सूर्यविनायक – जडिबुटी सडकखण्ड : निजी, सार्वजनिक र मालवाहक गाडीका लागि छुट्टाछुट्टै लेन

काठमाण्डौ – सुर्यविनायक–जडिबुटी सडकखण्डमा निजी, सार्वजनिक र मालवाहक गाडी छुट्टाछुट्टै लेनमा चलाईने भएको छ ।

गाडीको आवागमनलाई सहज बनाउन र गाडी दुर्घटना कम गर्न पर्सि बुधबारदेखि छुट्टाछुट्टै लेनमा गाडी चलाउन लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सुर्यविनायक – जडिबुटी सडकखण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने गाडी बायाँ लेनमा, र निजी गाडी दाहिने लेनमा मात्र चलाउन पाइने व्यवस्था गरिएको लेन कार्यान्वयनका लागि महाशाखाले गठन गरेको अनुगमन समितिका संयोजक सिताराम हाछेथुले जानकारी दिनुभयो ।

छुट्टाछुट्टै लेनबाट गाडी चलाउँदा अहिले भईरहेको जाम घट्नुको साथै दुर्घटना समेत कम हुने संयोजक हाछेथुले बताउनुभयो । उहाँले अहिले भैरहेका धेरैजसो दुर्घटनामा टिप्पर तथा ठूला गाडीले मोटरसाइकललाई ठक्कर दिएको पाइएकोले अब छुट्टै लेन प्रयोग गरेपछि मोटरसाइकल तथा साना गाडीलाई ठूला गाडीले ठक्कर दिने क्रम कम हुने बताउनुभयो ।

यसअघि प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठन गरिएको सुझाव समितिले सूर्य्विनायक जडीबुटी सडक खण्डको ट्राफिक व्यबस्थापनमा सुधार गर्न निजी तथा सार्वजनिक गाडीलाई छुट्टाछुट्टै लेन बनाउन सुझाव दिएको थियो ।

समितिको सुझावलाई कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक विभाग, यातायातसँग समन्वय गरी तोकिएको लेन प्रयोगलाई कार्यान्वयन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उज्यालो अनलाइनबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्