मनकामना स्मार्ट लघुवित्तको आइपीओको प्रि अलटमेन्ट सकियो, कहिले हुन्छ आइपीओ बाँडफाँड ?

काठमाडौँ – मनकामना स्मार्ट लघुवित्तको आइपीओको प्रि अलटमेन्ट शुक्रबार सकिएको छ । प्रि अलटमेन्ट सकेर धितोपत्र बोर्डमा बुझाइसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

प्रि अलटमेन्ट सकिएसँगै आगामी सोमबारभित्र लघुवित्तको आइपीओ बाँडफाँट गर्ने तयारी गरेको क्यापिटलले जनाएको छ । भ्याएसम्म आगामी आइतबार नै आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको र नभ्याए सोमबार बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।

त्यस अनुसार ९८.१० प्रतिशत भन्दा धेरैले शेयर नपाउने देखिएका छन् । लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्