कक्षा ९ र १० मा ऐच्छिक गणित कायमै छ : पाठ्यक्रम विकास केन्द्र

भक्तपुर –  कक्षा ९ र १० मा ऐच्छिक गणित विषय नहटाएको पाठ्यक्रम विकास केन्द्रले सूचना मार्फत जानकारी दिएको छ ।

शैक्षिक सत्र २०७७ देखि ऐच्छिक गणित हटाइएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि केन्द्रले माध्यमिक शिक्षा कार्यक्रम अन्तर्गत कक्षा ९ र १० मा ऐच्छिक गणित विषय गत शैक्षिक सत्र २०७५ देखि नै लागू गरिसकिएको प्रष्ट पारेको हो ।

केन्द्रले हालै जारी गरेको एक सूचनामा कक्षा ९ र १० का लागि विभिन्न ऐच्छिक विषय उल्लेख गरे पनि ऐच्छिक गणित समावेश थिएन । केन्द्रले गत पुस ९ गते निकालेको सूचनामा कक्षा ९ मा ११ ऐच्छिक विषय र कक्षा १० मा ९ वटा ऐच्छिक विषय समावेश गरेको थियो ।

उक्त सूचनाअनुसार कक्षा ९ मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक अंग्रेजी, लेखापरीक्षण, वातावरण विज्ञान र कम्प्युटर विज्ञान विषय राखिएका छन् ।

यस्तै कक्षा १० मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, वातावरण विज्ञान र कम्प्युटर विज्ञान विषय छन् । कक्षा ९ र १० मा विद्यार्थीले ऐच्छिक दुई विषय पढ्न पाउँछन् ।

केन्द्रकी पाठ्यक्रम अधिकृत चिनाकुमारी निरौलाले निकालेको उक्त सूचनामा ऐच्छिक गणित राखिएको थिएन । गत वर्ष नै लागू भइसकेको उक्त विषय सूचनामा समावेश नभएपछि ऐच्छिक गणित हटाउन लागेको भन्दै केन्द्रको आलोचना भइरहेको छ ।

तर केन्द्रकै वेवसाइटमा राखिएको ‘माध्यमिक शिक्षा पाठ्यक्रम’ भित्र कक्षा ९ र १० मा ऐच्छिक गणित विषय शैक्षिक सत्र २०७५ देखि नै लागू भइसकेको उल्लेख छ । यसअघि शैक्षिक सत्र २०७४ देखि ९ र १० कक्षामा ऐच्छिक विज्ञान र अर्थशास्त्र लागू भइसकेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्