अपहरण आरोपमा चार जनालाई मारेर शव चोकमा झुन्ड्याए तालिबानले

बीस वर्षपछि अफगानिस्तानको सत्तामा फर्किएका तालिबानहरूले सजायको तरिका पनि बीस वर्षअघि कै फर्काएका छन्।

बिबिसीका अनुसार हेरात सहरमा उनीहरूले चार जनालाई अपहरणको आरोपमा मारेर शव चोकमा झुन्ड्याएर राखेका छन्।

एक जना तालिबान नेताले पहिलाको जस्तै सजाय दिने व्यवस्था फेरि आउन सक्ने बताएको अर्को दिन पश्चिम सहर हेरातको मुख्य चोकमा क्रेनमा झुन्ड्याइएको शव राखिएको हो।

तालिबान अधिकारीहरूले एक जना व्यापारी र उनका छोरालाई अपहरण गरेका ती चार जना गोली हानाहानमा मारिएको बताएका थिए। अपहरणमा परेका व्यापारी र उनका छोरा मुक्त भइसकेका छन्।

हेरातका एक व्यापारी वजिर अहमद सिद्धिकीले समाचार संस्था एसोसिएट प्रेसलाई बताएअनुसार शनिबार तालिबानहरूले चार वटा शव सहरमा ल्याएर आएका थिए। एउटा मुख्य चोकमा झुन्ड्याए र तीन वटा बाँकी चोकमा झुन्ड्याउन लगेर गए। हेरातका उपगभर्नर मौलावी शइरले अब कसैले अपहरण नगरोस् भनेर शव चोकमा राखिएको बताए।

गत अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेका तालिबानहरूले यसपालि आफूहरूले नरम तरिकाले शासन गर्ने बताएका थिए। सन् १९९६ देखि २००१ सम्म शासन गर्दा उनीहरूले अपराध गर्ने मानिसलाई सार्वजनिक रूपमा ढुंगाले हानेर मार्ने र हात-खुट्टा काटिदिने जस्ता दण्ड दिने गर्थे। अहिले पनि उनीहरूले त्यही शैली अपनाउने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्