साउनमा पनि अर्जुनधाराधामको मुख्य मन्दिर खुला नहुने

झापा– कोभिड–१९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण जनाउँदै झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने पर्वमा नखुल्ने भएको छ ।

साउन महिनाको सोमबार हिन्दू नारीले मनोकामना पूर्ण होस् भन्दै शिवालयमा जल चढाउने परम्परा रहेको छ । झापामा निषेधाज्ञा जारी रहेको हुँदा मन्दिर खुला नहुने धाम व्यवस्थापन समितिले जनाएको छ ।

साउन महिनामा पहेँलो र हरियो रङका चुरा, मेहन्दीलगाएर शिवजीको पूजा आराधना गर्दा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । पूर्वको पशुपतिनाथको नामले परिचत अर्जुनधारा जलेश्वरधाममा विगगका वर्षमा साउन महिनाको सोमबार जल चढाउने भक्तजनको घुइँचो लाग्ने गर्दथ्यो ।

गत वर्ष पनि कोभिड–१९ को तीव्र लहरका कारण धाम खुलाइएको थिएन । मूलढोका नखुल्दा भक्तजनले मन्दिर बाहिरबाट नै फूल र प्रसाद अर्पण गरेर शिवको पूजा आराधना गरेका थिए ।

यसपालि पनि बिहान नित्य पूजाको समयबाहेक मन्दिर नखुल्ने समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो । सोमबारे जल चढाउन र शिवको पूजा आराधना गर्न पूर्वी नेपालका विभिन्न स्थानदेखि भारतको सिलीगुढी, दार्जिलिङ, सिक्किमलगायतका ठाउँबाट हजारौँ भक्तजन अर्जुनधारा आउने गरेका थिए ।

कोभिड–१९ को सङ्क्रमण बढेसँगै मठमन्दिर, सभा समारोहलगायतका सम्पूर्ण कार्यक्रम सरकारले स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले गत वैशाख २१ गतेदेखि नै पटकपटक निषेधाज्ञा जारी गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्