भोली देखि दशैँका अग्रिम टिकट बुकिङ खुला, अनलाइनबाट पनि टिकट काट्न सकिने, यसरी काट्नुहोस् अनलाइनबाट टिकट

काठमाडौँ – सरकारले यही असोज ११ गतेदेखि दशैंका लागि सवारी साधनहरुको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

आईतबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भोलिदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिएको बताए ।

उनले कोरोना महामारीको जोखिम नघटेकोले अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउँदा सहज र उपयुक्त हुने बताए । उनले काठमाडौं उपत्यकाको १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आउने बताउँदै अहिलेसम्म ५ वटा सहायता कक्ष तयार भइसकेको र सोमबारबाट १४ वटै तयार बनाएर भोलिबाट नै सञ्चालनमा ल्याउने बताए । उनले दशैँको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न कुनै पनि सवारीसाधन चेकजाँचमा खुला गर्ने बताउँदै दशैँलक्षित राजमार्गहरु खुलाउने, सडक मर्मत गर्ने कार्यमा मन्त्रालय लागि परेको बताए ।

त्यस्तै समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइन र मोबाइलबाट टिकट बुकिङ गर्न उपभोक्ताहरुलाई अनुरोध गरे । उनले मोबाइलबाट खल्ती डटकम, इसेवा र सम्पूर्ण बैंकहरुको मोबाइल एप्लिकेशनबाट टिकट काट्न सकिने र अनलाइनबाट भने यातायात व्यवसायीहरुको अनलाइनबाट टिकट खरिद गर्न सकिने बताए । महानिर्देशक घिमिरेले अनलाइन टिकट काटेर आउने हरेक यात्रुहरुलाई यस वर्ष एक बोतल एक लिटरको मिनिरल वाटरको व्यवस्था मिलाइएको पनि बताए । उनले दशैँमा टिकट वितरण गर्न धेरै विचौलिया देखापर्ने समस्या रहेको भन्दै यसवर्ष टिकट काउन्टरमा बसेकालाई परिचय पत्र र तोकिएको पोशाक उपलब्ध गराउने भएकोले उक्त काउन्टरमा रहेका पोशाक लगाउने र परिचय पत्र भएकाहरुबाट मात्रै टिकट काट्न आग्रह गरे ।

उनले देशभरका गुनासो सम्बोधन गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालयमा कमाण्डर सेन्टर स्थापना गरी २४ सै घण्टा टोल फ्रि नम्बरमा सम्पर्क गरेर गुनासो टिपाउन सकिने बताए। उनले दशैँलाई मध्यनजर गर्दै यात्रुहरु सिट क्षमता भन्दा बढी चढाउने सवारीसाधनको निगरानीको लागि नागढुंगासम्म साधा पोशाकमा प्रहरीहरुले अनुगमन गर्ने पनि बताए ।

‘असोज ११ गतेदेखि मध्यम तथा लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ, त्यो अनुसार यात्रु, व्यवसायीले तयारी गर्नुभएको छ, हाम्रो अनुरोध यसपटक अनलाइन र मोवाइल एपबाटै टिकट बुकिङ गर्न उपभोक्ताहरुलाई अनुरोध छ, त्यसका लागि इसेवा, खल्तीडटकम र सम्पूर्ण बैंकका मोबाइल एपहरुबाट गर्न सकिन्छ भने, यातायात व्यवसायीहरुको अनलाइनमा पनि बुकिङ गर्न सकिन्छ, अनलाइन टिकट काटेर आउने सबै यात्रुहरुलाई १ लिटरको एउटा मिनिरल वाटर दिने सहमति भएको छ’, उनले भने, ‘टिकट वितरण दशैँबेला विचौलियाहरुको व्यवसाय चल्दो रहेछ, यस वर्ष टिकट काउण्टरमा परिचयपत्र भएका र तोकिएको पोशाकमा भएकालाई मात्र राखिनेछ, सके ट्रयाकसूट नभए ज्याकेट रहनेछ, त्यसैअनुसार टिकट लिनुहोला, यदी अन्यले टिकट वितरण गरे तत्काल प्रहरीले पक्राउ गर्नेछ, हामीले यसपटक गुनासोको लागि महानगरीय ट्राफिक प्रहरी कार्यालयमा कमाण्ड सेन्टर स्थापना गर्ने र त्यसमा प्रहरी, यातायात व्यवसायी, यातायात व्यवस्था विभागले २४ सै घण्टा देशभरका गुनासोहरुको सम्बोधन गर्नुहुनेछ, टोल फ्रि नम्बरमा सम्पर्क गरेर गुनासो राख्नसक्नुहुन्छ, यस वर्ष हामीले नागढुङ्गासम्म साधा पोशाकमा सवारीसाधनमा सिट क्षमता भन्दा बढी यात्रुहरु राखेको छ कि छैन भनेर निगरानी गर्न प्रहरी खटाउनेछौँ, उहाँहरुले निगरानी गर्नुहुनेछ ।’

महानिर्देशक घिमिरेले कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा गाउँ जाँदा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौं का विभिन्न स्थानबाट सवारी साधनहरु छुट्ने बताए ।

पश्चिम चल्ने यातायातका लागि नयाँ बसपार्क र पूर्वका सवारीसाधनहरुका लागि कोटेश्वर, चाबहिल, नदीका खाली ठाउँहरुमा प्रहरीको सक्रियतामा सवारीसाधन छुट्ने पनि बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्