नाङ्गा पहाडका कथा

दामोदर पुडासैनी किशोर
फरक हुनुपर्छ प्रत्येकको पहिचान । बेग्लै परिभाषामा बाँच्दैछन् रङ्गीन पहाडहरू जिजीविषाका ।
मैले सानैदेखि देखेँ— पहाडहरू भनेपछि रुखबिरुवाहरू हुन्छन् नै । हरियोपरियो र खेतीपाती हुन्छ नै । सके पोखरी र कुलाहरू होलान्, घाँस स्याउला गर्नेहरू गीत गाइरहेका होलान्, बाली लगाउने, हुर्काउने र बाली काढ्नेहरूको उछिनपाछिन भइरहेको होला । जति नजिक भयो त्यति हरियो र जति टाढा भयो त्यति निलो होला पहाड । पहाड भएपछि बेंसी अवश्य हुन्छ नै । मान्छेहरू लेकबेंसी गरिरहलान् पहाडलाई आधार बनाएर ।
त्यो सबै सोचाइले पल्टा खाएको छ मुस्ताङमा ।
जोमसोमबाट उत्तर र पूर्वतिर लागेपछि बेग्लै पहिचानमा बाँचेका छन् पहाडहरू । माटो र ढुङ्गाबाहेक केही छैन पहाडमा । छुरो माटो र परिधानहीन ढुङ्गाहरूको उचाइ मात्र भएपछि पहाड निख्खर पहाडबाहेक अरू केही हुँदो रहेनछ ।
अन्यत्रका पहाडहरूमा रुखबिरुवाले बनाइदिन्छन् अनेकौँ आकृतिहरू । मुस्ताङमा पहाडले नै बनाउँछ पहाडलाई चाहिने सबै कुरा । पहाड आफैँ बनेको छ असीम कलाको अनुपम आकृति । कौरव र पाण्डवहरूको युद्धचित्र बोकिरहेछ पहाडले । राम र रावणको जत्था हुर्काइरहेछ पहाडले । कयौँ कुस्तीहरू चलिरहेछ पहाडमा । कयौँ खेलहरू चलिरहेछन् पहाडमा । जनावर, मान्छे, सागर, सगर, धर्ति र समयका सबै खेलहरू देखिन्छन् कुमारी पहाडहरूमा । केही नभएर सबै देखिनु, सबै भएर केही नदेखिनु एउटा विचित्र शक्ति छ मुस्ताङे पहाडहरूमा । कुमारी पहाडहरूमा हिउँको चुम्बन परेपछि बादल बुट्टामा परिणत भएका छन् मुस्ताङे पहाडहरू ।
गाउँहरू हेर्नु छ हामीलाई । गाउँमा मान्छेले गरेको उन्नति हेर्नु छ हामीलाई । गाउँमा समयले फेरेको रङ हेर्नु छ मलाई । हामी मुक्तिनाथ नजिकैको रानीपौवामा खाना खाएर झोङ गाउँतिर लागेका छौँ । मुक्तिनाथबाट उत्तर पश्चिमतिरको अग्लो पहाडको काखमा छ झोङ गाउँ । पारि खिङ्गा गाउँतिरबाट र झारकोट गाउँबाट हेर्दा झोङ गाउँ गाउँ जस्तो देखिँदैन । पहाडमै टाँसिएका उडिल्ला ढुङ्गाहरू जस्तो देखिन्छ अथवा खोंचमा उम्रिएको काठे च्याउको जत्था जस्तो देखिन्छ । माटाकै गाह्रो, माटाकै जोडाइ, माटाकै छानो भएपछि पहाडकै प्रतिमूर्ति देखिने भै’गो घरहरूलाई ।
मुक्तिनाथमा रुखहरू छन्, छिपछिपे जमिन छ र जमिनमा उभिएका छन् किसिम किसिमका वनस्पतिहरू । झोङ त्यस्तो छैन । खल्वाट टाउको जस्तो नाङ्गो छ । बलिष्ठ मान्छेको नाङ्गो पिठ्युँ जस्तो छ । बच्चालाई जीवन दिन चौबन्दी खोलेकी सुत्केरी आमाको लैनो स्तन जस्तो छ । कतै कतै कोठीमा उम्रेका रौं जस्ता उभिएका छन् ससाना रुखहरू । कतै कतै चमकदार फुलीले जस्तो टाढैबाट मोहनी लगाउँदैछन् ढुङ्गे पर्खालले घेरिएका रङ्गिला फापर बारीहरूले ।
निख्खर निलो आकाशलाई छेडुँला झैँ उभिएका छन् सुनौला र रक्तिम पहाडहरू । झारकोटभन्दा पूर्वतिरबाट संसार नै ढाँकुला जस्तो गरेर हुत्तिएथ्यो हामीतिर एक डङ्गुर बादल । कागखोला नतरेरै फर्कियो ऊ मुक्तिक्षेत्रतिरै । बादलको गतिमा लेखेको देख्दैछु म जीवनगीत । जन्म, मृत्यु, हाँसो, रुवाई, उज्यालो, अँध्यारो, उकालो, ओरालो, भञ्ज्याङ, देउराली, लेक, बेंसी सबैका आकृति र सुस्केरा बोकेर हिँडेको देखिन्छ । वरिपरिका नग्न पहाडहरू ठ्याक्कै बादलजस्तै छन् । जस्तो बनाउन मिल्ने, जस्तो देख्न र भोग्न मिल्ने । बादलको गति र पहाडको आकृति दुवैले घचघच्याइरहन्छ कल्पनाशीलतालाई र बनाइरहन्छ भावुक । बादलको मझेरीबाट झिक्न खोज्छु म कविता र टाँस्न खोज्छु पहाडमाथि कोलाज बनाएर ।
रित्तो कागजमा बरर्र बर्सन्छन् अक्षरहरू ।
पहेंलो हावा र निलो हावाको दोहोरीमा कल्मषहरू निवृत्त बन्दै जान्छन् मनबाट । निष्सङ्ग बन्न खोज्छु म । एउटा गहिरो चकमन्नता तोड्न खोज्ने — कि निलो र पहेंलो हावाको दोहोरी आवाज छ, कि पर पर झोङ गाउँ र छेङ्गुर गाउँतिरबाट भुकेका कुकुरहरूको जाँगर छ, कि ठाउँ सर्दै स्वर छोड्दै उड्ने चराहरूको चमक छ, कि हामी चढेकै गाडीले निकालिरहेछ कर्कश आवाज ।
नीलिम र सुनौला हावाको लयमा गाडी चढेर भन्दा पैदल हिँड्नुको आनन्द निरविच्छन्न हुन्छ ।
छेङ्गुर गाउँ छोडेर अलि पश्चिमतिर पुगेपछि भेटिएको छ झोङ गाउँ । सडकमा होइन गोरेटामा बलजफ्ती गुडिरहेछ गाडी । त्यो साँघुरो र कमलो कप्यानबाट जुनसुकै बेला घुसमुटिन सक्छ गाडी भन्ने आशङ्काले छोडेको छैन ।
मान्छेले मान्छे भेटेपछि मात्र रमणीय बन्छ संसार ।
‘झोङ गाउँ रमाएको छ तपाईंलाई भेटेर’— गाउँको अघिल्तिर गल्छेडोमा गर्दनभरि खादा ओडाइदिनुभयो झोङका ‘घेम्बा रिम्बोछे’ केभी गुरुङ र समाजसेवी झेवेङ सिङ्गी गुरुङ, छिरिञ्जिन गुरुङ र धोर्जे गुरुङहरूले ।
उहाँहरू र हामी बिचमा ‘टासी ढेलै’ साटासाट भयो ।
माटा नै माटाका ढिस्का जस्ता छत्तिस घरहरू छन् झोङ गाउँमा ।
झोङ गाउँ पुरैमा गुरुङहरू बस्छौँ, खासमा गुरुङहरू चाहिँ होइनौँ हामी । तिब्बततिरबाट झरेका हामी लोवालाई गुरुङ बनाए यहाँका शासक र प्रशासकले । गुरुङ नलेखे नागरिकता नपाइने भनेपछि परिवर्तन गर्नै प¥यो थर । नाममा हिन्दुकरण गरियो । जस्तो कि मेरो खास नाम केमि हो । नागरिकतामा धनबहादुर गुरुङ लेखियो । उहाँको झेवेङ सिङ्गी हो । नागरिकतामा कमलबहादुर गुरुङ लेखियो । नाम थर जस्तो व्यक्तिगत पहिचानसमेत लोप गराएपछि कहाँ बाँच्छ मान्छेको स्वतन्त्रता ? घेम्बा रिम्बोछे केमिको घरमा पस्नेबित्तिकै गुनासो पोख्नुभयो सबै जनाले । हामी सरकारी कर्मचारी थाहा पाएर गुम्साहटलाई फुकाउनुभएको हुनुपर्छ उहाँहरूले । नाम मात्र रहनुपर्छ मान्छेको । थरले त विभाजन गरेको छ मान्छेलाई उँच, निचमा । राज्यले प्रायोजित थरमा मान्छेलाई समेट्न खोज्नु अपराध हो भन्यौँ हामीहरूले ।
एक पटक एउटा अञ्चलाधीशले भने — तपाईंहरूको गाउँको नाम झोङ होइन ‘सुन्दर बस्ती’ राख्नुहोस्, हामीले मानेनौँ । पहिचान त परिस्थितिले जन्माउने हो । एउटा संस्कृति फैलाएर अर्को संस्कृति मार्नु पनि त अपराध हो नि, होइन ?’ आक्रोश पोखियो झेवेङ सिङ्गीबाट ।
पहिचानलाई प्रोत्साहित गर्नु स्वतन्त्रता हुर्काउनु हो । पहिचान मास्नु विस्तारवादी नीति हो । भाषा र संस्कृति निमिट्यान्न पारेपछि हलचल गर्न गाह्रो पर्छ मान्छेलाई ।
केमिको घरको तल्लो तलामा चौँरी गाईका बाच्छाहरू बाँधिदो रहेछ । माथिल्लो तलामा बसेका छौँ हामीहरू । साँघुरा भए पनि सफा छन् कोठाहरू । कोठामा बुद्ध र दलाइ लामाका तस्बिरहरू राखिएका छन् र दुवैलाई खादा ओढाइ धूप सल्काइएको छ । फुलको रूपमा चढाइएको छ धुपिका मुहुनाहरू ।
घेम्बा रिम्बोछे केमिले परिचय गराउनुभयो परिवारको । केमी एकाउन्न वर्षको, उहाँकी पत्नी छिमी भने बैसट्ठी वर्षकी हुनुहुँदोरहेछ ।
‘ए तपाईंभन्दा एघार वर्ष जेठी हुनुहुँदोरहेछ तपाईंकी जहान ?’ उत्सुकता थियो यादवजीको ।
‘मेरो दाइ मेरी जहानभन्दा दुई वर्ष मात्र कान्छो हुनुहुन्थ्यो । उहाँ बित्नुभयो । म र दुई भाइहरू छौँ ।’ केमीको भनाइबाट थाहा भयो बहुपति प्रथा कायमै रहेछ त्यतातिर ।
केमीको तुलनामा निकै बुढी देखिनुहुन्थ्यो छिमी । छिमीले हामीलाई चौँरी गाईको घिउको टिका लगाइदिनुभयो । हाम्रो आरोग्य र दीर्घ जीवनका लागि मन्त्र जप्नुभयो र बस्नुभयो हाम्रै माझमा ।
यो खायो भने लेक लाग्दैन, जिउ तात्छ, थपी थपी पिउनुहोस्’— केमिकी जेठी छोरी छिरिङ डोल्माले भरिएका ग्लासहरू र एक ठुलो थर्मसभरि भोटेचिया राखिदिनुभयो । हिमाली जडीबुटीबाट तयार गरिएको हुँदा मगमग वासना आइरह्यो भोटेचियाको । चौंरीको घिउ र सिधेनुनले नुनिलो लाग्दैथ्यो चिया । रस भरिएपछिको मैमत्त जोमसोमे स्याउ जस्ता चमकदार थिए डोल्माका गाला । मुक्तिनाथ माथितिरका भिरहरूमा चरिरहेका नाउरका जस्ता चञ्चल र निर्दोष थिए डोल्माका आँखाहरू । नीलगिरितिरबाट उफ्रिँदै झरेको खरायो जसरी उफ्रदै काममा जुटिरहिथिन् डोल्मा । मुस्ताङे माटाजस्तो खैरो केश भएकी सुन्दरी केशाका गीतहरू मात्र होइन, उनको कोमल अनुहार पनि कयौँ पटक हेरेको छु मैले । नायिका क्रिस्टिन स्टेवार्टको कालो कपाल तलतिरको अनुहारले पटक पटक अभिनयमा भुलाएको छ मलाई । काली सुन्दरी लेसली जोन्सको चुलबुले अनुहार र संसार भुलाउने आवाजले पटक पटक घचघच्याइ रहन्छ मलाई । ती सबैको सुन्दरता र अभिनयलाई माथ गरेको छ डोल्माको मृदुल मुस्कान र जुनेली उद्भाषले । उनका हरेक शब्दहरूमा निस्दूल प्रेमका उन्मेषहरू बगिरहेको आभास हुन्छ । उनी पनि हाम्रैअघिल्तिर बसिन् । छिरिङ डोल्मा होइन ध्यानमग्न बुद्धको प्रतिरूप देख्दैछु म उनीलाई ।
अक्षरहरूको अझै राम्रो उपस्थिति रहेनछ झोङ गाउँमा । अक्षर म पनि चिन्छु अलि अलि तर अरू गाउँका दुई जनाले धेरै नै पढेको छ ?’ केमिजीसँग गाउँ चिन्न खोज्दैछौँ हामी ।
‘कति पढेका छन् तिनीहरूले ?’
‘एक जनाले आठ, अर्कोले छ ।’ त्यसैलाई धेरै पढेको भन्दा हामी हाँस्यौँ । ‘गाउँमा रोजगारी छैन । जौ, उवा, फापर फल्ने जग्गा धेरै छैन । हिँड्न सक्नेबित्तिकै कोही लद्दाख जान्छ, कोही दिल्ली, कोही काठमाडौँ जान्छ, कोही तिब्बत । काम नभएको ठाउँमा टिक्न सक्तोरहेनछ मान्छे । अलि अलि कमाएपछि गाउँ फर्कन्छ, कमाइ सक्छ, फेरि काममै जान्छ । बाँच्नका लागि जहाँसुकै भए पनि काम र खुसीका लागि आफ्नै ठाम चाहिने रहेछ । काम र आफ्नो ठामबाट विरक्तिएको मान्छेको मनलाई गाह्रो रहेछ सम्हाल्न ।’ केमिजीका कुरा चाख लागेको छ सबैलाई ।
‘सबै जम्मा भए चार सय जनाजति हुन्छन् यो गाउँका । अहिले खोज्ने भए मुस्किलले चालिस जना पनि भेटिँदैन । बेसहारा बुढाबुढीको थलो भएको छ गाउँ’— होलो धोर्जेजीले खोल्नुभयो यथार्थता ।
‘करुको रोटी खानुहुन्छ, पकाउन लगाऊँ ?’ आतिथ्यता केमिजीको । दिन ढल्किसकेकाले रोटी नपकाउन भन्यौँ हामीले ।
‘सरकारले सडक ल्याइदिने हो भने हामीकहाँ पनि खैरे आउँथ्यो, विकास हुन्थ्यो, बरु हामी जनश्रमदान गथ्र्यौँ, अलि छिटो गरिदिनुप¥यो हजुर ।’ विदेशी पर्यटक भिœयाउने गाउँलेको मनसायलाई हाम्रो सामु राख्नुभयो छिरिन्जिन दाइले । स्याउ र अङ्गुर खेतीका लागि नर्सरी सुरु गरिसकेको, तरकारी खेती सुरु गरिसकेको र गाउँका बच्चा विद्यालय पठाउन थालेको कुरा उठे सबैबाट ।
‘माटो भएपछि केही न केही फल्छ, लगाउने अन्न र फल चिन्न सक्नुपर्छ, अब अरबको मरुभूमिले त फलाउन थालिसक्यो फल र अन्नका झुप्पाहरू । हामीले पनि फेर्नुपर्छ अब झोङको अनुहार । यी सेता डाँडामा फलफुलका लर्कन् लाग्नेछन् कुनै दिन ।’ दाइहरूको उत्साह बाक्लिँदै थियो र फैलिँदै थियो ।
हाम्रो कुराकानी रमाइलो मानेर सुन्दै हुनुहुन्थ्यो छिमी दिदी । हाम्रो ग्लास रित्तिनेबित्तिकै थपिहाल्नुहुन्थ्यो भोटे चिया । बादलबाट निस्केको घाम झैँ खिसिक्क हाँस्नुहुन्थ्यो कहिलेकहीं ।
जिल्ला विकास समितिले खनेको सडकले झोङ गाउँ पुग्न सजिलो भएको भने सबैले । हामी केमिजीको घरबाट बाहिरियौं । घरहरूमा भ¥याङ होइन एककाठे लिस्नु मात्र राख्ने चलनले उक्लन ओर्लन गाह्रो पर्ने हामी जस्ता बाहिरबाट जानेलाई ।
तल्लापट्टि दुई घर र अलिपर आधा भत्केको एउटा ठुलो घर रहेछ । त्यही घरहरूको माझमा भुइँमै बसेका छन् पन्ध्र बिस जना । माझमा एउटा मान्छे लमतन्न सुतेको छ । एउटा मान्छे मातृभाषाको के के मन्त्र भट्याउँदै घरी त्यो मान्छे वरिपरि घुम्ने, घरी पानी छर्कने, घरी रक्सी छर्कने र घरी बुद्ध भगवान्को मूर्ति ढोग्दैछ । उसको उफ्राइ धेरै माथिसम्मको देखिन्छ । बसेका दर्शकहरू उनीप्रति असाध्यै झुकिरहेछन् ।
‘यो के गरेको ? केमि र अरूलाई सोधेँ मैले ।
‘यो सुतेको मान्छे बिरामी भएको धेरै भइसक्यो । उहाँ यो गाउँको ठुलो धामी हो । फुकेर र तन्त्र गरेर बिरामीको उपचार गर्दै हुनुहुन्छ ।’ झेवेङ सिङ्गीले सजिलो पार्नुभयो भाषान्तरलाई । हनहनी ज्वरो आइरहेको रहेछ, पेट कुटुकुटु खाइरहेको छ भनेर अजारीबजारी गर्नेरहेछन् कहिलेकहीँ । धामी भने देवता र उनको कुरा भइरहने र उनले आँटे देवतालाई भनेर सबै रोग निको पारिदिने पूmर्ति लगाउँदा रहेछन् । जे जे दान, दक्षिणा र भेटी चढाउन परे पनि बिरामी निको पारिदिन प्रार्थना गर्दा रहेछन् उपस्थितहरू ।
हामीलाई देखेपछि अलि सशङ्कित बने धामी । ‘लौ भोलि हेरुँला, आजलाई यति नै भनेर घन्टी बजेपछि गुरुले कक्षा छोडे झैँ गरे धामीले । मैले छेकारो काटेँ र च्याप्प समातेँ उनको हात ।
‘केही क्षण तपाईंसँग एक्लै कुरा गरुँ न’— आग्रह मेरो ।
‘मेरो फुर्सद छैन, म हिँडिहाल्छु’— तर्कन खोज्छन् उनी ।
‘म पनि धामी हुँ क्या, त्यसैले कुरा गर्न आँटेको’— आफ्नो परिचय ढाँटेरै खोतल्न खोजे उनलाई । धामी भन्ने ठानेपछि बल्ल तयार भए उनी मसँग भेट्न । बडेमाको ढुङ्गाको पछिल्तिर उभियौँ । हाम्रो कुराकानी राम्रै जम्यो ।
‘हेर्नुस् त बाउबाजे तन्त्रमन्त्रमा लागेकाले आपूm लागियो । बेकारमा लाग्या जस्तो भइरहेछ अचेल ।’ मनको कुरा खोले झैँ बोलेँ ।
‘मलाई पनि त्यस्तो लाग्छ । अरू पेसा नभएकाले यस्तो धामी बनियो । कुनबेला साँचो कुरा थाहा पाएर गोद्छन् जस्तो लाग्छ । अस्ति पुटाक गाउँमा अस्पताल लान लागेका एक बिरामीलाई नलैजानु म ठिक पारिदिन्छु भनेँ । झारफुक गरेँ, तन्त्रमन्त्र गरेँ, भूत मन्छेँ । भुतुक्कै भयो बिरामी । अस्पताल लान ठिक्क परेकालाई रोक्ने भनेर ठोक्नुसम्म ठोके मलाई । पहिला भए धामी झाँक्री भनेपछि टेढो आँखाले हेर्न डराउँथे । अब कसैले टेर्दैन । डर हराएपछि भर पनि गर्ने रहेनछन् कसैले । आश र डरको भरमा चलाएको धामी पेसाले पल्टा खाने भयो अब ।’
देवता भेटेको, भूतप्रेत भेटेको, बोक्सीसँग लडेको, भिडेको, तातो पन्युँले डामेपछि डाकिनी भुतुक्कै मरेको कुरा बताएका थिए धामीले गाउँलेसँग । सुरुमा झाँक्री विद्या सिक्दा वनझाँक्री भेटेको, वनझाँक्रीको तालुमा दुई फिट लामो सिङ रहेको । दाराहरू एक फिट लामा रहेका, शरीर लामो रौँले ढाकिएको हुने चित्रण गरेथे गाउँलेहरूसँग । त्यही वनझाँक्रीले सातदिनसम्म घनघोर जङ्गलभित्र रुखको हाँगामा राखेर झाँक्री विद्या सिकाएर पठाएको भने उनले । जस्तो रोग पनि निको पार्न सक्ने, जस्तो शत्रुलाई पनि मार्न सक्ने, आपूmले चाहे मन्त्रले नै कसैको पनि आँखा फुटाइदिन सक्ने, हातखुट्टा र शरीर नचल्ने बनाइदिन सक्ने, मन्त्रले मान्छेलाई चरा, बाँदर, भेडा बनाइदिन सक्ने गुड्डी हाँकेका थिए ।
धामी झाँक्रीले नै सबै कुरा गर्न सक्ने भए शत्रुमाथि विजय हासिल गर्न यति धेरै खर्च गरेर सेना किन चाहियो देशमा ? मन्त्रले नै आगो उत्पन्न गर्न सक्ने, पानी पार्न सक्ने हो भने विज्ञानका यति धेरै स्रोत साधन जुटाउन किन पथ्र्यो । संसारमा आजसम्म कसले मन्त्रद्वारा पानी पारेको छ, आगो निकालेको छ । तन्त्रमन्त्र, जादुटुना छ भनेर हातको सफाइ र ट्रिक गर्नेहरूको भने कम छैन कहीँ पनि । प्रकृतिको विरुद्ध कसले के गर्न सक्तछ । गर्छु भन्छ भने त्यो ट्रिकको जादुगरी मात्र हो ।
‘मैले त तन्त्रमन्त्र कहीँबाट सिकेको छैन । सिकेको भनेर झुक्याउने गरेको मात्र हुँ । तपाईंले अघि वनझाँक्रीबाट सिकेको भन्नुभयो, साँच्चै हो ?’
‘कहाँ सिक्नु नि ? हाम्रा बाजेले त्यसै गरी झुक्याए, बाले त्यसै गरी, म त्यही सिको गरेर यहाँसम्म आइपुगेँ । मन्त्रले जे पनि गर्न सकिन्छ भन्नुपर्छ । कसैले गर भनिहाल्यो भने टार्नुपर्छ, कुनै न कुनै बहानामा ।’
अन्धाको देशमा आँखा नभए झैँ गरेपछि, लङ्गडाको देशमा खुट्टा खोच्याए झैँ गरेपछि, चोर डाँकुको अघिल्तिर पुरानो चोरको व्यवहार दर्शाएपछि माया पाइन्छ, मर्का प्रस्टिन्छ । चोरको अघिल्तिर प्रहरी होइन चोरको अभिनय गर्न सकियो भने पत्ता लगाउन सकिन्छ वास्तविकता ।
भूतप्रेत देखेँ भन्नेहरू मानसिक रोगी हुन् । मानसिक रोगीले नै विश्वास गर्दछन् भूतप्रेत, जादुटुना, पिशाच, डंकिनीका चरित्रहरू ।
झोङ जस्ता पवित्र र चोखा ठाउँहरूमा कसले मिसाइदिन्छ अन्धविश्वासको मन्द विष ।
‘मलाई त धामी झाँक्री पेसा गर्न पटक्कै मन छैन । कति झुक्याउनु अरूलाई । थाहा पाए भने छाला काढेर नुनचुक लगाउँछन्— डराए झैँ बोलेँ म ।
‘तपाईं त जागिरे हुनुहुँदोरहेछ, झाँक्री नबने पनि चल्छ । मैले के गरी खानु, के गरी परिवार पाल्नु ?’ उनलाई पनि ग्लानी रहेछ ।
‘अरू नै काम गर्नुस् तपाईं । खेतीपाती गरे भो’, ज्याला मजदुरी गरे भो, भारी बोके भो’, ठेक्कापट्टा गरे भो’ । गर्ने काम त धेरै पाइन्छन् । परिश्रम ग¥यो भने फल पनि राम्रै, मन पनि राम्रै । अब झुक्याउने पेसा छोडौँ बुझ्नुभो’ । मचाहिँ आजैबाट छोड्छु ।’ प्रतिज्ञा दर्शाएँ मैले ।
‘म पनि छोड्छु त्यसो भए’— ठिक ठाउँमा आए उनी ।
बिरामी भेटे अस्पताल लैजाने सल्लाह दिने निधो भयो । शरीर सफा राख्ने, सन्तुलित खाना र सन्तुलित निद्रा व्यायाममा लाग्न प्रोत्साहन दिने सहमति भयो । हामी छुट्टियौँ । देवता, पितृ, भूतप्रेत, धामी झाँक्री, झारफुक, पूजापाठ यस्तै यस्तैमा सारा जीवन सखाप पारेको देख्छु म त्यतातिर ।
ओरालो लागेको घामको पहेंलो किरणले पहेंलो लेदोले छोपे झैँ देखिएका छन् खिङ्गा, झारकोट र मुक्तिनाथ माथितिरका पहाडहरू । हिउँ नै पनि सुनको लेदो झैँ जमेको देखियो पूर्वतिर थोराङ पासको चेपभन्दा माथितिर ।
घुर्मैलो पिठ्युँमा उदास बालक बोके झैँ छ झोङ गाउँ । भर्खर भस्मे खनेर सम्याउन बाँकी उडिल्लो ड्याङ जस्तो देखियो झोङ गाउँ । गाभिनु हावाले उन्नतोदर बनाउन खोजेजस्तो गहिराइ र शान्तिको मौन सङ्गीतमा सल्बलाइरहेछ झोङ गाउँ ।
पहेंलो संसारमा कलेजी वस्त्रहरू पहिरेर जीवनको अर्थ खोज्दैछन् झोङवासीहरू ।
‘हामीकहाँ माओवादीहरू पनि आएनन् सरकारी सेनाहरू पनि आएनन् द्वन्द्वकालमा । केही नभेट्ने भएपछि आउँदोरहेनछ कोही पनि । स्वार्थविना कहाँ चल्छ संसार ।’ फर्कने बेलामा पसलमा बसिरहेका बुढा बाले बताउनुभएको कुरा । द्वन्द्वको असर सबैभन्दा कम परेको जिल्ला हो, मुस्ताङ । हामीलाई प्लस पनि चाहिएन; माइनस पनि चाहिएन; हाम्रो उज्यालो हामी नै ल्याउँछौ भनेर एकजुट भए मुस्ताङे ।
‘कागबेनी र मुक्तिनाथमा मात्र बसाउनुभएन घुमन्तेहरूलाई । सडकलाई अलिकति सोझ्याइ दिनुप¥यो सरकारले । हामी फापर र उवाको ढिंडो पकाउँछौं एप्पल जुस र तोरा जुस पियाउँछौं । जिम्बु र ओखर चखाउँछौँ । टिमुरको छोप, एप्पल सुकुटी, जाम र ब्राण्डी कोसेली पठाउँछौ ।’ मिङ्मा र पासाङ दाइहरूको सोच रहेछ झोङलाई झरिलो बनाउने ।
‘कागबेनी, मुक्तिनाथ, झोङ र झारकोटमा केबलकार चलाउनुपर्छ, हिउँदभरि । यी हिमालहरूमा स्की खेलाउनुपर्छ, अझै ठुला होटलहरू निर्माण गर्नुपर्छ । त्यसपछि झोङले पनि निकाल्ने छ झरिझुट्ट झरक ।’ काम गर्नका लागि सोच पहिलो कुरा हो, त्यही पलायो सबैको मन्थनमा । कुमारी धर्तीमा हिम्मतले सपना फुलाउने कुरा चल्यो केहीबेर । मान्छे जुर्मुराएपछि धमाधम दिन्छिन् प्रकृतिले । हामीले जाँगर चलायौँ र विचार निकाल्यौँ भने सजाउन सकिने छ जीवनलाई उज्यालाले ।
‘हामीसँग मेसिन छैन, राम्रो बाटो छैन, उद्योग र कलकारखाना छैन, कसरी पाउन सकौँला हामीले काम, दाम र माम’— ल्हामु दिदीको प्रश्न असाध्यै चोटिलो लाग्यो । गाउँहरूमा श्रमको क्षमता छ तर सोचको बाटो नभएको अलमल छ ।
मैले ‘द ग्रेट डिक्टेटर’ चलचित्रका दृश्यहरू सम्झिएँ । त्यहाँ हास्य अभिनेता चार्ली च्याप्लिनले मेसिनभन्दा बढी हामीलाई मानवताको र चलाखीभन्दा धेरै सज्जनपनको आवश्यकता छ भनेका थिए । यन्त्रले उत्पादन त धेरै गर्दछ तर थोरै मालिकलाई अधिक फाइदा र धेरै श्रमिकलाई कम फाइदा पु¥याउँछ । हामीलाई सबैलाई फाइदा पुग्ने कामको खाँचो छ । यन्त्र र कारखानाबाट वाक्क भएका मान्छेहरू झोङ जस्तो गाउँमा आएर पवित्र प्रकृतिको रसास्वादन गर्न लालायित हुन्छन् । धर्तिलाई पवित्र राखेर धेरै गरौँ भन्ने सल्लाह गरेँ मैले झोङवासीसँग ।
हामी झोङको मध्यभागमै बाटाको छेउमा उभिरहेछौँ । अब आकाशको रूप फेरियो । मेघाच्छन्न भयो आकाश । पहेंलो बतासको रङ्ग र गुण दुवै फेरियो । क्षणभरमै बतास यति क्रुर बन्यो कि चिसाले टोक्न थाल्यो हाम्रो शिरदेखि पाउसम्म । हल्लन थाल्यो हाम्रो मुटु ।
हाम्रो दाहिनेतिरबाट दुई महिलाहरू हावासँग धावा बोल्दै हल्लँदै आए र देब्रेतिर मोडिए । पुरुषहरू मातेको धेरै ठाउँमा देखिएको हो तर महिलाहरू त्यति सारो मातिएको त्यहीँ देखियो । तिनीहरू लठारिँदै आए, हल्लिँदै आए । हामीलाई उनीहरूकै भाषामा धेरै कुराले जिस्क्याए । हाउभाउले यौन अङ्ग देखाउदै यौनका कुरा र यौन आमन्त्रणका कुरा पनि गरे । त्यहाँ भएका स्थानीय तिन पुरुषले केही भन्ने आँट गरेनन् । मुन्टो निहु¥याएर नुन खाएको कुखुरो झैँ बसिरहे ।
‘ती महिलाहरूलाई सम्झाउनुपर्दैन ?’ उनीहरू पर गएपछि पुरुषहरूलाई घचघच्यायौं ।
‘केही बोले त पिटिहाल्छन् नि । गाउँलेहरू धेरैले कुटाइ खाएका छन् यी दुई ओटीको ।’ एक पुरुष डराउँदै बोले ।
नसामा मात्तिएर निस्फिक्री प्रकृतिसँग लुकामारी खेल्न पाउनु ठुलो कुरा हो ।
‘टाढा पुग्नु छ, दिन ढल्किसक्यो, हिँड्यौँ है हामी ।’ बिदा माग्यौँ झोङका दाज्युभाइ दिदी बहिनीसँग ।
‘विकास लिएर आउनु होला, हाम्रो सत्कार स्वीकार्न आउनु होला’— घेम्बा रिम्बोछे र होलोले बिदाइ गर्नुभयो । हाम्रो गाडी घस्रँदै झ¥यो ओरालो ।
‘उः यो घरमा छोरी जन्मिछे’— उमेशजीले देखाउनुभयो दायाँपट्टिको घर । खित्का छोडेर हाँसिरहेथे छ महिला । एक पुरुष घरअघिल्तिर चिन्दै थिए ढुङ्गाहरू । छोरी जन्मे रातो रङ्ग र छोरा जन्मे सेतो रङ्ग दलेर तिन ढुङ्गाको चाङ लगाउने चलन रहेछ त्यतातिर । ढुङ्गाको रङ्गअनुसार छोरा या छोरी जन्मेको भेउ पाउन सजिलो रहेछ ।
अब छुक्साङ गाउँसम्म पुग्नु छ हामीलाई । पुटाक गाउँलाई दायाँ पारेर लगिँदैछ उत्तरतिर ।
राता ढुङ्गाहरू र पहेंलो माटाको संसारमा चिप्लेकिरा जसरी बढ्दैछ गाडी । थाकलका काँडाहरू चपाउँदैछन् कतै कतै, सेता र काला भेडाहरू । गति र खुवाइमा जीवनरस खोज्दैछन् तिनीहरू । बायाँतिर कालीगण्डकी शान्तसँग ओरालो लाग्दैछ । कालीगण्डकीलाई नै माथितिर फर्काइदेलान् झैँ सुसाउँदै भिरहरू कोपर्दैछन् हावाका क्रुर काँडाहरूले । हाम्रो गाडी घचेटाइमा पर्छ कि हावाको भन्ने आशङ्का छ हामीहरूमा ।
उकाला मोडहरू छन् । रक्त चन्दनका ठेउकाहरू लडे झैँ देखिँदैछ संसार । रक्तिम, उबडखाबड र लजालु मोडहरू ।
सुख्खा र नाङ्गो स्यानो समस्थलीलाई विशाल पर्खालले घेरिएको रहेछ । ढोकामा लेखिएको रहेछ— ग्रिन ताङ्वे । स्याउ फार्म रहेछ त्यो । फार्मका कर्मचारीहरूले स्वागत गर्नुभयो ढोकामै । जमिन पुरै सुख्खा, फुस्रो र बलौटे छ । निश्चित दुरीमा स्याउका मसिना बिरुवाहरू हुर्कंदैछन् । त्यही फार्मसम्म पानी पु¥याउनका लागि सहयोग गरेको रहेछ जिल्ला विकास समितिले । ‘राज्यले अलिकति होस्टेमा हैंसे गरिदिने हो भने यी देखिएका सबै डाँडाहरूलाई हरियालीले छाउन सकिने छ, स्याउ, अङ्गुर र अरू फलफुल उत्पादनले देशको मजबुती बढाउन सकिंने छ’— फार्मका कर्मचारीहरूमा उत्साह थियो अदम्य ।
हिउँ पर्नका लागि मात्र होइनन् यी पहाडहरू । मान्छेले टाढैबाट हेर्नका लागि मात्र उभिएका होइनन् यी हिमालहरू । माटोमा जाँगर र बिउ दिन सक्ने हो भने फलाउन सकिन्छ सुन चाँदीभन्दा धेरै महत्त्वका अन्नहरू । अप्ठेरो ठानेर सधैँ अलग राख्यौँ हामीले हिमाललाई । दुध दिन ठिक्क परेको गाईलाई नदुहेपछिको गतमा राख्यौँ सधैँ हामीले हिमाललाई । ग्रिन ताङ्वे देखेपछि— ‘आऊ हामीलाई सुमसुम्याऊ तिम्रा हातहरूले र खोतल सम्भावनाका असङ्ख्य केस्राहरूलाई’ भनेर चिच्याइरहे झैँ लाग्यो वरिपरिका सम्पूर्ण हिमाल र पहाडहरूले ।
नबुझेपछि हीरा पनि किरा बनेर मिल्कन्छ ।
ग्रिन ताङ्वेबाट उत्तर लागेपछि स्यानो खोला तरेर ओरालो झर्छ सडक । लुरुलुरु सडकको पिछा गर्छौँ हामी ।
नाङ्गा पहाडहरूका साम्राज्य अझ गाढा बन्दैछ । पहाडभरि ओडार र गुफाहरू देखिन्छन् । मान्छेले कोरेका जस्ता, कुदेका जस्ता र खोपेका जस्ता कलाहरू छरिवरि छन् पहाडमा । प्रकृति जत्तिको सबल र सक्षम कलाकार अरू कोही पनि छैन संसारमा । पहाडभरि ढुङ्गा माटाका छोर्तेनको आकार देखिँदैछ, चैत्य र मन्दिरको रूप देखिँदैछ, युद्धको छनक देखिँदैछ, आमसभाको स्वरूप भेटिँदैछ । कल्पना गरेका जे जे देखिँदैछ । पहाडका अमूर्त कलाहरूले कल्पनाशीलता थप्दैछ मान्छेलाई ।
टाढैबाट कालीगण्डकीभन्दा अलिक माथितिर देखियो छुक्साङ गाउँ । हरियो भरिलो देखिन्छ छुक्साङ । स्याउ फार्महरू छन् । गहुँ, जौ र मकै उमार्ने पाटा र गराहरू छन् । बैंसका हरिया वृक्षहरू हल्लिइरहेछन् । खच्चरको चहलपहल देखिन्छ, भेडाका बथानहरू चल्मलाइरहेछन् । उत्तरतिरको सतीभित्ताबाट चर्दै ओरालोतिर झर्दैछन् सत्र ओटा खिरिता नाउरहरू । कलाकारले चित्रलाई अझ सुन्दर बनाउन भर्खरै टाँसेको सुन्दर कोलाज जस्तो लाग्छ त्यो दृश्य । नाउरका उच्छट्ट आवाज र ढुङ्गामा हाँगा कोरल्न सक्ने दमदार हावाको उज्जन्ड स्वरको अन्वितिमा उज्जीवन फैलिँदैछ ढुङ्ग्याने उचाइहरूमा । मान्छेको स्पर्श पाएपछि सलबलाउँछन् वनस्पति र पशुहरू । पशु र वनस्पति हुर्कने ठाउँमा मात्र फुर्केर बाँच्छ मान्छे भन्ने प्रमाणित गर्दैछ छुक्साङले ।
छुक्साङ नपुग्दै उत्तरबाट दक्षिणतिर फालहालेको छ दुधधारा जस्तो कञ्चन नर्सिङ खोला । हुत्तिँदै गएको छ कालीगण्डकीसम्म । एउटा झोलुङ्गे पुल हल्लिरहेछ नर्सिङ खोलाको विघ्ननाशक बनेर । त्यसले थेग्न सक्तैन अब उपल्लो मुस्ताङसम्म आवतजावत गर्ने चापलाई । सयौँ वर्ष पछिको परिस्थिति विचारेर बनाइनुपर्छ अब ठुला पुलहरू । पुल निर्माणको प्रगति बढाउन पर्ने सुझाव दिएँ इन्जिनियर र निर्माण व्यवसायीलाई ।
पारी छुक्साङपट्टि बाक्लो छ बस्ती । वारिपट्टि तिन घर र एउटा प्रहरी चौकी छ । एउटा रेस्टुरेन्टमा नसा लाग्ने र नलाग्ने सबै कुरा पिउनेहरू छन् दस बार जना । डोनट टोक्ने, पाउरोटी लुछ्ने र चाउचाउ हुल्नेहरू पनि कम छैनन् । हामीले पनि चिया पियौँ र केही दाइहरूसँग मन खोलेर कुरा ग¥यौँ ।
‘हिउँ जस्तै सफा हुन्छ हिमालतिर बस्नेको मन । जति तल झ¥यो त्यति फोहर र दुर्गन्धित हुन्छ मान्छेको मन । फोहोर टुप्पामा अड्दैन नि, झरिहाल्छ खोल्सीतिर, त्यस्तै हो’— पहाड र तराईमा बस्नेहरू बढी धूर्त हुन्छन् भन्ने लागेको रहेछ नोरग्यान लामा दाइलाई ।
‘मन त मान्छेअनुसार हुन्छ नि, ठाउँअनुसार हुन्छ र दाइ ? त्यस्तो के भयो र दाइ ?’ दाइको मनको खिल कोट्याउन खोजेँ मैले ।
‘अहिले पो मुस्ताङ र माथिल्लो मुस्ताङतिर विदेशी आउन थाले । पहिला बेनीबाट उकालो लागेपछि होटल थिएन । मुक्तिनाथ दर्शन गर्न आउनेहरू घर घरमा बास माग्थे र रात बिताउँथे । बास माग्न आउनेलाई पाहुना मानेर स्वागत सत्कार गथ्र्यौँ हामी । बिस बाइस सालतिरको कुरा हो । तनहुँको एक डफ्फा र काठमाडौँको एक डफ्फा हाम्रो घरमा बस्यो । हामीले दाउरा, तरकारी दियौँ । सुत्ने ओछ्यान दियौँ । घरमा आरामसँग बस्न दियौँ । उता आउँदा भेट्नू भनेर ठेगाना दिए । हामी इष्ट हो नि भनेर सम्झाए । त्यही वर्ष छोरी बेस्सरी बिरामी प¥यो । काठमाडौँको अस्पतालमा जचाउन लैजानुपर्ने भयो । सडक थिएन । हिँडेरै काठमाडौँतिर लागेँ । तनहुँमा पुगेँ । ठेगाना पत्ता लगाएँ इष्ट भन्नेले चिन्दिनँ पो भने । यस्ता थाक्से कति आउँछन् कति भने । काठमाडौँमा पनि पत्ता लगाएर भेटेँ । उनीहरूले नचिनेको बहाना गरे । गएको भदौमा मेरो घर छुक्साङमा तपाईंहरू बसेको होइन भनेँ । उल्टो उनीहरूले गन्हाउने भोटे नकरा, गइहाल यहाँबाट’ भनेर लेखेटे । इन्तु न चिन्तु बिरामी छोरी लिएर पाटीमा बास बसेँ । छोरी कहिल्यै नआउने गरी त्यहीँबाट बिदा भइ । मेरी छोरी मरी, लास उठाउन त केही मद्दत गर्नुहोस् भनेर फेरि उनीहरू सामु गएँ । उनीहरूले यो छुन नहुने थाक्सेलाई धपाइहाल यहाँबाट भनेर हप्काइदप्काइ गरे । रुँदै फर्किएँ म । यता आउँदा हाम्रै ओछ्यानमा सुत्ने, हाम्रै चुल्होमा खाने, इष्ट भन्ने, उता नचिने झैँ गर्ने, गाली बेइज्जती गर्ने मान्छेहरू देखेर घृणा लाग्छ मलाई’— तितो अनुभव रहेछ नोरग्यान दाइसँग । सम्पन्नतासँगै स्वार्थ बढेको र मानवता हराउँदै गएको अनुभव साटासाट भयो त्यहाँ ।
ठाउँले होइन स्वभाव र संस्कारले स्वार्थी बन्छ मान्छे, भनिदिएँ मैले ।
सूर्य थकित देखियो । आकाशको नीलिमालाई क्वाप्लाक्क निल्न खोज्यो उत्तरतिरबाट फैलिएको बादलले । डाँडाकाँडा सबै छोप्न खोज्यो कुहिराको जमातले । क्षणभरमै रिसाएकी प्रेयसीको अनुहार झैँ देखियो नर्सिङ खोलादेखि कालीगण्डकीसम्मका बस्ती, खेत र बारीका आकृतिहरूमा ।
हामी फर्कियौँ जोमसोमतिर ।
ध्वाँसो घोलेजस्तो निष्पट्ट अन्धकारमा भेटिएको तिरी गाउँलाई बोलाएनौँ हामीले । कालीगण्डकी माथिको कल्लोल आवाजसँगै मान्छेको जीवन सुमसुम्याइरहेको एक्लेभट्टीसँग भलाकुसारी भएन हाम्रो ।
जोमसोममा होटल माउन्ट ब्रिजभित्र छिर्दा नब्बे वर्षकी आमा बैंसमा बेनीमा होटल चलाउँदा व्यहोरेको दुःख बताउँदै हुनुहुँदो रहेछ बुहारी सुनकुमारीलाई । ‘म थकाली केटी, त्यतिखेर सबैले असाध्यै राम्री भन्थे । छब्बिस वर्ष बेनीमा होटल चलाएँ । पचास पैसामा एक छाक मासुभात ख्वाउँदा पनि राम्रै फाइदा हुन्थ्यो । अझ बढी लिएको भए हुन्थ्यो । त्यतिखेर कसैलाई ठग्नुहुँदैन भन्ने विश्वास थियो । मान्छे सोझा थिए । सामान सस्ता थिए । अहिले सपना जस्तो लाग्छ । कसैको सामान वा पैसा भेटे गाउँको मुखियालाई बुझाइन्थ्यो । मुखियाले सम्बन्धितलाई बुझाइदिन्थे । कसैले ठगेर खाँदैनथ्यो । अहिले सहर डर नै डरको जङ्गल बनेको छ ।’
भित्रपट्टि खाने पिउनेको जमघट रहेछ । अँगेनामा आगो ताप्दै टुकुचे ब्रान्डी र एप्रिकेट ब्रान्डीले थिचेको एक्सिलेटरको तालमा सात भाइ र दुई बहिनीले निकै बेर गाइरहे—
‘जोमसोमे बजारमा, बार बजे हावा सरर
ए हजुर …, घर हाम्रो पोखरा’
जूनको उज्यालो बोकेर नीलगिरि उभियो मेरै निधारको माथिल्तिर । हिमरङ्गले उद्दाम बन्छ मन । सुन्दर संसारमा उभिएको एउटा आलिङ्गित आनन्दको गहन हावाको चक्रवात भिœयाउँछु म कोठाको झ्यालबाट ।
पर कता कता हिमवृक्षभरि प्रतिबिम्बित भइरहेछन् स्मृतिका अनुपम रश्मीहरू ।
‘मामा खाना खान तल आउनूस्’— ढोकामा उभिएकी छिन् भाञ्जी श्वस्ती । उनको अनुहारभरि हल्लिरहेछन् जूनको उष्म उच्छवास र हिउँको उन्मत्त व्याकुलता ।
जोमसोम पुरै ढाकियो हल्का कुहिराले । कुहिरोसँगैको अन्वितिमा मनको चेतनालाई फेरि कोट्यायो हिमज्योतिबाट निस्केको चन्द्रमाले ।
समय सुतेको छैन, कहिल्यै सुत्ने छैन, अदृश्य तरङ्गमा ब्युँझिइ रहने छ निरन्तर ।

होटल माउन्ट ब्रिज, जोमसोम,मुस्ताङ
२०६९ भाद्र १३ गते

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्