चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न प्रधानमन्त्रीकाे निर्देशन

चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार भएको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई शिवपुरी, इचङ्गुनारायण, सूर्य्विनायक र खरिपाटीमा रहेका क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उनीहरुलाई १४ दिनसम्म अलग–अलग रुपमा ती ठाउँहरुमा राखिने छ । प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई नेपाल ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्धरूपमा सम्पन्न गर्न ध्यानाकर्षण गर्नुभएको छ । प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धा्रित कार्ययोजनाअनुरूप सम्पूर्ण तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको हो । बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी र सम्बद्ध मन्त्रालयका सचिव, सुरक्षा अधिकारी उपस्थित हुनुहुन्थ्यो । चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । सरकारले निवेदन दिएका विद्यार्थीलाई चाँडै नेपाल ल्याउन पहल गरिरहेको छ । चीनबाट आउँदा चीनको विमानस्थलमा स्वास्थ्य परीक्षण हुने, त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी सङ्क्रमित यात्रुलाई उपत्यकाको चार स्थानको ‘आइसोलेशन वार्ड’मा राखी उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै सरकारले एक लाख ‘प्रोटेक्टिभ माक्स’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्