नगरप्रमुखले कार्यकक्षमै गएर कर्मचारी कुटेपछि . . .

धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले नगरपालिकाकै कर्मचारी चन्देश्वर ठाकुरमाथि हातपात गरेका छन् । शुक्रबार नगरपालिकाकै कार्यालयमा कुटपिट भएको हो । सञ्चारकर्मीलाई नगरपालिकामा हुँदै आएका अनियमितताका समाचार चुहाएको भन्दै नगर प्रमुख दासले ठाकुरमाथि कार्यालयभित्रै हातपात गरेका हुन् ।

नगरप्रमुख दाससँगै उनका कार्यकर्ता शत्रुधन राय र अंगद रायले समेत ठाकुरलाई कुटपिट गरेको पीडित कर्मचारीको भनाइ छ । ‘म कार्यालयमा काम गरिरहेको थिएँ । मेयर साहब मेरो कार्यकक्षमा आउनुभयो,’ पीडित कर्मचारी ठाकुरले भने, ‘कार्यकक्षमा मेयर साहबका दुई कार्यकर्ता शत्रुधन राय र अंगद राय पनि सँगै आए, तीनै जना मिलेर मेरो तिघ्रामा लात्तीले हाने ।’

‘नगरपालिकामा हुने अनियमितताका समाचार तैँले नै सञ्चारमाध्यममा सम्प्रेषण गराइस्’ भन्दै मेयरले धक्कामुक्की र उनका कार्यकर्ताहरू शत्रुधन र अंगदले आफूलाई पिटेको ठाकुरको भनाइ छ । केही दिनपूर्व मात्रै बाख्रा वितरणमा विदेह नगरपालिकाले व्यापक अनियमितता गरेको समाचार प्रकाशमा आएको थियो । ठाकुर कृषि अधिकृतका रूपमा विगत चार वर्षदेखि विदेह नगरपालिकामा छन् ।

विषयगत जिम्मेवारीका कारण चन्देश्वरले नगरपालिकाबाटै बोरिङ, दमकल वितरण, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलगायत सञ्चालन गर्दै आइरहेका छन् । सो कार्यक्रम सञ्चालन गरेबापत मेयरले १२ लाख रुपैयाँ कमिसन मागेको उनको आरोप छ ।

उनले भने, ‘मेयर साहबले कमिसन माग्दै आउनुभएको थियो, मैले अनियमित काम गर्दिनँ भन्दै टारेँ । त्यसैले पनि मलाई कुटपिट गरिएको हुन सक्छ ।’ ठाकुरले आफूमाथि भएको हातपातका विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत जानकारी गराएको बताए । तर प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेको उनको भनाइ छ ।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार साहले कार्यालयमा कुनै कर्मचारीमाथि हातपात नभएको बताए । नगरप्रमुख दासलाई बदनाम गर्नकै लागि अनर्गल प्रचार गरिएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्