युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा एकै दिन १.४२ गुणा बढी आवेदन

काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै १.४२ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओमा बिहीबार बेलुका ५ बजेसम्ममा ४ लाख ६१ हजार ३५६ जना आवेदकबाट ८२ लाख ४७ हजार ८८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन कम्पनीले बिक्रीमा ल्याएको आईपीओको १.४२ गुणा धेरै हो ।

कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ ।

कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकको गुणाङ्क संख्यामा अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्