प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन आजदेखि शुरु

मोरङ – प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन आजदेखि शुरु हुँदैछ । सत्तारुढ पार्टीभित्र देखिएको शक्तिसंघर्षले प्रदेशको राजनीतिलाई समेत प्रभावित पारेको बेला प्रदेश १ को अधिवेशन शुरु हुन लागेको हो ।

यसैबिच प्रदेशसभा अधिवेशनका लागि रणनीति बनाउन सत्तारुढ नेकपाको दुवै समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छुट्टाछुट्टै बैठक बसेको छ ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव तथा संसदीय दलले प्रदेश सांसदहरुलाई कारवाही गरेको अवस्थामा नेकपा दुवै पक्ष र नेपाली कांग्रेसको बैठक बसेको हो ।

नेकपा भित्रको विवादका कारण प्रदेश सभा अधिवेशन संचालनमा अन्यौल र आशंका उत्पन्न भएका कारण पनि सत्तारुढ दल नेकपाको दुबै समूह र प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रदेश सभा अधिवेशनको उद्घाटन सत्रमा सबै दलका नेताहरुले शुभकामना मन्तव्य मात्र राखेर बैठक अन्त्य गर्न आग्रह गरिने नेकपा प्रचण्ड माधव समूहका प्रदेश १ सहइन्चार्ज राजेन्द्र र्राईले जानकारी दिनुभयो ।

प्रदेशसभा भवनमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभा अधिवेशनलाई नियमित र शान्तिपूर्वक सूचारु गर्नुपर्ने र यसका लागि सभामुखले प्रमुख भूमिका खेल्नुपर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले जानकारी दिनु भयो । यसैबीच प्रदेश सभा भवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्