७० औँ प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीको सम्बोधन, सन् २०३० भित्रमा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अठोट

PM KP SHARMA OLI SPEECH

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सन् २०३० भित्रमा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अठोट गर्नुभयो । ७०औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाण्डौको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान र कानुनअनुसार देशलाई अगाडि बढाउने र देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । वर्तमान सरकारले दुई वर्ष पूरा गरे पनि गएको वर्षलाई आधार वर्षका रुपमा लिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले आधार वर्षलाई टेकर आउँदो वर्षबाट विकास निर्माणका कामलाई अगाडि बढाएको बताउनुभयो ।
‘हामी सन् २०२२ सम्ममा नेपालाई अति कम विकसित देशको स्तरबाट स्तारोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा छौँ’, उहाँले भन्नुभयो । सरकार ’समृद्ध नेपाली, सुखी नेपाली’ को ध्येयका साथ सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रित भएको र त्यसका लागि मित्रराष्ट्रहरुको समेत साथ रहने अपेक्षा सरकारले गरेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले गर्नुपर्ने कामहरुको सूची लामो भएकाले सरकार समृद्धिको यात्रामा लागेको उल्लेख गर्दै सरकारले केही काम सुरु गरेको, केही गर्ने अवस्थामा रहेको र केही सम्पन्न भइसकेको बताउनुभयो । उहाँले सरकार बिल्कुलै नयाँ राज्य प्रणालीको अभ्यासमा रहेकाले बदलिएको प्रणालीलाई हिँडाउन चुनौतिपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा सरकारका ठाउँमा अर्को सरकार बदलिएको जस्तो होइन एउटा प्रणालीका ठाउँमा बदलिएको अर्को प्रणालीको अभ्यास हामी गरिरहेका छौँ ।’ प्रधानमन्त्री ओलले छोटो अवधिमा जनताका आकाङ्क्षा र चाहनाहरु पूरा गर्नुपर्ने चुनौतीसमेत सरकारसामु रहेको बताउनुभयो । उहाँले बदलिएको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाइरहेको अवस्थामा वरोधहरु देखिने गरेको बताउनुभयो ।
हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिएको छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको सम्झनामा बुधबार ७०औँ प्रजातन्त्र दिवस मनाइएको हो । दिवसका अवसरमा काठमाण्डौको टुँडिखेल लगायत देशका विभिन्न ठाउँमा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्