प्रदेशसभा बैठक सूचना निकालेर स्थगित, दाहाल–नेपाल समूहको आपत्ति

हेटौंडा– सोमबारका लागि तोकिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि तोकिएको प्रदेशसभा बैठकका विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको हो ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जारी गरेको सूचनामा ‘मिति २०७७ माघ १९ गते दिनको २ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा मिति २०७७ फागुन ५ गते दिनको २ बजे बस्ने’ उल्लेख गरिएको छ । प्रदेशसभा सचिवालले भने बैठक राख्ने र स्थगित गर्ने सभामुखको अधिकार भएकाले सभामुखको निर्देशन अनुसार बैठक स्थगितको सूचना जारी गरिएको जनाएको छ ।

बैठक थगित गरिएपछि नेकपा दाहाल नेपाल पक्षले बिरोध गरेको छ । आज बिहान प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै नेपाल दाहाल पक्षले अबिलम्ब प्रदेशसभा बैठक सुचारु गर्न माग गरेको छ ।

नेकपा दाहाल नेपाल समूहका प्रदेशसभा सदस्यहरुले पत्रकार सम्मेलनपछि प्रदेशसभा सचिवालयमा नाराबाजी गरेका थिए । उनीहरुले तत्काल प्रदेशसभा बैठक सुरु गर,अल्पमतको सरकार चाहिँदैन लगायत नारा लगाएका थिए ।

तत्काल प्रदेशसभा बैठक सुचारु गर्न दवाब दिएको नेकपा दाहाल नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वास प्रस्ताव पारित गरिने र नयाँ सरकार बनाइने दाबी गरेको छ ।

कांग्रेस भने मौन छ ।

प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये नेकपा दाहाल नेपाल पक्षका ४५ जनाले मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । पुस १० गते बागमती प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदे सभा बैठकमा टेबुल भएको थियो । मुख्यमन्त्रीको पक्षमा नेकपाका ८० मध्ये ३४ प्रदेशसभा सदस्यमा मात्र रहेका छन् । नेपाली कांग्रेसको २२ र अन्य साना दलको ८ मत रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्