रातो पासपोर्ट बिक्रीको मुद्दा अदालतमा विचाराधीन हुदाहुदैँ नारदमुनि रानालाई मन्त्रीमा नियुक्त गर्ने तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशबाट संघीय मन्त्रीमा नारदमुनि रानालाई नियुक्त गर्ने तयारी गरेका छन् । रानाबिरुद्ध रातो पासपोर्ट बिक्री गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
२०६४ मा पहिलो संविधानसभा सदस्य भएपछि नारदमुनि रानाले १० लाखमा कूटनीतिक राहदानी(रातो पासपोर्ट) बिक्री गरेका थिए । उनले घुस लिएर अष्ट्रेलिया जानका लागि पासपोर्ट दुरुपयोग गर्न दिएका थिए । उनले २ वटा पासपोर्ट लिएर एउटा पासपोर्ट बिक्री गरी अष्ट्रेलिया उडाएका थिए ।
२६ साउन २०७२ मा विशेष अदालतले रानालाई दोषी ठहर गरिसकेको थियो । उनले पासपोर्ट लिंदा गरेको हस्ताक्षर मिलेको तर औंठाछाप नमिलेकै आधारमा उनले २०७४ मा निर्वाचन लड्न पाएका थिए । अहिले यो मुद्दा सर्वोच्च अदालतमा अड्किएको छ । मुद्दा थााती रहेकाले उनको नाम निलम्बितहरूको सूचीमा परेको छैन । राना २०७४ को निर्वाचनमा कैलाली–५ बाट निर्वाचित भए ।
रानाजस्तै तत्कालीन संविधानसभा सदस्य गायत्री साह, वीपी यादव, शिवपूजन रायले पनि रातो पासपोर्ट बिक्री गरेका थिए । उनीहरुमध्ये गायत्री साह र वीपी यादव राजनीतिबाटै गुमनाम छन् ।
तर सुदूरपश्चिमका ओली समूह नेताहरु सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले रानालाई मन्त्री बनाउनु नहुने पक्षमा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषदमा प्रदेश नम्बर २ बाट १२ जना समेटिएका छन् । तर गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट एक जना पनि मन्त्री नियुक्त गरिएको छैन । सुदूरपश्चिम प्रदेशबाट यसअघि एमालेबाट गणेश ठगुन्ना र प्रेमबहादुर आले मन्त्री थिए ।

जेठ ६ गते सर्वोच्च अदालतले नियुक्ति बदर गर्नुअघि लेखराज भट्ट र गौरीशंकर चौधरी पनि सुदूरपश्चिमबाटै मन्त्री रहेका थिए । तर शुक्रबार सुदूरपश्चिमबाट एक जना पनि मन्त्री राखिएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्