अबको तीन दिन मनसुन थप सक्रिय हुने, मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

FILE PHOTO

काठमाण्डौ – अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने र यो अवधिमा केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

आज विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश–२ र प्रदेश–१ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले कास्की, स्याङ्जा लगायतका ठाउँमा ठूलो पानी परिरहेको छ ।

भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, तथा प्रदेश– १ का थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ । भने अरु ठाउँको मौसम बद्ली भएर हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको छ । यसैबीच आजदेखि तीन दिनसम्म केही नदी तथा खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

यस्तै नारायणी र कोशीका सहायक नदीहरु, कालीगण्डकी, मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशूली, सुनकोशी, भोटेकोशी, तामाकोशी, अरुण, तमोर लगायतका नदीहरुमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेकाले आजदेखि तीन दिनसम्म नै सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्