नेपाल विद्युत् प्राधिकरणले वर्षेनी थप १० अर्व रुपया कमाउदै, विद्युत चुहावट साढे ९ प्रतिशतमा झ¥यो

File Photos: THT

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा वितरणतर्फको चुहावट ९ दशमलव ७८ प्रतिशतमा झारेको छ ।

गएको आर्थिक वर्षमा ११ दशमलव २८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई यो आर्थिक वर्षको पुससम्ममा ९ दशमलव ७८ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएको छ । यो आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावटलाई साढे ८ प्रतिशतमा झार्ने लक्ष्यका साथ प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवाप्रवाह सुधार तथा विस्तारमा केन्द्रित भएर काम गरिरहेको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा प्रणालीमा रहेको २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावटलाई गएको आर्थिक वर्षसम्ममा १५ दशमलव ३२ प्रतिशतमा झारिएको छ । चालु आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य लिइएको छ ।

चुहावट नियन्त्रणबाट मात्रै वार्षिक रुपमा झण्डै १० अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । बाँकी ६ महिनामा तय गरिएको लक्ष्य हासिल हुने पनि कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने र प्राविधिक चुहावट नियन्त्रणका लागि सबस्टेसनको क्षमता वृद्धि गर्ने, कण्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका काम अभियानकै रुपमा चलाइरहेको घिसिङको दाबी छ ।

‘विकसित देशमा पनि वितरणतर्फको विद्युत् चुहावट पाँच प्रतिशतको हाराहारीमा हुन्छ, प्रसारण तथा वितरणतर्फका निर्माणाधीन सबै सबस्टेसन सञ्चालनमा आएपछि हामी पनि विकसित देशकै हाराहारीमा पुग्छौं’, घिसिङले भन्नुभयो ।

प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुखहरु र मातहतका एक सय २९ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

चुहावट नियन्त्रण र सेवा प्रवाहका लागि दिइएका लक्ष्य पूरा गरेमा नगद र गैरनगद प्रोत्साहन पाउने व्यवस्था गरिएकाले यसको सकारात्मक प्रभाव परेको घिसिङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्