२० वर्षपछि अमेरिकी सैनिकले छोडे अफगानिस्तान, तालिबानले मेसिनगन पड्काएर मनायो खुसियाली

 

काठमाडौँ – अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ ।

द न्यूयोर्क टाइम्सका अनुसार सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल छोडेसँगै सन् २००१ देखि अफगानिस्तानमा सुरू भएको अमेरिकी उपस्थिति अन्त्य भएको हो ।

सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्दा झन्डै तीन हजार मानिसको मृत्यु भएको थियो । उक्त आक्रमणका योजनाकार ओसामा विन लादेनलाई तत्कालीन अफगान सरकारले अमेरिकालाई बुझाउन नमानेपछि अमेरिकाले काबुलमा आक्रमण थालेका थियो । त्यतिबेला पनि काबुलमा तालिबानहरूको सरकार थियो । २० वर्षपछि अमेरिकाले अफगानिस्तान छोड्दा तालिबानहरूले नै काबुलको सत्ता फेरि कब्जा गरेका छन् ।

अमेरिकाले यसअघि तालिबानसँग दोहामा गरेको सम्झौतामा अगस्ट ३१ सम्ममा अफगानिस्तान छोडिसक्ने उल्लेख थियो । सोही समय सीमा सकिनु एक दिनअघि अमेरिकी सेना फिर्ता गएको हो ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानमा अमेरिकी सैनिक मिसन सकिएको र आउने समयमा कूटनीतिका माध्यमबाट सम्पर्क निरन्तर जारी राख्ने बताएका छन् ।

अमेरिकी सेनाको अन्तिम जहाज काबुलबाट उडेपछि दुई साताअघि सत्ता कब्जा गरेका तालिबानहरूले विजय उत्सव मनाएका छन् ।

अमेरिकाले अफगानिस्तान छोडेको खुसियालीमा मध्यरातमा उनीहरूले काबुल सहरका विभिन्न ठाउँमा बन्दुक पड्काएका थिए ।

‘अमेरिकाका अन्तिम सैनिकहरू काबुल विमानस्थलबाट गएका छन् र हाम्रो देशले पूर्ण स्वतन्त्रता पाएको छ, अल्लाहलाई धन्यवाद!,’ तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ट्वीटरमा भनेका छन् ।

अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा नयाँ युगको सुरूआत भएको छ । अब तालिबानहरूले नयाँ सरकार गठन गर्ने छन् ।

सन् १९९६ देखि २००१ सम्म सत्ता चलाएका तालिबानहरू मुस्लिम कट्टरपन्थी विचारधारामा विश्वास गर्छन् । तालिबानको नयाँ शासनमा महिलाहरूलाई कसरी व्यवहार गरिन्छ भन्ने मुख्य चासोको विषय छ किनभने तालिबानहरू महिलाहरूलाई पढ्न प्रतिबन्ध लगाउँछन् भने बाहिर काम गर्न पनि दिँदैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्