खोप सहायतामा नेपाललाई प्राथमिता दिन अमेरिकासँग अनुरोध

काठमाडौँ – सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गर्नुभएको हो ।

मन्त्रीद्वयबीच आज भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्रीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपविदेशमन्त्री शेर्मनले हालैको महामारीसहित नेपालको सामाजिक –आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौँ पुरानो अमेरिका–नेपाल मैत्रीको सराहना गर्नुभयो । प्रक्रियामा रहेका अमेरिकी सहायताअन्तर्गतका महत्वपूर्ण परियोजनाबाट नेपालको समृद्धिका थप द्वारहरु खोल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै कोभिड –१९ को महामारीको सन्दर्भमा सहयोग र अन्तर्राष्टिय चासोका साझा विषयमा विचारमिवर्श भएको थियो । “द्विपक्षीय सम्बन्धका समग्रस्थितिप्रति सन्तुष्टि जनाउँदै दुवै पक्ष पारस्परिक हितका खातिर द्विपक्षीय एवं बहुपक्षीय सहकार्यलाई अघि बढाउन सहमत भएका छन्”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्