मार्चुङसँगै मन माझेर

दामोदर पुडासैनी किशोर
झरेर पनि पुगिन्छ, गन्तव्यको उचाइमा ।
हामी जोमसोमबाट झरिरहेछौँ । माउन्टेन ब्रिज होटलमा बिहान उठ्दा थकाइले राम्रैसँग चिमोटिरहेथ्यो । उठेर हिँडाइमा परेपछि बिस्तारै बिरानिन थाल्यो थकाइ ।
नीलगिरि हामीभन्दा अघि नै उठिसकेकी थिइन् । मैले उठेर उनको सर्वाङ्ग हेरेँ । उनको अनुहारमा चलिरहेको तरङ्ग हेरेँ । उनको नशा नशामा चलिरहेको उमङ्ग हेरेँ । हिमाग्नीले झन् झन् रापिलो बन्दैछ उनको अनुहार । प्रेमस्पर्शले झन् झन् पग्लिदैछु म । एक थुम्को हिमाल मात्र होइन हिमाल, प्रेमका अजस्र धारा छन् उसका कण कणमा । एक मुटु रहर मात्र होइन प्रेम, आकर्षण र समर्पणका अमूल्य लहरहरू छन्, त्यसका केस्रा केस्रामा ।
नीलगिरि हेरेपछि झन् झन् तृषित् भएँ म ।
मलाई भेटेपछि झन् झन् लोभिइन् उनी ।
हामी दुवै बनेर हिँड्यौ जोमसोमको पूर्व पश्चिम उपत्यकामा । बजारलाई किनार लगाएर ओरालो झरिरहिछिन् कालीगण्डकी । लोमन्थाङदेखि खेल्दै, छल्दै जोमसोममा फेरि भेट भएको छ कालीगण्डकीसँग । कालीगण्डकीका प्रत्येक बगाईसँगै अनेकौँ जलखेल भेटेँ मैले । शीतल, नरम र सफामा शक्ति हुँदो रहेछ असङ्ख्य । नरममा नै हुँदो रहेछ प्रबल गति । त्यो पुष्टि गरिरहेछ कालीगण्डकीले । भिरबाट खस्दा कल्लोल आवाजमा गाइरहेको भेटें । समथरमा शान्त, शालीन र सभ्य गतिमा भेटें । त्यो जलखेलमा बेग्लै आकृति र अनुमानहरू छन् । फैलिरहेको गतिशील नदी देखेपछि जीवनका सारा उकाली ओरालीहरू सरल, सफा र लाग्न थाल्छन् सहज । नदीको स्पर्श नपाए कहाँ फैलिन्थ्यो होला र लोमन्थाङ, कहाँ रङ्गिलो बन्थ्यो र चराङ, कहाँ उठिरहन्थ्यो र ढाङ्मर, कहाँ गाइरहन्थ्यो र स्याङ्मोचेनले, कहाँ फैलिरहन पाउँथे होलान् र चैलेमा जीवन जगाउने मन्त्रका लुङ्दरहरू, कहाँ जगाइरहन्थ्यो होला कागबेनीले जीवनका मोहक धूनहरूलाई । कालीगण्डकीले एउटा सभ्यता जगाइरहेछ तिब्बतको छेउदेखि भारतको किनारसम्म नै । मेची र कोशी किनारहरूमा जागिरहेको जीवन, नारायणी गण्डकी र वागमतीमा हल्किरहेको मानवहित, राप्ती खोला, सेती, महाकाली र असङ्ख्य नदीहरूले जगाइरहेको मानव सभ्यता कता कता जुर्मुराएर आउँछन् मनका तरङ्गहरूमा । वाणगङ्गाको किनारबाट उठेको कपिलवस्तु सभ्यता, सेती नदीको आडमा उठेको पोखरेली सभ्यता, तिलाले उचालेको जुम्ली सभ्यता, भेरीले जगाएको सुर्खेती, राकम र छिञ्चु सभ्यता सबै पानीको देन रहेछ, सबै जलगतिको गरिमा रहेछ । नाइल सभ्यता, मेकङ सभ्यता, ह्वाङ हो सभ्यता, भोल्गा सभ्यता, स्प्री सभ्यता, राइन सभ्यता, ब्रह्मपुत्र सभ्यता पनि बस्तीको सिउँदो बनेर बग्ने नदीकै हात रहेछ । जलप्रवाह नभए कहाँ सुरम्य बन्थ्यो र जीवन । म कालीगण्डकीवरिपरि हलचल गरिरहेको जीवनदर्शन हेरेर थाक्दिनँ । नदीहरू छन् र पो निरन्तरता हेर्न पाइन्छ प्रकृतिको । समय भन्नु पनि पदार्थको रूप परिवर्तन पो रहेछ ।
कालीगण्डकी त पहाडबाट तलतिर झरिसकेपछिको नाम हो । वास्तविक नाम त मार्चुङ हो । लोमन्थाङमा मार्चुङ नाममै बग्छ कालीगण्डकी । ‘बिहे गरेर ल्याएकी दुलहीको नाम समेत फेरिदिने हिन्दुहरूको मिचाहा संस्कार जस्तो भएको छ मार्चुङको नाम कालीगण्डकीमा बदलिदिएर’—कर्चुङ बहिनी र आङ्गेल भाइले दुःखेसो पोख्नु भएथ्यो हिमाली मार्चुङ नदीलाई कालीगण्डकी बनाइदिएकामा । हुन त नाममा खास केही हुंदैन । तैपनि आफू अनुकूल अर्काको नाम परिवर्तन गरिदिनु पनि मिचाहा प्रवृत्ति हो । मैले सक्कली मार्चुङलाई बग्दै बग्दै कालीगण्डकी बगिरहेको हेरेँ । मन भावुक बन्यो । रचिदिएँ एउटा कविता ।
मार्चुङको आवाज

म यी हिमालहरूको
उज्यालो याद बोकेर दौडिरहेछु
कुनै दिन मेरो जरुरत प¥यो भने
फर्कने छु बेग्लै रूपमा

तिमीहरूले
अलिकति आँसु मिसाइदियौ मेरो पोल्टामा
अलिकति हर्षाश्रु मिसाइदियौ मेरो खल्तीमा
म हिँडिरहँदा
तिमीहरू जीवनको चिसाले
जीवन टोकेको कथा सुनाउँदै थियौ
भिरहरू र नाङ्गा ढुङ्ग्यानहरूले
जीवन चिथोरेको गीत गाउँदै थियौ
बादलका कोलाजहरूले
तिम्रा चिल्थरा र हिउँले खाइसकेका
औँलाका डोबहरू चुमिरहेको बेला
म भने हिंडिदिएँ
तिम्रा सबै दुःखहरू
आफ्नै पोल्टामा समेटेर

निष्कलङ्कित पखेटा फिँजाएर
हिउँसँग जुध्दै गीत गाइरहने
चराका आवाज जस्ता
तिम्रा आवाजहरू बोकेको छु मैले

अथक सेब्रु नाचेर संसार ब्यँुझाउन सक्ने
तिम्रा जाँगरहरू पनि बोकेको छु मैले

बादशाहको आदेश खप्न नसकेर
वा, बादशाहको कठोर आदेश पालना गरेर
घर छोडेर मुग्लान भासिनेहरूको
नियति पनि बोकेको छु मैले

यौवनले मैमत्र यी नाङ्गा पहाडहरू
कति लजालु छन्
तिनीहरूलाई युगौँयुगदेखि चुम्दै हिँडेको छु

प्रश्नैप्रश्नका थोपाहरू छन् मेरो गतिमा
आशङ्का नै आशङ्काका बादलहरू छन् मेरो रङ्गमा
भिर होस् वा ककारो
जङ्घार होस् वा अनकन्टार खोंच
अथवा होऊन् मान्छेका निसास्सिला बस्तीहरू
म सबै सबैको जुलुस बोकेर
समयलाई उछिन्ने उम्मेदमा
आफ्नै बेग्लै रङ्ग देखाउँदै दौडिरहेछु

तिमी मान्छेहरू
एउटा घर चाहिन्छ भनेर भौँतारिइरहेछौ घरी घरी
इमान गरेर, बेइमान गरेर थुपारिरहन खोज्दैछौ
नानाभाँतीका आशा र उमङ्गहरू
जिन्दगीभरि सबैका पीडाहरू सङ्ग्ल्याउँदै
आफू हाँस्दै हिँडिरहन सकियो भने
नयाँ नयाँ प्रदेशमा
किन चाहियो हँ कसैलाई
कतै नहिँड्ने एउटा साँघुरो घर

कहिल्यै थाक्ने मेरो अविराम यात्रामा
साथ देऊ ए मान्छेहरू !
तिम्रा अनुहारबाट
र, गहिरो मनबाट
बिस्तारै ढल्नेछन्
दुःखका हिमालहरू

‘जाऔँ हजुर, बस हिँड्न ठिक्क परिसक्यो’— जोमसोम एयरपोर्टको ढोकाअघिल्तिर च्याप्प समात्नुभयो दोर्जेजीले । लोमन्थाङदेखि जोमसोमसम्म आइपुग्दा धेरै ओटा लोकगीत गाउनुभएथ्यो दोर्जेजीले अघिल्लो दिन । गाडीको छाना थिएन । वरिपरि पनि ह्वाङ्गै थियो । गाडीले उडाएको धुलाले एक अर्कालाई नचिन्ने भएका थियौँ यात्रुहरू । बेला बेलामा टाउको डण्डीमा ठोकिन्थ्यो, बेला बेलामा ढाड बज्रिन्थ्यो, बेला बेलामा यात्रु यात्रुकै टाउको ठोकिन्थ्यो र टुटिलो उठ्थ्यो । दोर्जेजीले घल्लु गाउनुभयो । उहाँ र मैले बाटाभरि अरू गीतहरू पनि गाइरह्यौँ । हाँसो ठट्टा गरिरह्यौँ । राम्रै मित्रता बस्यो हामी दुईको । जोमसोमबाट घासा जाने बसको टिकट पाउन असाध्यै गाह्रो रहेछ । दोर्जेजीले हाम्रो पनि टिकट काटेर सहयोग गरिदिनुभएथ्यो ।
‘अब यो भदौमा हुने यार्तोङ पर्वमा तपाईंलाई मेरो निम्ता है । जसरी पनि आउनु होला । कम से कम पाँच दिनको फुर्सद लिएर आउनु होला । त्यो बेला मेरो गाउँ ताङ्वेमा बसौँला । म ल्हो चोछुन का सबै गाउँ घुमाइदिउँला । लोमन्थाङमा हुने यार्तोङ चाडमा खाउँला, पिउँला, नाचौँला रमाइलो गरौँला ।’ दोर्जेले मेरो मित्रताको सम्मान गर्दै हुनुहुन्थ्यो ।
‘खास के हो यार्तोङ ?’ मैले सोधेँ । ‘यार’ भनेको वर्षा ‘तोङ’ भनेको समाप्ति । वर्षा ऋतु सकिएपछि मनाउने चाड हो यार्तोङ । घोडचढी पर्व हो यार्तोङ । गाउँ गाउँबाट बलिया बाङ्गा घोडाहरू ल्याइन्छन् । घोडा चढ्नेको पोसाक अलि आश्चर्यपूर्ण हुन्छ— रङ्गीन ऊनको छाताजस्ता टोपीहरू । बेग्लै ढपका लुगा कपडाहरू । घोडा र घोडा चढ्ने दुवैले रक्सी खान्छन् । बेजोडसँग दौडाइन्छ घोडा, नाङ्गा पाखाको परपरसम्म हेर्नेहरू जोसले कराइरहन्छन् । दौडनेहरू आँखै चिम्लेर दौडिरहन्छन् । कतिले किच्छन् मान्छेलाई, कति लड्छन् घोडासहित भिर पहिराबाट । गाउँ गाउँबाट मान्छे जम्मा हुन्छन् । खाने, पिउने, खेल्ने, जित्ने हार्ने, कुटाकुट गर्ने, बाटो ढुकाढुक गर्ने सबै चल्छ यार्तोङमा । बहादुरीको पर्व हो यार्तोङ । मैले प्रायः जितेको छु यार्तोङमा । म घोडामा दौडने, तपाईंले ताली पिटेर हौस्याउने, पक्कै आउनुहोस् है’— पटक पटक निम्त्याइरहनुभयो दोर्जेजीले ।
जात्रा मेला भन्नेबित्तिकै झगडा त उठिहाल्छ जहाँ पनि । हाम्रो सहमति रह्यो । अघिल्लो साँझ कर्चुङ बहिनीले पनि बताउनुभएथ्यो यार्तोङको बारेमा । अरू ठाउँको भन्दा भव्य र सभ्य हुन्छ लोमन्थाङको यार्तोङ भन्दै हुनुहुन्थ्यो बहिनीले । लोमन्थाङको बर भन्ने ठाउँमा तिन दिन चल्छ यार्तोङ । मुस्ताङे राजाको घोडा त्यहीँ पालिने भएकाले जात्रा त्यहीँ गर्ने चलन छ । पहिलो दिन राजा आफैँ घोडा दौडाइमा सहभागी हुन्छन्, अरू केटाहरू पनि जान्छन् । दोस्रो दिन रानी र रानीका साथीहरू यार्तोङ हेर्न जान्छन्, तेस्रो दिन लामाहरूले नै घोडा दौडाउँछन् । समूह समूह बसेर रोटी, करु, गुलिया मिठाइहरू खाइन्छ । नाचगानले पर परसम्म डाँडाकाँडा थर्काउँछन् । मान्छेको मन फुर्फुरिन्छ, शरीरमा बेग्लै पूmर्ति आउँछ । हिउँको स्वागत गरिन्छ । मन पनि हिउँजत्तिकै सफा र सेतो बनोस् भन्ने कामना गरिन्छ । बेलिविस्तार लगाउनुभएथ्यो कर्चुङ बहिनीले ।
झैझगडा, कुटाकुट, रक्सीको रन्को — यस्तो पर्व त अब फेरिनुप¥यो नि — त्यति मन नपरेको भाव व्यक्त गरेँ मैले दोर्जेजीलाई । सन्दर्भमा नयाँ कुरा पत्ता लगाउनु छ भने फरक कोणबाट प्रश्न गर्नुपर्छ भन्ने लाग्छ मलाई ।
‘यस्तो होइन, धर्मको नाममा मनाइने मेला पर्व र चाडबाड भने रोकिनुपर्छ अब । देवताको नाममा केही मान्छेले ठगी गर्ने, देवताको नाममा शक्तिशालीले शक्तिहीनलाई शोषण गर्ने, बलात्कार गर्ने अनि त्यसैलाई पर्व भनेर मनाउने । अहिलेसम्म देवता भनेको कुन पात्र बदमास छैन ? को देवता छैन घृणा नगर्न पर्ने ? मलाई बताउनुस् त । रामलाई मर्यादा पुरुष भनियो तर उसैले ग¥यो सीताको अपहेलना । रामले देशका लागि होइन व्यक्तिगत स्वार्थका लागि र आफ्नी पत्नी सीता मुक्त गराउनका लागि युद्ध ग¥यो । नत्र तेह्र वर्ष चुपचाप बस्नुको के अर्थ ? रावणलाई युद्धकलाले कहाँ जित्यो र रामले ? रावणको भाइ विभीषणलाई रावणको गद्दी र रावणकी रानी मन्दोदरी दिने प्रलोभन दिएपछि रावणलाई झुक्याएर मारियो । कृष्णले भाइ भाइको युद्ध गराए । आफ्ना सेना कौरवलाई दिए । आपूm निहत्था पाण्डवको पक्षमा रहे । आदर्श भनिएका व्यक्ति नै छल, कपट र कुटनीतिबाट विजय हुन्छन् । हामी उनीहरूलाई नै आदर्श मान्छौँ र उनीहरूको पूजा गर्ने पर्व मनाउछाँै अनि कहाँ हुन्छ समाजको उन्नति ? त्यसैले धार्मिक होइन यार्तोङ जस्तो वीरताको पर्व मनाउनुपर्छ, हत्या हिंसा कुटपिट त समाज सभ्य पएपछि आफैँ हट्ने कुरा हुन् ।’ दोर्जे पनि आफ्नो विचार राख्न खरो रहेछन् ।
दोर्जेको विचार सुन्दा मुक्तिनाथको यार्तोङ र लोमन्थाङको यार्तोङ दुवै हेर्ने इच्छा जाग्यो मनमा । आखिर ती विशाल नाङ्गा पाखाहरूमा घोडा दौड नै त हो स्थानीय मनोरञ्जन ।
बिहान ७ बजे जोमसोमबाट हिँडेका हामी दस बजे घासा पुग्दासम्म बोलेर थाकेनौँ । अघिल्लो दिन लोमन्थाङबाट जोमसोम जाँदाका नौ सहयात्री त्यही बसमा रहेकाले गफको सिलसिला अगाध मित्रतातिर मोडिएको छ । एक भाइ लद्दाख जाँदै हुनुहुन्छ । त्यहीँ कपडा पसल रहेछ उहाँको ।
‘जन्मने, हुर्कने, काम गर्ने र मर्ने केही ठेगान हुँदो रहेनछ । लोमन्थाङमा जन्मिएर लद्दाख पुगियो । त्यहीँ बिहे गरियो । छोरा छोरी जन्माइयो । गाउँको माया यता लाग्छ, ठाउँको माया उता लाग्छ । आखिर माया, डर र आश मात्रै त हो रहेछ नि जीवन’ — नोरग्यान लामा भाइले पनि निम्ता दिनुभयो मलाई लद्दाख घुम्न ।
इच्छा हुँदाहुँदै अधुरा बन्दा रहेछन् आमन्त्रण । सोचेको सबै ठाउँमा कहाँ पुग्न सकिन्छ र ? कति ठाउँ पाइलाले टेकेर, कति ठाउँ आँखाले हेरेर र कति ठाउँ मनैले सोचेर चित्त बुझाउनुपर्ने रहेछ ।
सल्लाघारीको सुसाइ मिठो लाग्दैछ । काला चराहरू ठुलो डाँकाले हर्कादैछन् ससाना चिरबिरेहरूलाई । सिमसिम पानी र घामको जवानी दुवै मिसिएर खसेका छन् फापर बारी र मकै घारीहरूमा । गाडी अब त्यतै रोकियो घासामा । भिज्दै भिज्दै रुप्से नाघ्यौँ । भिज्दै भिज्दै संसारकै गहिरो अन्धगल्छी छोड्यौँ । हरिया जङ्गलहरू, निला पहाडहरू र सेता हिमालहरूको लहरमा फक्रेको छ पवित्र प्रेम । प्रेमिल गोरेटामा प्रेमका आँकुरा, पात र हाँगाहरू सुमसुम्याउँदै हिँड्न पाउँदा थकाइ लाग्दैन । बाटो अप्ठेरो बन्दैन । सँगसँगै समानान्तर फालहाल्दै ओर्लिइरहेको कालीगण्डकी कतै कञ्चन छिन्, कतै सुनौली र कतै चाँदीकी चलमली जस्ती । उनको रूप, चाला र सुसाइले ब्युँझाइरहन्छ हाम्रो प्रेमिल आस्था र विश्वासलाई । पर पर गोठाला गोठालीहरू गाइरहेछन्—
‘सिरीमा सिरी नि कान्छा बतासै चल्यो
बाबरी फुलको बासना, सुन मेरो निर्माया
मायालु आयो नि कान्छा फालै र हाल्दै
नबोले पनि हाँस न, सुन मेरो निर्माया’
घासामा बसबाट ओर्लेर तितरबितर बनेका यात्रुहरू तितर भन्ने ठाउँमा भने जुटेका छन् । सानो गाउँले बजार छ तितर । त्यहीँबाट बेनीसम्म बस चढ्न पाइन्छ अब । तितर बजारको भित्तापट्टि ढुङ्गे बिसौनीमा लहरै भारी बिसाइ रहेछन् भरियाहरूले । प्वाँ प्वाँ र पुँ पुँ गर्ने बस र बोलेरोहरू पनि छेउकुना जोत्ने गोरु झैँ मोडिदैछन् । खच्चरका पिठ्युँ पिठ्युँमा नुन र चामल बोकाउँदैछन् एक हूल मान्छेहरू ।
‘भात खाने भए यता चाउचाउ खाने भए उता’— तितरको भारी बिसौनीमा बसिरहेका हामीलाई बोलाए एक भाइले ।
‘साहु त एउटै हो नि होइन भाइ ?’ मैले प्याच्च सोधेँ ।
‘त्यो त हो’– भाइले जवाफ दिए ।
‘अर्थात्, हामीले जे खाए पनि व्यापार एउटैको’— हामी हाँस्यौँ । भाइको र मेरो कुरा अरू थपियो ।
‘ए भाइ, यी साहुजी मास्टरजी हुनुपर्छ हो ?’
‘हो, उः त्यही पारि गाउँको स्कुलमा ।’
‘नेता पनि हुनुपर्छ हो ?’
‘हो, एमाले गाउँ कमिटीको अध्यक्ष ।’
‘एन.जी.ओ. पनि होला उनले खोलेका ।’
‘छ नि उः त्यही साइनबोर्ड हेर्नूस् न !’
ग्रामीण विकास केन्द्र, तितर लेखेको साइनबोर्ड थियो त्यहाँ ।
‘अरू कपडा पसल, खाद्यान्न पसल पनि होला उनको ।’
‘छ त्यो कपडा पसल, त्यो खाद्यान्न पसल ।’
‘गाडीहरू पनि छन् कि ?’
‘बस दुई छन्, दुवै बेनीदेखि तितरसम्म चल्छन् ।’
दुर्गम जिल्लाहरूको हविगत हो यो । एक जना र एकै परिवारको हातमा हुन्छ प्रायः आर्थिक आर्जनको साँचोमुचो । जिल्लामा सरकारी गैरसरकारी जे जस्ता कार्यक्रम लगे पनि उनीहरूकै पहुँच हुन्छ । जिल्लाका सोझासाझा जनता त उनीहरूकै लागि काम गर्दछन्, आपूmले उत्पादन गरेको अन्न अनाज र खोजेको जडीबुटी र प्राकृतिक स्रोत उनीहरूलाई नै कौडीको मूल्यमा सुम्पन्छन्, उनीहरूलाई नै नेता, उनीहरूलाई नै अभिनेता, उनीहरूलाई नै दाता, उनीहरू नै ज्ञाता सबै बनाउँछन् । आपूm भने उनीहरूकै भरिया बनेर जीवन कटाउँछन् ।
‘ए, ए, ए… आयो, आयो भाग, भाग’— वरिपरिका र पारिपारिका कराउन थाले । हामीनजिकै बिसौनी ढुङ्गामा बसेकाहरू बुर्कुसी मारे परतिर । हामीले पनि बुझ्दै नबुझी फड्कियौँ पल्लो डिलतिर । मास्तिरबाट झरेको खच्चरले झन्डै कुल्चिएको उता । बडेमाको ढुङ्गा ड्वाङ् ड्वाङ् ड्वाङ् आयो र हामी बसेकै ठाउँ नाघेर अघिल्तिर लम्पसार प¥यो । झन्डै हामी पाँच जनाको एकै चिहान भएको । माथि भिरमा चरेको खच्चरले ढुङ्गा लडाइदिएको देखेपछि कराएका रहेछन् सबै जना । ज्यान बाँचेकामा बधाइ साटासाट ग¥यौँ ।
क्षण क्षणमा खतरा छलेर बाँच्नुपर्छ पहाडमा
क्षण क्षणमा पहरा फोरेर बाँच्नुपर्छ पहाडमा
पहाडमा बाँच्नु त पहाड नै बनाउनु हो जीवनलाई
कन्दरा, कान्ला, करेसा, कल्लिन जतासुकै केही थुङ्गा प्रेमिल फुल नफुल्ने हो भने, भिरबाट झरिरहेको ढुङ्गा र पानीले छोडेको बगरबाहेक केही बन्दैन जीवन, पहाडमा ।
मैले एउटा कविता सुनाएँ । पहाडले हरियो र भरिलो पहाड बनेर सुनिरहिन् मेरो कविता । तितरमै फुलिरहेको कलेजी रङ्गको लाहुरे फुलमा आस्था मिसाएर चढाएँ मैले पहाडलाई ।
हामीले हरियो मकै खोज्यौँ, पाएनौँ । रोटी खोज्यौँ, पाएनौँ । गाउँतिरै फलेको फर्सीको मुन्टा वा हरियो तरकारी खोज्यौँ, पाएनौँ । ढिडो खोज्यौँ, पाएनौँ । आखिर न्युट्रिनगेटको झोलसँग एक एक प्लेट भात खायौँ र भोकलाई सुमसुम्यायौँ ।
‘लौ है । बेनी जाने गाडीको लगाम खुल्यो, जानेजति चढ्नुहोला, नजानेजति यतै लड्नुहोला’— ढोल पिटे झैँ बसको पुच्छरमा हान्न थाले कन्डक्टर भाइ ।
‘बस छुट्यो भने त छुटिन्छ यतैतिर’— वास्तविकता बुझ्दै जुठो हातसमेत राम्रोसँग नपखाली खानाको पैसा ति¥यौँ र दौडियौँ हामी बसतिर । हामी खाना थप्न चाहन्थ्यौँ । बस हिँडिहाल्न लागेपछि खाना थपिरहन सम्भव भएन । होटलवाला र बसवालाको अपवित्र गठबन्धन हुँदो रहेछ त्यसमा । खाना पाक्दैछ, पख्नुस् भनेर ढिला खाना खुवाउन सुरु गर्ने, प्लेटमा दुई चार पटक हात पर्नेबित्तिकै गुरुजीले बसको हर्न बजाइहाल्ने र ढ्याँइ ढ्याँइ ढुँई ढुँई गर्न सुरु गरिहाल्ने । त्यसपछि चारा हुल्नै नपाएका बिचरा यात्रुहरूसँग पैसा असुल्यो र बिदाइ ग¥यो ।
अक्करमा पारेर पैसा कमाउने संस्कृति, जताततै फस्टाएको छ अचेल हाम्रो देशमा ।
पोटाएको सयपत्री थुङ्गामा चाङ लागेका पत्रहरू झैँ ठेलमठेल कोचिएका छौँ बसभित्र । बसभित्र विदेशी छन्, बुढाबुढी, केटाकेटी र बिरामीहरू पनि छन् ।
ढलपल ढलपल गर्छ बस । क्षणमै घुसमुटियो जस्तो गर्छ । क्षणमा डिल भत्किइसकेको डिलमा आधा चक्का गुडाउँछ । घरी सुर्का नाघ्ने गोरु झैँ बुद्रुक्क उफ्रिन्छ । घरी तराईको पिच सडकमा झैँ हावा जसरी कुलेलम ठोक्छ । यात्रु सजीव हुन् कि निर्जीव हुन् चालक र सहचालकलाई मतलब छैन । विदेशी यात्रुहरू जिब्रो काढ्छन् । डन्डी समाउँछन् । अनुहार रातो पार्दछन् । पुर्पुरो समाउँछन् । पिँजराभित्रको सुगा भएका छन् बिचराहरू । ‘नखाउँ दिनभरिको सिकार, खाउँ कान्छा बाबुको अनुहार’ भएपछि के गरून् त बिचराहरूले ।
‘भोकमा पाइनँ मकैका ठेला
बैंसमा पाइन पोइ
सब इष्टमित्र पराइ बने
बाहिर छौ कि कोही ?’
लगातार गाउन थाल्नुभयो अघिल्लो सिटमा बसिरहनुभएका दाइ । काखमा छन् सानु बाबु । कहिले गाउने, कहिले हँसाउने गर्दा सबै यात्रुको ध्यान त्यतै मोडिएको छ ।
‘दाइको नाम के हो नि ?’
‘के.बी.आर.जे.एम ।’
‘ओहो, नौलो नाम रहेछ नि कबरजम ।’
‘कबरजम होइन कुलबहादुर रामजाली मगर क्या ।’
‘अस्ति घासातिर जान बेनीमा बस चढेको थिएँ ।’ एउटी बहिनी चढिन् ।
भनिन्— ‘प्लिज मलाई सिट छोडिदिनुस् न, म गर्भवती छु ।’
मैले सिट छोडिदिएँ ।
भनेँ— ‘बहिनी, तपाईं गर्भवती जस्ती त देखिनुहुन्न ?’
‘भर्खर एक घण्टा भो गर्भवती भएको, अनि कहाँ देख्नुहुन्छ त ?’
‘म त बोल्नै सकिनँ ।’
नाम सोधेको चुट्किला भनिहाल्नुभयो कुलबहादुर रामजाली दाइले । यात्रामा भेटेको जोसुकैसँग बोलिहाल्ने र जीवन दर्शन खोतल्ने बानी छ मेरो ।
म्याग्दीको दानामा घर भएका कुलबहादुर दाइको पनि जीवन कोट्याउँछु म । हामी दुईको चम्की चम्की गफिने बानीले हँसाएको छ सहयात्रीहरूलाई ।
‘बिन्दास बाँच्छु जिन्दगीका सबै क्षण’— बिन्दास शैलीमै बोल्नुभयो दाज्यु ।
‘आफैँले मन पराएर बिहे गरेकी स्वास्नी हँसिली, रसिली र भरिली थिई । ऊ त मेरी मात्र होइन सबैका लागि रसिली परिछ । सात वर्षअघि एउटा पर्वतेसँग पोइल गई । मेरो त पीडाको पोको नै रित्तियो । तिन छोरा र एक छोरी छन् । छोरीलाई क्याम्पस पढ्न काठमाडौँ राखिदिएको थिएँ । लिभिङ टुगेदर केटा हो भन्थी । बच्चा पाइछ । अचेल दुवै दुबईतिर काम काम भनेर दौडिएका छन् । एउटा बिस वर्षे छोरा साउदीमा साग रोप्छ । अर्को अठार वर्षे छोरा इराकमा अङ्गुर निचोर्छ । म बेनीको होटलमा बन्दा काट्दै कुक काम गर्छु र यही छोरालाई पाल्छु । अहिले नौ वर्षको भयो यो । सोर नाघेपछि यो पनि जाला कतै । बल्ल स्वतन्त्र हुन्छु म । परिवार होइन परिभार हो बुझ्नु भो’ । एक्लै जन्मेको मान्छे, परिवार इष्टमित्र भनेर अल्झिइरहने होइन क्या, एक्लै फुर्फुरिदै हिँड्न जान्नुपर्छ चरा जस्तै । आखिर जिन्दगीमा सुखदुःख जे भए पनि भोग्ने आफैँले हो । दुःखमा सबै भाग्छन् । दुःखमा को सहयोगी बन्छ र ? सुखी बन्यो भने सबैभन्दा रिस र डाह गर्ने आफन्त नै हुन्छन् । कसैको परवाह नग¥यो, मस्ती ग¥यो, अघि बढ्यो । यस्तै लाग्छ मलाई त’— दाइका कुरामा राम्रै दर्शन देखियो ।
‘गाडी छोडिदिऊँ, तातोपानीमा डुबूँ, साँझ रमाइलो गरुँला तातोपानी बजारमा’— दाइको आग्रह ।
रमाइलो गर्ने उपाय त राम्रै हो, लक्ष्य तोडेर जताततै मोडिन पनि भएन नि !
चौसठ्ठी सालमा पार्वती, दीपेन्द्र, प्रसून र म मुक्तिनाथ पुगेर झरेका थियौँ । तातोपानी कुण्डमा दिनभर डुब्ने, साँझ तातोपानी बजारमा रमाएर जूनसँग जिस्किने, योजना थियो हाम्रो । कुण्डमा डुब्नेबित्तिकै पाँच लुटाहाको घेरामा परियो हामी । तिनीहरूले हाम्रैअघिल्तिर तिन भेडा बाटाबाट खसालेर लुटेका देख्यौँ हामीले । तातोपानी बजार माथिदेखि नै हाम्रो पिछा गरेथे । तिनीहरूले हाम्रा झोला झ्याम्टा तान्न थाले । सिक्री र औँठी खोस्ने सल्लाहको सुइँको पनि पायौँ । पोखरीमै तिनीहरूलाई देखेपछि हामी कुलेलम ठोक्यौँ एक एक अञ्जुली गन्धके पानी पिएर ।
कता कता विस्मृतिको त्यो चित्र चम्कियो मनमा, तातोपानी बजार भेटिएपछि ।
बजारमा बस रोकियो । काँचो नरिवल, काँक्रो, पानी र चना चटपटे बेच्ने भैयाहरू कराउँदै पसे बसभित्र । एउटी स्यानी नानीले बेचेको भाँगो किने धेरै यात्रुहरूले । उपभोक्ता मानसिकता गजबको हुन्छ । एक दुईले किन्न सुरु गरेपछि हारालुछ चल्छ सबैबाट ।
त्यहीँबाट चढे एक पण्डित । पर्वत पाङ गाउँ रहेछ उनको । जजमानहरू त्यतासम्म रहेकाले हरेक दिन पूजा पाठ गराउन, पितृकार्य र कर्मकाण्ड गराउन तातोपानी पुग्नै पर्ने बाध्यता बताए उनले । उनको निधारमा ठुलो अबिरे टिका थियो । एउटा मैलो ढाका टोपीबाट एउटा मोटो टुपी सर्प झैँ झुन्डिरहेको थियो । कोगटीको कमिज सुरुवाल लगाइरहेका उनको हातमा सेतो कपडाले बेरेको गह्रुङ्गो पोको थियो । गाडीमा चढ्नेबित्तिकै पण्डितजीले सबैको अनुहारमा हेरे । मानौँ, उनले हेरेपछि अदबसाथ जोसुकैले सिट छोडिदिन्छन् । कसैले टेरेन । उनी एक हातले डन्डी समातेर उभिइरहे र अरूलाई सुनाउँदै बोले—
‘कर्पुर गौरं करुणावतारम्
संसारसारं भुजगेन्द्रहारम्
सदा रमन्तम् हृदयारविन्दे
भवम् भवानी सहितम् नवामी’
‘ए बाजे, के भुतभुताएको त्यस्तो ? अब मन्त्र भटभटाएर अरूलाई छकाउने दिन गए’ मगर दाइ बोल्नुभयो ।
‘राम राम, के भन्नुभएको त्यस्तो, देवता खुसी पार्ने मन्त्र पढ्दा निन्दो चर्चो गर्ने ? अहिले देवता रिसाए भने’— पण्डित बोले ।
‘देवता नै छैन अनि के रिसाओस्, रिसायो भने के गर्छ तपाईंको देवताले ?’ दाइ खुलस्त बन्नुभयो ।
‘देवता रिसाए वा खुसाए भने जे पनि गर्न सक्छन्’— पण्डित ।
गाडी गुड्दैछ । वादविवाद बढिरहेछ । ‘लौ त यो गाडी रोक्न लगाउनुहोस् देवतालाई । अहिले नै पानी पार्न भन्नुहोस् तपाईंको देवतालाई । तपाईं श्राद्ध गराएर आउनु भएजस्तो छ । मरिसकेपछि के पाउँछ र कसैले । श्राद्ध गराउने नाममा ठग्ने काम नगर्नूस् । पितृले खान्छ भन्ने, पण्डित आफैँले खाने, यो कहाँको धुत्याई हो तपाई ब्राह्मणहरूको ?’
‘राम राम त्यसो भन्न मिल्छ, परम्परादेखि चलिआएको चलनलाई । श्राद्ध कर्मले नै उद्धार भएको छ हाम्रा पितृको ।’
‘हिन्दुबाहेक अरू धर्मका पितृका लागि श्राद्ध गरिँदैन, उनीहरूलाई के फरक परेको छ ? हिन्दुको कुन पितृले मलाई छोराले दिएको पिण्ड खाएँ भनेको छ, यो सब ब्राह्मणको खाने दाउ हो बुझ्नुभयो ।’
‘हेर्नूस् धर्मकर्मको विरोध गरेकैले संसारमा दुःख बढेको छ । तपाईंले यहाँ श्राद्ध गरिदिनुभएन भने उहाँ तपाईंका मरेका बा आमा भोकै पर्छन् । बा आमाले रुचाउने खानेकुरा पण्डितलाई खुवाउनुभयो भने उहाँ उनीहरूले पाउँछन् क्या, शास्त्रमा लेखेको कहीँ झुठो हुन्छ ?’
‘हो, तपाईंहरू जस्ता ठग पण्डितहरू भएर यो संसार बिग्रिएको हो । श्राद्धमा यसरी खुवाउँदा झन् धर्मकै मर्यादा नाश हुन्छ । बाँचुन्जेल बा आमालाई वास्ता नगर्ने मरेपछि भोज, गोदान, शैयादान गर्नुको के औचित्य ? विनाविचार दान दिनु संसारमा अल्छी र निकम्माहरूलाई प्रोत्साहन दिनु मात्र हो । यदि पूर्वजको यादमा खुवाउने पियाउने हो भने भोका नाङ्गा, अपाङ्ग र अशक्तलाई नदिई ब्राह्मणलाई नै ख्वाउने किन ? मृत शरीर जलाइसकेपछि हातमुखको अभावमा उसले खीरपुरी कसरी खान्छ । यदि आत्माले खान्छ भन्ने हो भने आत्मा त न जन्मन्छ न मर्छ भन्नुहुन्छ तपाईंहरू । मेरा बालाई जाँड असाध्यै मन पथ्र्यो । बाको श्राद्ध गरेर उहाँलाई मन पर्ने जाँड बेस्सरी खुवाउन चाहन्छु म तपाईंलाई, खानुहुन्छ ? कसैका बा आमाको लत गाँजा भाङ खाने होला, उनीहरूलाई मन पथ्र्यो भनेर श्राद्धको दिन त्यही खुवाउने । यस्तो बकवासको काम बन्द गर्नुपर्छ अब तपाईंहरूले ।
धमिलो सङ्ल्याउँदै फालहालिरहेछ कालीगण्डकी । मन माझ्दै ओह्रालो झर्दैछौँ हामी पनि । अक्क न बक्क बने पण्डितजी । बेनी जान बस चढेका पण्डितजी तिप्लाङमै झरे । यात्रामा कहिलेकहीँ थेग्नै नसक्ने वादविवाद पर्छ, आफ्नो अडान र इज्जत धान्न धौ धौ पर्छ । तर्क र प्रमाणविना अबको समय टिक्दैन । म र मेरा मित्रहरूले मगर दाइकै तर्कमा अचार र नुन थपिरह्यौँ ।
निन्याउरो अनुहार लिएर तिप्लाङ बजारमा ओर्लेका पण्डितजी हामी बसमा नछेकिउन्जेल पोको बोकेर यता उता गरिरहेथे । उनको निरीहता देखेर दया पनि लाग्यो ।
‘के गर्नु बाजे बराजुको जीविका यसै गरी चल्यो । मेरो पचपन्न वर्षे उमेर कर्मकाण्ड गरेरै बित्यो । विश्वास त आपूmलाई पनि त छैन नि । यस्तो पेसा गर्दिनँ भने पनि सुख्ख छैन, बोलाउन आइहाल्छन् । छोरालाई त मरिगए लगाउन्न यस्तो पेसामा’— भँगेरा मार्न सजिलो तर भुत्ल्याउन गारो भएथ्यो पण्डितजीलाई ।
गलत पेसाको जीविका, क्षणमै भस्म क्षणमै महादशा । साँचो कुरा हो यो ।
अलल्ले कालीगण्डकीको आवाज चर्कै छ । धमिलो छ, छालिलो छ र हतार गरेको छ सङ्लिन । बेनीमा पुगेपछि म्याग्दी खोला र कालीगण्डकी एकै ठाउँमा मिसिए । कति मजाका हुन्छन् नदीहरू । छुट्टाछुट्टै उर्लेर हिँड्छन् तर अरूलाई भेट्नेबित्तिकै एकै बन्छन्, एकै भन्छन् । उनीहरू बिचमा न बेरङ बाँकी रहन्छ न बेमेल । दुवै एकै बनेर अनन्तसम्म बढाउँछन् वेग । हामी मान्छेहरू अरूसँग भेटियौँ भने कर्कसा बन्न थाल्छौँ, काँडा बनेर घोच्न थाल्छौँ । प्रेम पनि यस्तै हुनुपर्छ दुई मिलेपछि एक बन्न पर्ने र सङ्लिदै सङ्लिदै बगिरहनुपर्ने अनन्तसम्म ।
बेनीमा बस रोकिएपछि हामी आफ्नै कारमा पोखरातिर फर्कियौँ । सोनम बहिनी र टासी बहिनी पनि हामीसँगै फर्किए । लोमन्थाङदेखि पोखरासम्म पुग्दा बान्ता नभएकामा खुसी थिए ती बहिनीहरू । हेम्जा गुम्बा अघिल्तिर ओर्लिए उनीहरू ।
‘कति पैसा दिउँ भाडा ?’ सोधे ।
‘पर्दैन यो हाम्रै कार हो’— हामीले भन्यौँ ।
‘हुन्छ, त्यसो भए ।’ सरासर गुम्बातिर लागे उनीहरू । ‘जाऔँ है’ पनि भनेनन् । कति सिधा रहेछन् तिनीहरू ‘धन्यवाद’ सम्म नभनी हिँडे ।
सिमसिम पानी बर्साउँदै स्वागत ग¥यो पोखराले हल्लन चोकमा हामीलाई ।

हल्लन चोक, पोखरा, कास्की
२०७१ असार १८ गते, बुधबार

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्