ठिनीको ठहर

दामोदर पुडासैनी किशोर
भुतुक्कै मर्छ त्रासको ज्वालामुखी, हिउँसँग जितेर हिँड्नेहरूसँग ।
‘हिउँ बुझ्न हिउँ नै बनाउन सक्नुपर्छ मनलाई पनि । असाध्यै चिसो भित्रबाट निकाल्न सक्नुपर्छ असाध्यै तातो । जोगिन सक्नुपर्छ क्षण क्षणको खतराबाट र जिस्किन सक्नुपर्छ कण कणमा प्रेम मिसिएका हिउँका ढिक्काहरूसँग । कसैसँग पनि प्रेम गर्नु कहाँ हो र ख्याल ख्यालको कुरा । चाहिन्छ बुद्धि, विवेक, मायालु मन र पहाड ढाल्न सक्ने अदम्य साहस र बल । हो, हिउँसँगको सामिप्यता गाँस्ने हो भने सँगाल्नुपर्छ तिनै कुराहरू । अनि मात्र प्रदान गर्छ हिउँले प्रेममा झैं मिठो आकर्षण, अनुपम आनन्द र संसार उजिल्याउने अद्भूत चमक । हिउँसँग जतिको ठुलो शक्ति अरू केहीसँग छैन यो संसारमा ।’
नीलगिरि हिमालको हिउँ देखाउँदै अथ्याईरहनुभएको छ वीरेन्द्र थकाली दाइले । नीलगिरिकै फेद ठिनी गाउँमा जम्मा भएका छौँ हामीहरू । स्तन चुस्दाचुस्दै आमाको अनुहार हेरे झैँ मायालु, सुन्दर र खुसिलो देखिँदैछन् ठिनीबाट नीलगिरिका श्वेत भित्ताहरू । भुटेका मकैका फुल दाना जत्रा हिमफुलहरू झर्दैछन् हाम्रा शिर, कान, अनुहार र शरीरको अगाडि पछाडि ।
भाद्र महिना भएकाले हरियोे रङमा बाँचेको छ ठिनी गाउँ । गाउँभन्दा मुन्तिर गेग¥यान माटाका पाटाहरूमा फलिरहेछन् मकै, फापर र सागपातहरू । वरिपरि ढकमक्क छ घाँसको झाडी, राइसल्ला र बैंसका हरिया बुट्यानहरू । खुर्पानी, आरु र स्याउका दानाहरूले लोभ्याउँदैछन् । अलि तल खोंचमा पूर्वबाट पश्चिमतिर झरिरहेछ कालीगण्डकी । कालीगण्डकीकै दुवै किनारमा फैलिएको छ, जोमसोम बजार र उत्तरतिर उचालिँदै गएको छ कडा चट्टाने पहाड । अझ परतिर देखिँदैछ आठ हजार एक सय सतसट्ठी मिटर अग्लो धवलागिरि र छ हजार नौ सय बिस मिटर अग्लो टुकुचे हिमालको मुस्कान ।
निलो जस्ताका छाना ओढेका जोमसोमका कार्यालयहरूले निलै बनाउँछन् मनलाई ।
एउटी श्वेत सुन्दरीले कट्टीमा घल्चा बोके झैँ बोकेकी छिन् नीलगिरिले मायालु ठिनीलाई । जोमसोमबाट दक्षिणतिर नीलगिरिको कम्मरमा हेर्दा त्यति धेरै घरहरू होलान् जस्तो लाग्दैन ठिनीमा । डेढ घण्टा उक्लेपछि थुम्क्याइलो समस्थलीमा मुसुक्क मुस्कानमा भेटियो ठिनी । एक सय पैँतिस घरको साझा पहिचान रहेछ ठिनी ।
मेरो सेलफोनको अल्टिच्युड एप्लिकेसनले दुई हजार सात सय दस मिटर उचाइ देखाएथ्यो जोमसोमको । ठिनीको उचाइ भने देखाइरहेछ दुई हजार आठ सय तिस मिटर ।
ठिनीका मान्छेहरूको शारीरिक अवस्था र उनीहरूले अक्षरसँग गाँसेको मितेरीको स्थिति अवलोकन गर्न गएको छ त्यहाँ मेरो नेतृत्वको समूह । जिल्ला विकास, शिक्षा र स्वास्थ्य कार्यालयहरूले खर्चिएको पैसाको कार्यमूलकता हेर्ने लक्ष्य छ हाम्रो । समूहमा शिक्षा, स्वास्थ्य र जिल्ला विकास कार्यालयका कर्मचारीहरू र स्थानीय जन प्रतिनिधिहरू पनि छन् । वीरेन्द्र थकाली, ज्वाला थकाली, आइता थकाली र रूपना थकालीहरू ठिनीकै हुनुहुन्छ र लाग्नुभएको छ ठिनीको मुहार फेर्न ।
‘जोमसोमले हाम्रो ठिनीको हुर्मत नै लिएर गयो । ठिनीबाट जोमसोममा सदरमुकाम सारेको पटक्कै मन परेको छैन । हामीलाई’— ठिनीवासीको मर्म खोल्नुभयो मुखिया ज्वाला थकालीले । स्थानीय भाषामा ‘झोम’ भनेको ‘भर्खर’ र ‘सोम’ भनेको ‘नयाँ’ रहेछ । भर्खर नयाँ जन्मेको गाउँ भनेर ‘झोम–सोम’ भन्दाभन्दै ‘जोमसोम’ भन्न थालिएको कुरा बताउनुभयो ज्वाला दाइले । ‘नयाँ गाउँ त जन्मियो तर जन्माउनेलाई बिर्सियो । तन्नेरी छोराछोरीले बाबुआमा बिर्से जस्तो ग¥यो जोमसोमले । ठाउँ सरेपछि शक्ति पनि सर्दोरहेछ के गर्नू ?’ परम्परादेखि पाँचगाउँको नेतृत्व गरिरहेको ठिनीलाई कमजोर बनाइयो; सदरमुकाम जोमसोममा सारेर भन्ने गुनासो आयो बैठकको सुरुमा । सडकले दिशा परिवर्तन गरिदिएपछि र प्रशासनिक शक्ति सरेपछि एकाएक हराउँदो रहेछ पुरानो बस्तीको सानमान र बिस्तारै सर्दोरहेछ नयाँ स्थानतिर चमकधमक । काठमाडौँ त्रिशुली सडक निर्माणपूर्व असाध्यै चहलपहल र व्यापारिक केन्द्र थिए चतुराले, ओखर पौवा, पाँचमाने र फेदी बजारहरू । त्यो सडक बनेपछि ती बजारका व्यापारी सरे, घरहरू जीर्ण भए, ढले । अहिले खण्डहर बनेका छन् ती बस्तीहरू । सडकले गुलजार बनाएको छ एघार किलो, रानीपौवा र तिनपिप्लेलाई अचेल । सदरमुकाम सरेकै कारण चम्केको छ रामेछापको मन्थली, मुख्य सडक टाढिएकै कारण बिरानिएको छ तनहुँको बन्दीपुर । ठिनी पाँच गाउँको नेतृत्वकर्ता रहेछ कुनैबेला । प्राचीनकालमा बाह्य शत्रुहरूले आक्रमण गर्न लाग्दा ठिनीबाटै शङ्ख फुकिन्थ्यो र सजग बनाइन्थ्यो पाँच गाउँलाई अहिले मोहनी हराएजस्तो छ ठिनी, भर्खर बेहुली अन्माएको माइतघर जस्तो छ ठिनी । शूलले सताए झैँ, ऐंठन उठे झैँ गुनासो पोख्नुभयो दाइदिदीले ।
बैठक हेल्थपोस्टको प्राङ्गणमा चलिरहेछ । ठिनी गाउँको मुटुमै छ हेल्थपोस्ट । हाम्रै शिरमाथि टुक्रुक्क बसेको छ शुभ्र शान्त नीलगिरि । हाम्रै टाउका माथितिर च्याँ च्याँ र चुँ चुँ गर्दै रुख रुख चाहार्दैछन् हिमाली कागका बथानहरू ।
भर्खर निर्माण सम्पन्न भएको रहेछ ठिनी हेल्थपोस्टको सुन्दर भवन । जिल्ला स्वास्थ्य कार्यालयले हेल्थपोष्ट त बनायो तर अर्कैको जग्गामा । कृष्णबहादुर विश्वकर्मा विदेशबाट फर्केपछि देखे आफ्नो जग्गामा सरकारी भवन ठडिइसकेको । मालपोत ल्याए, नापी ल्याए, कुरा पक्का भयो । स्वास्थ्य कार्यालयले आफ्नो अर्काको जग्गा यकिन नगरी भवन निर्माण गर्दा उठेको रहेछ त्यो झिंजलो । विश्वकर्माको जग्गासँगै जोडिएको स्वास्थ्य कार्यालयको जग्गामा भने चरिरहेका देखिए दस खच्चरहरू । बजेट भेट्नेबित्तिकै आफ्नो अर्काको जग्गाको छ्यान नै नगरी भवन ठड्याइदिने सरकारी कर्मचारीलाई के भन्न सक्छन् र सोझा जनताले । कृष्णबहादुर भने हुँदो न खाँदोको भाउँटो पन्छाउन आफ्नै खर्चमा धाइरहँदा रहेछन् सदरमुकाम र राजधानीतिर ।
हेल्थपोस्ट भवन त भव्य बनेछ ठिनीमा तर न डाक्टर छन् न औषधी नै उपलब्ध हुँदोरहेछ । डाक्टर भने पनि नर्स भने पनि एक रहिछिन् असिस्टेन्ट नर्स मिडवाइफ बिमला रञ्जन । ‘डाक्टर, हेल्थ असिस्टेन्ट र अग्जिलरी हेल्थ वर्करहरूको दरबन्दी त राखिदिन्छ सरकारले दरबन्दीवालाको अनुहारसम्म देख्न पाउँदैनौँ जनताले । धन्न बिमला म्याडम बेला बेलामा आइदिनुहुन्छ र मात्र । स्रोत दिने सदुपयोग नहेर्ने सरकारको के काम ?’ आइता थकाली दिदीको आक्रोश अस्वाभाविक थिएन ।
हेल्थपोस्टको ढोकै छेउमा चालिस किसिमका अत्यावश्यक औषधी सूची राखिएको छ तर हेल्थपोस्टमा न सिटामोल छ, न जीवनजल, न एल्बेन्डाजोल छ, न बेटाडिन । नेपाल सरकारको नीतिअनुसार त्यस्ता अत्यावश्यक औषधी हरेक स्वास्थ्य केन्द्रमा आवश्यकताअनुसार जुनसुकै बेला उपलब्ध हुनुपर्ने व्यवस्था छ । जिल्ला स्वास्थ्य केन्द्रले त्यस्ता औषधि पर्याप्त मात्रामा खरिद गरेको र हेल्थपोस्टहरूलाई पठाएको अभिलेख पेस ग¥यो । हेल्थपोस्टमा त्यस्तो केही नआएको जवाफ दिनुभयो नर्स बिमलाले । औषधि खरिद गरेको बिल भरपाई पेस गर्ने, सम्बन्धित निकायलाई पठाएको अभिलेख खडा गर्ने तर नपठाउने कर्मचारीलाई कडा कारवाही गर्ने व्यहोराको प्रतिवेदन लेख्न निर्देशन दिएँ मैले हाम्रो लेखापरीक्षण समूहलाई ।
‘हाम्रो जस्तो हिमाली जिल्लाहरूमा परिवार नियोजन कार्यक्रम रोक्नुपर्छ अब ।’ रूपना थकाली दिदीको भनाइले चकित बनायो मलाई ।
‘परिवार नियोजन भनेको योजनाबद्ध सन्तान जन्माउने हो । ठिक्क मात्रामा सन्तान जन्माउने हो । किन रोक्नु र दिदी ?’
‘हेर्नुस् भाइ ! गर्मी ठाउँको तुलनामा हिमाली क्षेत्रमा जन्मदर कम छ । जन्मेकालाई बचाउन झन् गाह्रो छ । झन् झन् कम जन्माऊ भन्यो भने मान्छे नै नहुन बेर छैन हिमाली भेगमा । हिमाली क्षेत्रबाट बसाईं सर्ने दर दिनानुदिन बढ्दो छ । हाम्रै ठिनीमा हेर्नुहोस् न बुढाबुढी र अशक्त मात्रै छन् गाउँमा । तरुना तरुनी काम गर्न र लेखपढ गर्न सहर बजार गए । अधबैंसेहरू कामको खोजीमा मुगलान झरे । पहिले पहिले तिन छोरा तिन छोरी कम्तीमा हुन्थे परिवारमा । माहिलो छोरा माहिली छोरीले गुम्बा सञ्चालन गर्थे, कुनै सन्तान गोठालो जान्थे, कुनै व्यापार गर्न तिब्बत वा तलतिर जान्थे, कोही खेतीपाती गर्थे र घरबार सम्हाल्थे । अब परिवार नियोजनको लहैलहैमा एक वा दुई सन्तान मात्र जन्माउन थाले । तिनीहरू पनि गाउँ नबस्नाले मान्छेविहीन बन्न थालेको छ गाउँ । ठाउँ र परिस्थिति विचार नै नगरी हिमाल, पहाड, तराई जहाँ पनि एकै दरमा खर्च लेख्नाले तालमेल मिलेको छैन है लगानी र उपलब्धिको ।’ दिदीका कुरा मननयोग्य देखिए । ‘घाँसेघुसे एकैनासे’ गरेर राज्यको रकम छर्ने चलनले उपलब्धि ‘घरको न घाटको’ बनेको छ यथार्थमा ।
‘औषधी र स्वास्थ्यकर्मी नदिने हो भने बन्द गरिदिए हुन्छ स्वास्थ्य केन्द्र गाउँ गाउँका । कमिसनको लोभमा घरहरू मात्र बनाएर उपचार हुन सक्तैन रोगीको । गाउँ गाउँमा चिटिक्कका स्वास्थ्य केन्द्र र विद्यालय भवन त बनेका छन् । गाउँलेको व्यथा बढ्दो छ झन्’— वीरेन्द्र दाइ, ज्वाला दाइ, आइता दिदी र रूपना दिदीहरूमा फुट्दैथ्यो ज्वालामुखी । यो कुरा सम्बन्धित निकायमा लेख्नूस् र भन्नूस्, नसुधारी सुख्खै छैन भनेँ मैले । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख हरिहर लामिछाने हामीसँगै हुनुहुन्थ्यो । ढुङ्गा जस्तो चुप बस्नुभयो उहाँ ।
‘अघि किन ढुङ्गा बोल्ला, मान्छे नबोल्ला बन्नुभयो नि हरिहरजी ?’ फर्कंदा सोधेँ मैले ।
‘मिले पो बोल्नु सर । गाउँलेको कुरा शत प्रतिशत ठिक छ । कर्मचारी त हाजिर कपी र तलबी भरपाईहरूमा मात्र नियमित हुन्छन् यस्ता दुर्गम जिल्लामा । कहिले तालिम, कहिले गोष्ठी, कहिले मन्त्रालय विभाग, कहिले हहा गर्दैमा वर्षमा एक महिना पनि कर्मचारीको मुख देख्दैन जिल्लाले । सरकारले दुर्गम हिमाली जिल्ला भनेर बजेट विनियोजन गरेकै छ, कार्यालयहरूले ऐन मौकामै बिल भरपाई र आम्दानी खर्च गरेकै छन्, जनतालाई केही थाहा छैन, थाहा पाएका जनता र नेतालाई अलि अलि गुलियो चटाएर ठिक पारिहाल्छन् हाकिमहरूले । जनता कराउनु काग कराउनु पिना सुक्नु जस्तै हो ।’ व्यासको मुखबाट वेद झरे झैँ खुरुखुरु सत्य ओर्लियो हरिहरजीको मुखबाट ।
हामी ठिनी हेल्थपोस्टबाट फर्किसकेका छौँ । सिमसिम पानीले शीतल बनाइरहेछ वातावरण । भिक्षु भिक्षुणीहरूले जपेका प्रार्थना मन्त्रको ध्वनि गुम्बाको घेरा तोडेर गाउँभरि र गाउँ छोडेर पर पर चुचुराहरूसम्म तरङ्गित हुँदैछ । गौतम बुद्धले स्वर्ग नर्क केही छैन, देवता दानव भन्ने छुट्टै केही होइन, त्यो हामी मान्छेभित्र नै सबै कुरा छ, हामी राम्रो नराम्रो जे गर्छौँ त्यही पाउँछौँ, त्यसैले आपूmभित्र भएको ज्योति आफैँ जगाऊ, पूजा पाठ र भजन कीर्तन बेकारका हुन् भने । अचेल भने बुद्धका अनुयायीहरूले नै भजन कीर्तन र पूजापाठमै बढी समय खर्चिएको देख्दा टिठ लाग्छ मलाई । प्रयोगको तहसम्म पुग्दा सिद्धान्त र व्यवहार बिच कत्रो अन्तर आउँछ, त्यो अन्तरलाई किन ख्याल गर्दैन मान्छे— उदेकमा पर्छु म ।
ठिनीका सबै घरहरू माटाका छानाले छोपिएका छन् । छानामाथि अरू हिमाली गाउँहरूमा झैँ दाउराका चाङहरूले कोणात्मक चित्रहरूको आभास दिइरहेछ । हरेक छानामाथि माटाको ढिस्को बनाइएको छ र त्यसलाई पोतिएको छ रातोमाटाले । ढिस्कोमाथि राईसल्लाको हाँगा गाडिएको छ र त्यसमाथि जङ्गली भेडाका सिङहरू अड्याइएको छ । त्यो पनि झन्डै झन्डै बुख्याँचा आकारमा देखिन्छ सबै घरको छानामाथि । छानामा त्यस्तो राखियो भने कसैको आँखा लाग्दैन, घर पवित्र हुन्छ र आँटेको पुग्छ भन्ने मान्यता रहेछ त्यतातिर । ठिनी बजारका साँघुरा गल्लीहरूमा ससाना पसलहरू पनि चलेकै छन् । अब टाढाका मान्छेहरू ठिनीसम्म सामान किन्न आउँदैनन्, यता पसल राख्नु, दिन कटाउनु मात्र हो भन्दैथे पसलेहरू । बजारको दायाँतिर चौडिलोमा ठुलो हल्लाखल्लाका साथ युवाहरू फुटबल खेल्दै थिए । खेल मैदान हिलाम्य थियो र खेलाडीहरू पनि हिलो लोपरिएर नचिन्ने भएका थिए । त्यही पनि खेल हेर्ने र खेल्नेमा ठुलो उत्साह थियो, मानौं त्यहाँ लियोनल मेस्सी र नेयमारको नेतृत्वमा खेल निर्णायक तहमा पुग्दैछ ।
ठिनीको उत्तरतिरबाट जोमसोमतिर झर्न लाग्दा केही भाइ बहिनीहरू आरु टिप्दै रहेछन् । हामीले पनि खायौँ । हरिहरजी र श्रीरामजीको हँस्यौली चलिरहन्छ पूर्ण क्षमतामा ।
‘अँ साँच्ची अघि तपाईंले ‘हहा’ भन्नुभएको बुझिएन नि ?’
‘हराउने, फर्केर हाजिर गर्ने’ भनेको क्या ।’
हाँसो चल्छ । त्यो त हिमाली जिल्लाको प्रशासनिक संस्कार भन्ने निधो हुन्छ स्थानीय कर्मचारीहरूको । बाटो ओरालो र अलि चिप्लो छ ।
‘अघि अघिका स्वास्थ्य कर्मचारीहरूले मोजमस्ती गरेर जागिर खाए सर, हामी परियो भूतले खाजा खाने बेलामा । तराईतिर र पहाडतिर त अहिले पनि गाह्रै छ, त्यताको तुलनामा हिमाली जिल्लामा शान्तिपूर्वक जागिर खान पाइएको छ बरु । त्यसमा पनि मुस्ताङमा अझ सजिलो छ, माओवादी र सरकारको द्वन्द्वको असर पनि खासै छैन ।’ अलिकति असन्तोष र सन्तोषका ज्वारभाटा एकै पटक निस्किए हरिहरजीबाट ।
‘आठ पढे पनि डाक्टर । पढ्दै नपढे पनि डाक्टर । स्वास्थ्यका कर्मचारी — कार्यालय सहयोगीदेखि डाक्टरसम्म सबै डाक्टर । जुन गाउँमा गए पनि कुखुरा कोसेली आएकै छ, घिउ, मह, यार्चागुन्भु, सुकुटी सबै कोसेली आएकै छ, खाने बस्ने पिर छैन, ओढ्ने ओछ्याउनेको चिन्ता छैन, बाउन्न पत्ती घुमायो, बिजुली पानीमा चुर्लुम्म डुब्यो, कसैलाई स्टेथेस्कोप लगाएपछि व्यथा भाग्छ भनिदियो, कसैलाई नारी छामेपछि रोग चट् भनिदियो, कसैलाई हाइडोजको एन्टिबायोटिक लेखिदियो र जान्ने डाक्टर कहलायो । गाउँमा दुई दिन झुल्कियो, सय दिन आफ्नै गुँडतिर गुजमुज्जियो, तलब पाकेकै छ, दुर्गममा बसेको भनेर केन्द्रतिर घुर्की लगाउन पाइएकै छ ।’ रेडियोले कथा पढे झैँ भट्याउँदै हुनुहुन्छ हरिहरजी । गायत्री मन्त्र सिके झैँ सुनिरहेछौँ हामी ।
‘दुर्गम हिमाली भेगमा जागिर खाने मान्छे सुगममा जानै मान्दैन । म पन्ध्र वर्ष भइसक्यो यतै बसेको ।’ एक दुई घटना चाखलाग्दा नै रहेछन् जागिरे जीवनमा ।
हिमाली जिल्लाको हेल्थपोस्टमा गइयो । गाउँले सबैले ठुलो स्वागत गरे, बस्ने ठाउँको बन्दोबस्त गरिदिए ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल श्रीराम पौडेल जागिरको बिस वर्षे अवधिमा प्रायः हिमाली जिल्लामै बस्नुभएको रहेछ । स्वास्थ्यकर्मीहरूको रजगज उहाँलाई पनि थाहा रहेछ धेरै ।
एक पटक एउटा हिमाली गाउँमा दुई तिन वर्ष बिचमा जन्मेका बच्चाहरूको प्रायः उस्तै अनुहार भेटियो । जति जन्मिन्छन् सबैका उस्तै नाक, उस्तै आँखा र उस्तै गाला र निधार देखिन्छ, कसरी ? हेल्थपोस्ट, प्रहरी, हुलाक र विद्यालयका कर्मचारी बिचमा निकै चर्चा चल्यो । पछि सबैलाई थाहा भयो हेल्थपोस्ट इन्चार्जको ओछ्यान फेरी फेरी सुत्ने बानी रहेछ । गाउँमा हुने खाने र हेर्न लायकका मञ्जरीहरू भएका घरमा दिउँसैदेखि अड्डा जमाउने रहेछन् उनले । घडीचरो र झिल्के झोल उदरस्थ पा¥यो । भए नभएका गफका बादल बुन्यो । रात झम्किएपछि मझेरीमा घरका सबै मान्छे एकै लहरमा सुत्ने त्यताको चलनमा आपूm पनि सामेल भयो । बिस्तारै उपचार गर्ने निहुँमा हेल्थपोस्टमा रात बिहान बोलायो । अनि गाउँमा जन्मेका बच्चाको अनुहार उस्तै । बिहे नै नभएका सात सुन्दरीको पनि पेट सुनिन थालेपछि जागिर नै छोडेर भागे बिचरा । अबदेखि यस्तो नगर्ने नगराउने है त ठिनीको सीमाना छोड्ने बेलामा चिच्यायौँ हामी सबै ।
जोमसोमतिर ओर्लने क्रम जारी छ । उत्तरतिरको चट्याने पहाड र धवलागिरि हिमालहरूले बिस्तारै ओढ्न थाले हिमकपासको डङ्गुर । हाम्रै पिठ्युँमा उभिएको नीलगिरिमा हिमवर्षा भइरहेछ, हिमआँधी चलिरहेछ । त्यही हिमधारामा मिसिए झैँ लागिरहेछ सप्तरङ्गी जीवन गीत । चटकेको चर्तिकलामा मोहित बालकले झैँ सारा हिमचक्रमा रोमाञ्चित बन्दैछ ठिनी । घरी घरी हलका हिमफुलहरू ओड्छ ऊ पनि, घरी घरी वृक्षहरूलाई हिमवृक्षहरूमा रूपान्तरित गर्छ ऊ । मानवीय संवेदनाका सुस्केराहरू फैलिइरहन्छन् ठिनीबाट नीलगिरिका चुचुराहरूतिर र कालीगण्डकीको जलविन्दुमा घुलिएर पर पर अनन्तसम्म ।
हामी हिँड्दाहिँड्दै बेस्सरी नुहायो जोमसोमले । ठिनीको भिरालोमा हिमथोपाहरूले चुमे मात्र हाम्रा अङ्ग अङ्ग । परेन हामीले स्याँई स्याँईं र सुईंसुईं गर्न । हिमकणहरू ओडेर वारिपारि हिमवर्षाको लयमा रम्न पाउनु आफैँमा वैविध्यता हात पर्दैछ जीवन तरङ्गमा ।
हाम्रो दायाँ बायाँ दुवैतिर पुलका खम्बा जस्ता अग्ला पहाडहरू छन् । बायाँपट्टि उत्तरबाट दक्षिणतिर बगिरहेको कालीगण्डकीको कल्लोलले छरिरहेछ साङ्गीतिक धून । नदीका दुवै किनारहरूमा फनफनी घुमेर नाच्दैछन् बैंसका रुखहरू । बैंसधारी बिचमा बगिरहेको नदी दाह्रीवालको चलिरहेको मुख जस्तो देखिँदैछ ।
स्वास्थ्यकै लागि सबै कुरा गर्नुपर्ने तर स्वास्थ्यकै नाममा भएको छ जताततै ठगी । कुरा फेरि चल्छ ।
नगर्नुपर्ने काम गर्ने, गर्नुपर्ने काम नगर्नेहरूको बिगबिगीले बिग्रिँदैछ देश ।
एउटा घटना बताएँ मैले ।
एउटा गाउँमा सात सय महिलाको ल्याप्रोस्कोपी गरेको प्रतिवेदन तयार भयो । चिर्ने सिजर, सिउँने निडल, औषधी, डाक्टर नर्सको दैनिक तथा भ्रमण भत्ता, सम्बन्धितलाई प्रोत्साहन खर्च सबै गरेर धेरै लाख खर्च लेखियो । ल्याप्रोस्कोपी गर्ने गराउने सबैका लागि खर्च लेखियो । त्यसको तिन वर्षपछि अनुगमन गर्दा ल्याप्रोस्कोपी गरेका भनिएका सात सयमध्ये छ सय असी महिलाले बच्चा पो जन्माइसकेका । अनुसन्धानको क्रममा थाहा भयो— सदरमुकाममै होटलमा बिल भरपाई तयार गरिएछ, ल्याप्रोस्कोपी गराउने समूह न गाउँ गएछ, न कुनै महिलासँग भेटघाट नै भएछ ।
कागजको घोडा तयार गरेर प्रतिवेदनमा नक्कली प्रतिवेदन दर्शाउनेहरूलाई कलङ्क नलगाएसम्म कहाँ हुन्छ देशको उन्नति । यहाँ त हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षाको नाममा भोजभतेर गर्ने र वर्षभरिको छुटफुट कुत भित्र्याउने चलनले थला पर्दै गइरहेछ देश ।
‘लौ लौ लौ’— कराउँदाकराउँदै ढुङ्ग्याने छेउबाट खुर्मुरिएर तल्लो भिरमा पो पुग्नुभयो स्वास्थ्य कार्यालयका लेखापाल कृष्णहरि ढुङ्गाना । धन्न ढुङ्गामा समातेर अडिनुभयो । नत्र भाँचिन बेर थिएन शरीरको हाडखोर । पश्चिमबाट बहेको बेजोडको हावाले ससाना ढुङ्गाहरू उडाइरहेथ्यो भने मान्छे उडाउन कुन आइतबार भयो र ?
‘निली र ठिनी, लौ बिदा मागेँ है’— वारि जोमसोम र पारि जोमसोम छुट्याउने झोलुङ्गे पुलमा उभिएर नीलगिरि हिमाल र ठिनी गाउँसम्म बिदा मागेँ मैले । फिरफिरे झैँ हल्लाइरहेछ पुल पनि हावाले । कुन सडको पुलबाट उँधोमुन्टो लगाइदिन्छ कि खोलातिर भन्ने डर पनि छ मनमा । बौद्ध मन्त्र लेखिएका तोरणहरूले रङ्गीचङ्गी बनेको छ झोलुङ्गे वरिपरि ।
ठण्डीले मण्डी खोज्दै रहेछ जोमसोममा । बख्खु लगाएका मान्छेहरू ठाउँ ठाउँमा मस्तसँग खेलिरहेका रहेछन् तास, लुँडो, क्यारेमबोर्ड र कोडा । प्रहरीहरू जत्था जत्था घुमिरहेछन् बजारमा तैपनि छेकथुन छैन जुवातासमा ।
‘हैन ए भाइ, यस्तो दिउँसै खुलेयाम जुवातास खेल्न दिनुहुन्छ ? मान्छे बिग्रिँदैनन् ?’— समूहको नेतृत्व गरेर रमनमा हिँडेका प्रहरी इन्स्पेक्टरलाई सोधेँ मैले । के गर्नु हजुर हामी त निरीह छौँ । न प्रहरीले केही गर्न सक्छ न प्रशासनले । यहाँ आमा समूहले नै जुवा खेलाउने ठाउँ तोकेर प्रति खालको वार्षिक सात लाख पचास हजार असुल्ने गरेको छ । प्रहरी र प्रशासनका कर्मचारीहरू बलबुता लगाएर उनीहरूसँगै जुवा खेल्छन्, अरूको त के कुरा ।’ इन्स्पेक्टरको कुरा सुन्दा यसरी कहिले सप्रेला समाज भन्ने चिन्ता जाग्यो मनमा ।
‘तोंलाई दिनभर खेलेर पनि पैसा नादिने’ एउटी लमिनी दिदीले लात्तैलात्ताले भकुरिन् हाम्रै अघिल्तिर घोडा जस्तो पुरुषलाई ।
‘नामार, नामार, मोसँग भएको लैजाऊ बरु’ आत्मसमर्पण ग¥यो त्यो घोडेले ।
लमिनी दिदीले उसको खल्तीको बाउन्न हजार कुम्ल्याइन् र भुतभुताउन थालिन् । बिजुली पानीले तातेका रमितेहरू अझ थपिए जुवा खालमा ।
मेरो मोबाइलमा एउटा सर्ट म्यासेजको आवाज बज्यो । पोखराबाट कवि तीर्थ श्रेष्ठले एस.एम.एस. पठाउनुभएको रहेछ— ‘तपाईंको मुस्ताङ यात्रा मुस्कानमय होस्
मुस्ताङ जस्तै सुन्दर र स्याउमय होस्’
नीलगिरिको चुचुराबाट झरेको कुहिराले आमाले सानो नानीलाई बर्को ओढाए झैँ छोप्यो ठिनीलाई । चिसो हावाको स्पन्दन र हल्का साँझको रङमा सम्झन थालेँ मैले स्विट्जरल्यान्डको जेनेभा सहरबाट उकालो लाग्दै गर्दा भेटिएकी लाजलीलाई ।
नीलगिरि र ठिनीले बादलको एउटै बर्को ओढे । बर्कोभित्र खोजेँ मैले जीवनको नयाँ कित्ता ।
माउन्टेन ब्रिज होटल, जोमसोम
२०६९ भाद्र १५ गते शुक्रबार

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्