लटिनाथ देवताको संक्षिप्त इतिहास

“आगा हुल तोई दिउलो पाछा हुल मेरी
दुत्या हुल तोई दिउलो चतुर्दशी मेरी”
उल्लेखित उद्दरणहरु प्राचीन डोटी र कुमाउँ क्षेत्रका लोक प्रशिद्ध देवता लटिनाथको गाथा (झोडो)का हुन् । ठाउँ अनुसार लटिनाथलाई लटबाब,लट्या,लाटो आदि नामले पुकारिन्छ।
लटिनाथलाई एक महान योद्धा र न्यायका देवताको रुपमा लिने गरिन्छ। पिता मलैनाथले हुणदेशका राजा छिपलाकि रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले आफ्नो सैन्यबलका साथ मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा सो आक्रमणको प्रतिउत्तर दिन आफूसङ्ग कोही वीर योद्धा नभएको र जेठो छोरा लटिनाथलाई नदीमा बगाएकोमा पश्चाताप गरिरहेको समयमा मार्मा थलीबाट लटिनाथको प्रस्थान युद्धस्थलमा हन्छ।
             यो पनि 
शिखरधुरामा मलैनाथ र भागाश्री लुकेको स्थान पत्ता लगाउन छिपला पक्षले दह बाँधी सो दहबाट प्रकाश परावर्तन गराउन लाग्दा लटिनाथले १२ मन फलामको गोला प्रहार गरि उक्त दह भत्काईदिएको किम्बदन्ती पाईन्छ । साथै छिपला पक्षको आक्रमणबाट परेका पहिरोहरुलाई पिठ्यु थापेर माथितिर फर्काईदिएको कुरा पनि लटिनाथको गाथा(झोडो)मा सुन्न पाईन्छ ।
यो पनि 
मलैनाथ पक्षको सेनापतिको भुमिकामा रहेका लटिनाथले युद्धमा छिपला पक्षलाई पराजित गरिसकेपछी मलैनाथ र लटिनाथको चिनजान भएको प्रसङ्ग आउँछ। कुराकानीका क्रममा आफुले अरु रानीहरु र ज्योतिषको कुरा सुनेर पितालाई पिर्ने ग्रह परेको भनेर नदीमा बगाएको शोभाश्री पुत्र उनै लटिनाथ भएको प्रस्ट हुन्छ । एकातर्फ छिपलामाथीको विजय र अर्कोतर्फ बर्षौ पहिले शिशु अवस्थामा नदीमा बगाईएको पुत्र जवान भएर फर्कएको देख्दा मलैनाथ लाई औधी खुसी लाग्छ। खुसीकै माहोलमा मलैनाथले आफ्नो भन्दा पहिले पुजाआजा हुने र जात्रा लाग्ने घोषणा गर्नुहुन्छ । सोही अनुरुप कार्तिक शुक्ल द्वितियामा लटिनाथको र कार्तिक शुक्ल चतुर्दशीमा मलैनाथको जात्रा लाग्ने गर्दछ ।
लटिनाथको मुल बासस्थान दार्चुला जिल्लाको मार्मा क्षेत्रमा पर्ने तलाईमाडौं हो । लटिनाथले आफ्नो जीवनकालमा केही समय बसोबास गरेका अन्य सबै क्षेत्रहरुमा लटिनाथको मन्दीर रहेको छ । त्यसमध्ये शैल्यशिखर -८ दार्चुलामा पर्ने बन्तोली पनि एक हो। मुलथान तलाईमाडौं पछि बन्तोली,विजयपुर,चौड र खर्कलाई विशेष महत्त्व दिने गरिन्छ ।
बन्तोली लगायत लटिनाथका मन्दिरहरुमा प्रत्येक बर्ष कार्तिक शुक्ल द्वितियाका दिन पुजा आराधना एवम् रात्रीकालिन भव्य जात्रा लाग्ने गर्दछ।
जाँडरक्सी, जुवातास, चोरी,अनैतिक कृयाकलाप,झैझगडा आदि रात्रीकालिन जात्रामा देखिएका विकृतिहरु हुन् । यी क्रियाकलापहरु रात्रीकालिन जात्राको कारण भन्दा पनि समाजले बाटो बिराएका कारण बढेका हुन् । मन्दिरको प्रवेशद्वारमै रक्सी पसल खोल्न दिने देखि चोरी झैझगडा र अनैतिक क्रियाकलापमा समाजका सभ्य भनिएकाहरु नै अगुवा बनेर लागेपछी बाँकी समाजले बाटो बिराउँछ नै । जात्रामा देवीदेवताको दर्शन गर्ने,आफन्तसङ्ग भेटघाट गर्ने,लोकगीत गाउने,लोक नृत्यहरु गर्ने,लोकबाजहरु बजाउने आदि उद्देश्यभन्दा पनि नकारात्मक कुरा मनमा लिएर जाने र नकारात्मक कार्य गर्नमै आफ्नो सम्पुर्ण ध्यान केन्द्रीत गर्ने भएपछि विकृती फैलिन्छ नै ।
मान्छेको मनमा नकारात्मक कुरा उत्पन्न हुन रात पर्खिनु पर्दैन। विकृतिहरु फैलिने कुनै निश्चित समय हुँदैन । रात्रीकालिन जात्रा दिनमा मनाएर विकृती हट्छ भन्नू एकदमै हल्का तर्क हो । सदियौं देखि पू्र्खाले हाम्रा लागि बचाईदिएको परम्परालाई हामीले तोड्न खोज्नु ईतिहासमाथिको उपहास हो।
रात्रीकालिन जात्रा रोक्नुभन्दा पनि समाजलाई सही बाटो तर्फ कसरी डोहोर्याउन सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी छ । जात्राको समयमा मन्दिर पुग्नेहरु सबै स्वच्छ भावनाले लिएर जाने हो भने जात्रामा कुनै खालको विकृतिहरु देखा पर्दैनन् । पुर्खाहरुले ठूलो अध्ययन र अनुभवका आधारमा यी रात्रीकालिन जात्राहरु सुरु गरेका हुन् । यी परम्पराहरुलाई निरन्तरता दिँदै वैज्ञानिक पक्षहरुको बारेमा खोजी गर्नु हाम्रो कर्तव्य हो ।
खिमानन्द जोशी मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशका संयोजक हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्