काँग्रेस बैठकमा अधिवेशनको कार्यतालिका सार्ने सहमति

File Photo

काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो ।

काँग्रेस नेता रमेश लेखकका अनुसार महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउन भन्ने सहमति भएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ ।

यसअघि वडा अधिवेशन १२ साउन, पालिका अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन र एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनका लागि तय गरेको थियो ।

यस्तै प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा गर्ने काँग्रेसको निर्णय थियो । तर समयमा क्रियाशील सदस्यता टुंग्याउन नसक्दा तल्लो तहको कार्यतालिका प्रभावित हुने भएपछि कार्यतालिका परिमार्जन गरिने सहमति भएको हो ।

बैठकमा निर्वाचन समितिको निर्देशिका तयार गर्ने सहमति भएको छ । यस्तै क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार विहान ९ बजे सभापति देउवालाई प्रतिवेदन बुझाउने निर्णय भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्