पत्रकारका लागि एक साताभित्र राहत प्याकेज घोषणा हुन्छ- सञ्चारमन्त्री गुरुङ

काठमाडौं– संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आगामी एक हप्ताभित्र कोभिड–१९ लगायत विविध समस्यामा परेका पत्रकारका लागि राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको ‘आमसंचार तथा श्रमजीवि पत्रकार’ विषयक छलफल कार्यक्रममा संचारमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।

अग्रपङ्तिमा खटिएर काम गर्ने पत्रकारका लागि कोभिड–१९ विरुद्धको खोप दोश्रो चरणको कार्यक्रममा समावेश गरिने पनि मन्त्री गुरुङले बताए ।

कार्यक्रममा मन्त्री गुरुङले पत्रकारहरुको प्रेस कार्ड नविकरण पाँच÷पाँच वर्षमा गर्नका लागि कार्यविधी बनाएर काम थाल्ने र श्रमजीवि पत्रकार ऐन तत्काल लागु गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै पत्रकारिता क्षेत्रलाई थप व्यवसायिक र मर्यादित बनाउन पत्रकारका लागि पनि प्रशिक्षण प्रतिस्ठानको व्यवस्था गर्नुपर्ने बताए ।

पत्रकारका लागि पनि सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै प्रशिक्षण दिन आवश्यक रहेको मन्त्री गुरुङको भनाइ थियो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा पत्रकारिता क्षेत्रका के कस्ता विषयवस्तु र कार्यक्रम समेट्नुपर्छ भन्ने विषयमा छलफल गरेको हो । कार्यक्रममा पत्रकार महासंघका भूतपूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारी र संचार क्षेत्रका विभिन्न व्यक्तित्वसँग विस्तृत रुपमा छलफल गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्