कुन दलबाट को-को बन्दै छन् मन्त्री? (नामसहित)

FILE PHOTO

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका हुन् ।

वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आज साँझसम्म मन्त्रालय बाँडफाँट टुंग्याएर भोलि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेका छन् ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री देउवाबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा २ घण्टा छलफल भएको थियो । सो छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने अस्वस्थ भएकाले सहभागी भएनन् भने जसपा अध्यक्ष पार्टीको कार्यक्रममा जनकपुर पुगेकाले सहभागी हुन पाएनन् ।

त्यसपछि दुई नेताबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सामान्य छलफल भए पनि थप गठबन्धनको बैठक बसेर निर्णय लिने सहमति बनेको छ । प्रधानमन्त्री देउवाले आज नै गठबन्धनको बैठक बोलाएर सोबारे निर्णय गर्नेछन् ।

मन्त्रालयको संख्याका विषयमा भने गठबन्धन आबद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर, कुनकुन मन्त्रालय कसले लिने भन्ने टुंगिएको छैन ।

कांग्रेस उच्च स्रोतका अनुसार कांग्रेसबाट दिलेन्द्र बडु, डा मीनेन्द्र रिजाल मन्त्री बन्ने पक्का छ । यस्तै, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । यस्तै, पुष्पा भुषाललाई समेत प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा ल्याउँदै छन् । बडु र रिजाल कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् । यस्तै, प्रधान र चौधरी सिटौला समूहका हुन् । भुषाल भने देउवानिकट हुन् ।

यस्तै, सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई भने स्वास्थ्य मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी छ । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने राज्यमन्त्रीकै भूमिकामा राखिने बताइएको छ ।

माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराती, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलमध्ये दुई जना र जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये एक जना मन्त्री बन्नेछन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि पाँच मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना सरकारमा सहभागी हुने पक्का छ । सो पार्टीबाट सरकारको नेतृत्व भने खतिवडाले गर्नेछन् ।

जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई दिएको छ । जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का भएको छ । राजधानी दैनिकबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्