पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा सञ्चार क्षेत्रका विज्ञहरूको जोड

काठमाडौँ – सञ्चार क्षेत्रका विज्ञहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले यहाँ आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका’ विषयक अन्तक्र्रियाका वक्ताले पत्रकारिता क्षेत्रलाई मर्यादित र थप जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।

उहाँहरूले काउन्सिललाई थप बलियो र स्वायत्त बनाउनुपर्ने सुझावसमेत दिनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको सुनिश्चितता कानूनले गर्ने भएको बताउँदै कानून निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको कार्यक्षेत्र आचारसंहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालको नियमन गर्दा काउन्सिलले थप अध्ययन गर्नुपर्ने बताउनुभयो ।

छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले व्यक्तिगत सञ्चार र जिम्मेवार सञ्चारबीचको भेद छुट्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जो पनि पत्रकार हुने स्थितिले पत्रकारिता मर्यादित र विश्वसनीयता घटेको छ । पर्सनल मिडिया र रेस्पोन्सिवल मिडिया छुट्याउनुपर्छ”, पत्रकार तीर्थ कोइरालाले काउन्सिलले मिडिया उपभोक्ताको कुरा सुन्नुपर्ने, उनीहरूले सही सूचना पाए÷नपाएको हेर्नुपर्ने बताउनुभयो । कार्टुनका विषयमा आचारसंहिता आकर्षित नहुने भन्दै उहाँले काउन्सिल पत्रपत्रिका वर्गीकरणको कामबाट अलग्गिनुपर्ने धारणा राख्नुभयो ।

महासङ्घका पूर्वमहासचिव उजिर मगरले प्रदेश सरकारले नयाँ नीति ल्याएर नियमनकारी निकाय गठन गरेकाले काउन्सिलको भूमिकामा चुनौती थपिएको बताउनुभयो । पत्रकार बबिता बस्नेतले काउन्सिलको स्वायत्ततामा प्रश्नचिह्न उठेको भन्दै व्यक्तिको सामाजिक सञ्जालमाथिको निगरानीमा काउन्सिलले हात हाल्न नहुने बताउनुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले भावनात्मक विषय र व्यावसायिक आचारसंहितालाई नियम तथा कार्यविधिमा कसरी संरचनाभित्र ल्याउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्