महाकाली अस्पतालमा पिसिआर परीक्षण निःशुल्क   

कञ्चनपुर – महाकाली प्रादेशिक अस्पतालमा कमजोर आर्थिक अवस्थाका व्यक्तिको पिसिआर परीक्षण निःशुल्क गरिएको छ । अस्पतालको सामाजिक विकास एकाइबाट सेवा पाउने विपन्न परिवारका व्यक्तिहरुको पिसिआर जाँच निःशुल्क गरिएको हो । यसबाहेक अन्यलाई पिसिआर जाँचको शुल्क आधा घटाइएको छ । यसअघि एक हजार शुल्क लिने गरिएकामा अहिले यसलाई घटाएर रु ५०० बनाइएको छ ।

अस्पताल व्यवस्थापन समितिको केही दिनअघि बसेको बैठकबाट पिसिआर जाँच शुल्क हेरेफेर गरिएको हो । कमजोर अवस्थाका व्यक्तिलाई जाँच निःशुल्क गर्न आग्रह हुने गरेको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सामाजिक विकास एकाइबाट सेवा लिने सबै सेवाग्राहीको निःशुल्क र अन्यलाई रु ५०० शुल्क लिने गरी निर्णय गरिएको बताउनुभयो । “आर्थिक रुपमा कमजोर अवस्थाका बिरामीले शुल्क तिर्नु पर्दैन । अन्यले पनि रु ५०० मात्रै तिर्नु पर्छ” उहाँले भन्नुभयो, “यसबाट सेवाग्राहीलाई फाइदा हुन्छ ।”

अस्पतालको सामाजिक विकास एकाइबाट आर्थिक रुपमा कमजोर भएका समुदाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला, सीमान्तकृत, पछाडि पारिएका समुदायका व्यक्तिलाई निःशुल्क रुपमा सेवा दिने गरिएको छ । कोरोना भाइरस महामारीको पहिलो लहर फैलिएपछि गतवर्ष अस्पतालमा पिसिआर मेसिन जडान गरिएको थियो । भीमदत्त नगरपालिकाले अस्पतालका लागि पिसिआर मेसिन खरीद गरेको थियो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा पहिलोपटक भीमदत्तले मेसिन खरीद प्रक्रिया अघि बढाएको थियो । त्यसपछि अन्य तह पनि मेसिन खरीदमा लागेका थिए ।

कोरोना सङ्क्रमित बिरामीको पिसिआर जाँचका लागि कैलालीको धनगढी जानु पर्ने बाध्यता हटाउन अस्पतालमा मेसिन जडान गरिएको थियो । पिसिआर जाँचबाट आउने शुल्क पिसिआर सञ्चालनमा खर्च हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताउनुभयो । “मेसिन सञ्चालन र व्यवस्थापनमा यो शुल्क खर्च हुन्छ” उहाँले भन्नुभयो । महाकाली अस्पतालमा हालसम्म तीन हजार ९४६ जनाको पिसिआर जाँच गरिएको छ । त्यसमध्ये दुई हजार जनामा सङ्क्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्