काँग्रेसले ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने

काठमाडाैँ – नेपाली काँग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न विधानका दफा निलम्बन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विधानका दफा निलम्बन गर्ने निर्णयलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गराइनेछ । यसैगरी पार्टीका वडा तहमा हाल विद्यमान क्रियाशील सदस्य सङ्ख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

काँग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसङ्ख्याको बनोटलाई मध्यनजर गरी समानुपातिक समावेशीतालाई ध्यानमा राखी वितरण गरिनेछ । काँग्रेस पार्टी सङ्गठनको अन्तरिम संरचनाको समायोजनको कार्य केही जिल्लामा हालसम्म पनि सम्पन्न नभइसकेकाले क्रियाशील सदस्यता वितरण नवीकरण यही माघ १३ गतेको बैठकको निर्णयबाट पारित समायोजन र क्रियाशील सदस्यसम्बन्धी कार्यतालिका बमोजिम परिमार्जन गरिएको छ ।

बैठकमा भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाको विधानका सैद्धान्तिक आधार तथा मापदण्ड एकरुपता निर्धारण समितिका संयोजक एनपी साउदले समितिको तर्फबाट बैठकमा नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ र नेपाल दलित सङ्घको विधान प्रस्तुत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्