नपुंसक बनाउनेसम्बन्धमा एक अध्यादेशसमेत ल्याइएको थियो ।

त्यसको एक वर्षपछि तिनै प्रावधानलाई समेटिएको एक विधेयकलाई बुधबार बसेको संसदको संयुक्त सत्रमा पारित गरिएको बीबीसी हिन्दीले जनाएको छ । ‘केमिकल कास्ट्रेशन (रासायनिक नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ’ विधेयकमा भनिएको छ, ‘यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ र सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ ।’

तर कट्टरपन्थी इस्लामिक समूहले बलात्कारीलाई नपुंसक बनाउने कानूनी प्रावधानको विरोध गरेका छन् । जमात–ए–इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले पारित विधेयकलाई इस्लाम विरोध एवं शरियाविपरीत भएको बताए । इस्लामिक कानूनमा नपुंसक बनाउनेबारे केही उल्लेख गरिएको छैन । यही कारण हरेक बलात्कारीलाई नपुंसक बनाउनुको साटो सार्वजनिक स्थलमा फाँसी दिनुपर्ने अहमदको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्