जब प्रहरी आफैं बसमा काठमाडौं बाहिर जाने यात्रु बने …

ठमाडौंबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले एउटा टोली तयार पा¥यो। सादा पोशाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट उपत्यकाका विभिन्न क्षेत्रमा उक्त टोली परिचालन गरिएको थियो। काठमाडौंबाट विभिन्न जिल्ला जाने यातायातको टिकट काउन्टर, चालक तथा सहचालकको सुक्ष्म रूपमा अध्ययन गर्दा धेरै ठाउँमा यात्रुबाट बढी भाडा लिएको पाइएपछि प्रहरी त्यसविरूद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, ’हाम्रो अनुगमनमा यस्तोसम्म पाइयो कि लाग्ने भाडाभन्दा पाँच÷छ गुनासम्म बढी भाडा लिएका थिए।’

यसको दरिलो उदाहरण काठमाडौं–बुटवलको भाडा हेर्दा पुग्छ। सामान्यतः छ–सात सय भाडाले पुग्ने बुटबलका लागि छ हजारसम्म लिएको पाइएको र पोखराको भाडा तीन हजार ५०० सम्म लिएको पाइएको छ। पोखरामा हवाइजहाजमा जाँदा समेत त्यति रकम तिर्नु पर्दैन।

केही अघि पक्राउ परेका पोखरा माइक्रोका कर्मचारी बन्दराज पराजुली, मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे–७ का रञ्जित सिलवालविरूद्ध अहिले कानुनी प्रक्रिया अघि बढिसकेको छ।

कोभिड १९ को महामारीका बेला यसको फाइदा उठाउँदै चरम ठगी गरेको नमूना फेला परेपछि अहिले ट्राफिक प्रहरी यातायातको ठगीविरूद्ध आक्रामक भएर लागेको छ। महाशाखाले विशेष छड्के जाँच तथा अनुगमन टोलीले विभिन्न स्थानबाट दैनिक रूपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरी कानुनको कठघरामा उभ्याउँदै आएकोमा शनिबार मात्रै पनि त्यस्तै कैफियत गर्ने सात जना पक्राउ परेका छन्।

’महामारीको यस्तो विषम परिस्थितिमा यात्रु समस्यामा पर्ने र ठगिन सक्ने कुरालाई ध्यान दिँदै टोली परिचालन गरेका हौं, टोलीले सम्भावित त्यस्ता स्थानमा निगरानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेका छौं,’ एसएसपी भट्टराईले भने।

उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक परी उपत्यका बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने गरेको पाइएको छ।

यस्तै ठगी गर्नेमा सावित्रा काउण्टर कलङ्कीमा कार्यरत महोत्तरी गौशाला घर भइ थानकोट बस्ने वर्ष ५३ को मनु अर्याल र उनकै छोरा वर्ष ३० को अनु अर्याल पनि छन्। नारायणी यातायात काउण्टरका टिकट बुकिङ स्टाफ हेटौँडाका ३८ वर्षे नवराज घिमिरे, कुलेश्वर बस्ने वर्ष ४४ का विपिन सुवेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ इन्चार्ज सुन्धारा काठमाडौंका ज्ञानेन्द्र साह पनि अहिले प्रहरीको फन्दामा परेका छन्।

उनीहरूले धनुषा, महोत्तरी र वीरगञ्ज जाने यात्रुसँग प्रतिव्यक्ति दुई हजार ५०० देखि तीन हजारसम्म भाडा लिने गरेको पाइएको छ। जुन तोकिएभन्दा करिब तीन गुणा बढी हो। पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ। गोंगबु बसपार्कमा पनि यात्रु ठग्ने गतिविधिमा कमि आएको छैन। रूकुम जाने यात्रुसँग छ हजारका दरले भाडा लिने रूकुम पश्चिम यातायात प्रालिका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पक्राउ गरी थप कारबाहीको लागी प्रहरी प्रभाग नयाँ बसपार्कमा पठाइएको छ।

पूर्व झापा–मोरङ्ग जाने यात्रुसँग जनही तीन हजारदेखि चार हजार ५०० सयसम्म भाडा लिने धनुषाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारीलाई कोटेश्वरबाट र दोलखा सिंगटी घर भइ भक्तपुर बस्ने वर्ष ३४ का राम सुरेललाई गौशालाबाट पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

यसअघि चालक सहचालकले पैसा बढी लिएको पाइएकोमा पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफ नै बढी भाडा असुल्न उद्यत रहेको पाइएको छ। प्रहरीले निषेधज्ञा लागु भएपछि अत्यावश्यक काम विशेष र विदेशबाट आएकासँग आफुखुसी बढी भाडा लिने १६ जनालाई कारबाहीमा परिसकेका छन्। यस्ता गतिविधि भएको पाइएमा तुरुन्त प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गरी सूचना पनि अनुरोध गरिएको छ।

पाँच हजारलाई निःशुल्क मास्क, सात सयलाई कारवाही

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा पाँच हजार २३१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियानका क्रममा यसरी उनीहरुलाई मास्क वितरण गरिएको हो। यस्तै प्रहरीले समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सँगसँगै अघि बढाएको छ।

अभियानको क्रममा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने झण्डै ७०० व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। शनिबार देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा १६ हजार ४२२ जनालाई सचेत गराइएको छ।

प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनिकरणको लागि सचेतनामूलक सन्देशसहित माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँडडु नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन अनुरोध गरिरहेको छ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा आदेश उल्लङ्घन गरी हिँड्ने ११ हजार १८८ जनालाई होल्डमा राखी छाडिएकोे छ। सो क्रममा एक हजार ८६५ गाडी र ३ हजार १३७ मोटरसाइकल गरी ५ हजार २ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्