बतासे झरना लगायतका पर्यटकीय ठाउँमा जान पूर्ण रुपमा रोक

शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ को कार्यालयले बतासे झरना लगायतका पर्यटकीय ठाउँमा जान पूर्ण रुपमा रोक लगाएको छ । एक सूचना प्रकाशित गर्दै बतासे झर्ना, मणिका धाम, मणिका ताल, थारु संग्रहालय, सुनदेवी ताल लगायत सम्पूर्ण पर्यटकीय तथा धार्मिक पर्यटकीय क्षेत्रहरुमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोक लगाइएको वडा अध्यक्ष बहादुर सिँह महराले बताउनुभयाे ।

यस नगरपालिकाको मुख्य चिनारीको रुपमा बतासे झरना पनि निक्कै महत्व बोकेको छ । चुरे पर्वत श्रृङ्खलामा रहेको बतासे झरनामा गर्मीयाम सुरुभएसँगै आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । असहज बाटो छिचोल्दै आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर झरनाको चिसो पानीमा नुहाउँदै तराईको गर्मी भुल्ने गर्दछन् ।

झरनाको पानी खसेर बनेको निलो कञ्चन ताललाई स्थानीय बासिन्दाले निलतालका रूपमा चिन्ने गरेका छन् । झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झरना भनिएको हो । दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झरना खस्छ । झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्न पर्यटक यो क्षेत्रमा पुग्ने गरेका छन् ।

झरनाको दृश्य अलौकिक भएकाले झरनाको दृश्य हेर्नेहरु मन्त्रमुग्ध नहुने कोही छैन । झरना संगै एकान्तमा रम्नेहरुका लागि यो गतिलो गन्तव्य हो । चराको चिरविर आवाज सुन्दै झरना भएको ठाउँमा जंगली जनावर उफ्रिँदै हिँडेको दृश्यले मनमा उमंग थप्ने गरेको छ । धारापानी हुदै झरनासम्म पुग्न सडक ट्रयाक खोल्ने कार्य पनि जारी छ । पूर्व–पश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँसम्मको करिब ८ किलोमिटर सडक सवारी साधनमा चढेर सहज रूपमा पुग्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्