चीनबाट थप खोप आएपछि खोप अभियानले निरन्तरता पाउने

काठमाण्डौ – चीनबाट खोप आउनेबित्तिकै खोप अभियानले निरन्तरता पाउने भएको छ । मौज्दातमा रहेको खोप सकिएकाले काठमाण्डौमा खोप अभियान स्थगित भएको छ ।

अरु जिल्लाहरुमा प्रशासन र पालिकाको समन्वयमा केन्द्र र दिन निर्धारण गरेर खोप लगाउने काम भइरहेको छ । आउँदो ७ गतेपछि फेरि चीनबाट खोप आउन थाल्ने भएकाले अभाव नहुने खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

खोप आउनेबित्तिकै यसअघि छुट्याइएको प्राथमिकताअनुसार उमेर र समूहको आधारमा खोप लगाइने उनले बताए । यसअघि अर्को लटको खोप लिन वायु सेवा निगमको जहाज अस्ति चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो ।

निगमले आउँदो ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जनाएको छ । निगमकाअनुसार चीनसँग खरिद गरिएका खोप लिन ६ गते गएर ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते फेरि जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । यसैगरी सरकारले खरिद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि खोप ल्याइरहेको छ ।

नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले १८ वर्षभन्दा माथिका दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्