लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुँदै, मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेस हुने

काठमाडौँ – लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आइतबारबाट सुरू हुँदैछ ।

अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची छ ।

गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए ।

त्यसलगत्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपा सांसदलाई समेटेर यसबीचमा मन्त्रिमण्डल विस्तार पनि गरेका छन् । जसपाबाट चार जना मन्त्री बनेका थिए ।

तर जसपाले उनीहरूलाई कारवाही गरेको जनाएको छ । तर उक्त कारवाही पनि विवादमा परेको छ । कारवाहीविरूद्ध अदालत जाने ती सांसद तथा मन्त्रीले बताइरहेका छन् । जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादव एकातिर महन्थ ठाकुर र राजेन्द्र महतो अर्कोतिर हुँदा पार्टी निर्णय विवादित बनेको छ ।

कुल ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार सञ्चालनका लागि ४४ जना सांसद आवश्यक पर्छ । जसपाले चार जना सांसद कारवाही गरेपछि यो संख्या घट्न सक्छ । प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्