२ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

धनुषा – गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा संयुक्त रुपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री खाणले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि जोखिमको प्रर्वाह नगरि सुरक्षा निकायले गरेको कामको प्रशंसा गर्दै अपराध नियन्त्रण तथा अनुसन्धान लगायत सुरक्षा सम्बन्धि सबै काम उत्कृष्ट रहेको बताउनुभयो । नागरिकलाई सेवा प्रदान गरी राहत दिन सुरक्षा निकाय सक्रिय रहेको उल्लेख गर्दै सीमामा हुने विभिन्न अपराध तथा अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न संवेदनशील हुन सुरक्षा निकायहरुलाई उहाँले निर्देशन दिनुभयो ।

गोष्ठीमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गरी सुरक्षा निकायले सराहनीय काम गरेको उल्लेख गर्दै सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

२ नम्बर प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण, गृहसचिव टेकनारायण पाण्डे र २ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव हरि प्रसाद मैनालीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो प्रस्तुतीकरण गर्दै समग्र नेपाल प्रहरी र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान तथा रोकथाम, अपराधको समग्र तथ्याङ्क विश्लेषण, शान्ति सुरक्षाको अवस्था, मुख्य सुरक्षा चुनौती तथा समस्या र जनलक्षित सचेतनामूलक कार्यक्रम एवं त्यसको प्रभावकारिताको बारेमा जानकारी दिनुभयो । प्रहरी संगठन र प्रहरी सेवालाई थप राम्रो बनाई संगठनलाई उचाईमा लैजान नयाँ प्रविधिको प्रयोग लगायतका प्रयास गरिएको उहाँले बताउनुभयो ।

साथै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, नेपाली सेना युद्धकार्य महानिर्देशनालय जंगी अड्डाका युद्धकार्य महानिर्देशक उपरथी पवनराज घिमिरे, गृह-मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा प्रमुखहरुबाट आ-आफ्नो क्षेत्रबाट भए गरेका सुरक्षा व्यवस्थापनका विविध विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फडिन्द्रमणी पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त गोष्ठीमा २ नम्बर प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ-आफ्नो जिल्ला अन्तर्गत शान्ति सुरक्षाको अवस्था, भौतिक श्रोतसाधन, सम्भावित सुरक्षा चुनौतीहरु एवं सुरक्षा क्षेत्रका विविध गतिविधिहरुका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

गोष्ठीमा प्रदेश अन्तर्गतको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका विषयमा हालसम्म भए गरेका विभिन्न गतिविधिहरु तथा प्रदेश अन्तर्गतको विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका बिषयमा रणनीतिक योजना तय गर्न सहभागीहरुबीच छलफल तथा अन्तरक्रिया भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्