सुनचाँदी व्यवसायी र अर्थमन्त्रीबीच भेटवार्ता, बहुमूल्य वस्तुको निकासीलाई प्रोत्साहित गर्न आग्रह

काठमाडौँ –  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन सहित सुनचाँदी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्मासमक्ष भेटवार्ता गरेका छन् ।

शुक्रवार भेटका क्रममा कोभिड–१९ को दुष्परिणामबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न र व्यापारघाटा कम गर्न अवलम्बन गरिनुपर्ने उपायहरुबारे ध्यानाकर्षण गरेका छन् ।

मुलुकको कुल बाह्य व्यापारमा असन्तुलन बढेर आयात ९२ प्रतिशत र निर्यात ८ प्रतिशतमा सीमित हुनपुगेको गम्भीर अवस्थालाई दृष्टिगत गरी अर्थतन्त्रमा महत्वपूर्ण रुपमा मूल्यअभिवृद्धि गर्नसक्ने बहुमूल्य वस्तुहरुको निर्यातलाई प्रोत्साहित गर्नुपर्नेमा महासंघ टोलीले भेटका क्रममा जोड दिएको थियो ।

देशभित्र वर्षेनी अबौं मूल्यका सुन, चाँदी, रत्न, पत्थर आदि बहुमूल्य वस्तुहरु आयात भइरहेको तर स्वदेशी भूगर्भमा थुप्रै प्रकारका बहुमूल्य धातु तथा रत्न, पत्थर आदि रहेको अनुसन्धानबाट पुष्टि भएकाले तिनीहरुको उत्खनन र प्रशोधन गर्न व्यवसायीले आग्रह गरेका थिए ।

उत्खनन र प्रशोधन भएमा आयात प्रतिस्थापनमा ठूलो टेवा पुग्ने र निर्यात पनि गर्न सकिने महासंघको भनाइ छ । आभुषण व्यवसायले बृहत आकार लिइसकेको र आम नागरिकको समेत ठूलो लगानी भइसकेको यस क्षेत्रलाई थप व्यवस्थित तुल्याउनु जरुरी रहेको महासंघले जनाएको छ ।

प्रतिनिधि मण्डलमा महासंघका प्रथम उपाध्यक्ष राम प्रसाद विश्वकर्मा र सह–कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा सम्मिलित थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्