कठोर शिला खोपेर भुवा झैँ चल्छ जीवन

लजालु लोमन्थाङ
दामोदर पुडासैनी किशोर

मध्य एसियाको उष्ण उपत्यकामा चल्मलाइरहेछ जीवन । तिब्बतको पठारमा पुगेर लडीबुडी खेल्ने मन छ । हिमराशमा जीवन सेकाएर नवजीवनको मजा लिने मन छ । हिमालहरू चम्किला आँखाहरू बिछ्याउँदैछन् पर परदेखि । हिमवायुले चुमिरहेछ शिरदेखि पाइलासम्म । हिमजलको स्पर्श छ पँधेराहरूमा, कुलाहरूमा र नदीहरूमा । हिउँकै लेदोमा ब्युँतिएर बुर्कुसी मार्दैछ अलि पर कालीगण्डकी ।
‘छु… छुस्… छु… छुस्…’ गोठालाहरू भेडा धपाउँदैछन् । हामी लोमन्थाङ बसपार्क अघिल्तिरको ठुलो ढुङ्गामा बसिरहेछौँ । जमिन नै थर्थराउँदै हिँडे झैँ देखिँदैछ चलायमान भेडाका बथानहरूको । हूल हूल घोडाहरू निस्किदैछन् लोमन्थाङ सहरबाट । खच्चडका ताँती धुलो उडाउँदै बस्तीबाट निस्किन्छन् र चर्दै चर्दै चरनतिर फैलिन्छन् पर पर क्षितिजसम्म ।
‘एमे ले ले
एमे ले ले
लाइ झुम्प्या गारी चिम्या
एमे ले ले’
पशुहरू धपाउँदै त्यस्तै त्यस्तै शैलीमा गाउँदै हिँडिरहेछन् गोठाला गोठाल्नीहरू । भाषा नबुझेकाले गीतको पुरा बोल बुझ्दैनौँ हामी । कतिपय गोठाला गोठालीहरूको एक हातमा लठ्ठी र अर्को हातमा मुगामाला छ । उनीहरू क्षणमै पशुहरूलाई हर्काछन्, पिट्छन् र क्षणमै जप्न थाल्छन् ‘ओम मणि पद्मे हुँ ।’
‘एक हातमा बुद्ध, अर्को हातमा बम’— देख्दैछु उनीहरूको चालामालामा ।
गोली हान्ने हात र गोली छेक्ने छाती दुवै छन् मान्छेसँग, त्यसैले हिँडिरहेछ मान्छे मान्छे बनेर ।
मिर्मिरे उज्यालोलाई अझ धुमिल बनाउन खोज्दैछ कुहिराले । भुसभुसे पानीले भिजाउने होइन ताजा पार्दैछ शरीरलाई ।
‘ए… ए … ए… लौ न, मा¥यो’– ढुङ्गाबाट ब्वाङ्ङ हामफाल्नु र पाँच याक हुर्दुरिंदै त्यहाँ पुग्नु एकै पटक परेछ । झन्डै आन्द्राभुँडी छिल्लबिल्ल पारिदिएका पड्केहरूले । काँसको झाँङ झैँ झुस्स रौँले ढाकिएका छन्, घना बाँसको बराठिएको तामा जस्तो आकाश छेडुँला झैँ डरलाग्दा सिङहरू हल्लाइरहेछन्, घाँटीमा झुन्डिएको घन्ट ट्याङट्याङ टुङ्टुङ गरिरहेछ । तिनको एक सिङले मात्र जिउमा छुने हो भने सिद्रा बनाउन उनेको सिल माछा बन्नेछ ज्यान । म बुद्रुक्क बुद्रुक्क उफ्रेर चढ्न खोज्छु ढुङ्गामाथि । ढुङ्गामा न समाउने चुच्चो छ, न टेक्दा अडिने खुट्किलो छ । चिप्लो शालिग्रामको दाइजस्तो ढुङ्गामा चढ्ने र झर्ने मेरो क्रममा डरले बेस्सरी उफारिरह्यो । मेरो डर, डर नै थियो । ती सुधा याकहरूले फुँसम्म गरेनन् । ढुङ्गामाथि राखेको ब्याग ढल्यो बाटामा र कुल्चाइमा प¥यो याकहरूको । ‘ए छाम छाम् तेरो मुटु कहाँ होला र ज्यानमा, खस्यो होला त्यतैतिर । जाबो याकदेखि त्यस्तो आत्तिने ! म त अहिल्यै पाँच याक र पाँच घोडा पुक्लुक पुक्लुक ढालिदिन्छु’— अलि पर भिडमा उभिएका मध्ये एक दाइले जिस्क्याउनुभयो मलाई । गलल्ल हाँसो फिँजियो परसम्म । ठोकिएको पिठ्युँ सुमसुम्याउँदै रुञ्चे हाँसो हाँसे म ।
पूर्व उत्तर न्यानोलतिरको डाँडोबाट घाम ओर्लनेबित्तिकै लोमन्थाङ पर्खालबाहिर बस बिसौनीमा टुप्लुक्क झुल्कियो जिप । हामीले प्रतिव्यक्ति पन्ध्र सय रुपियाँ दरमा चैलेसम्म टिकट किनिसकेका थियौँ । सबै यात्रुहरू तँछाडमछाड गर्दै जिपभित्र छिर्न खोज्यौँ । यातायात समितिका मान्छेले ढोकै खोलिदिएनन् । टिकट काटे पनि समितिका मान्छेले जुनमा भने त्यही सिटमा बस्नुपर्ने रहेछ । घचेटाघचेट गर्दा हिमरस बगेको कुलोमा गाडिए मेरा दुवै खुट्टा । पिइहालूँ झैँ कञ्चन थियो पानी तर चिसोले कुटुकुटु टोकिरह्यो धेरै पछिसम्म ।
जिप रोकिएको केहीबेरमै मान्छेको ताँती थुप्रिन थाल्यो लोमन्थाङ बसपार्कमा । बसपार्क भन्नु मात्र । सडक छेउमा एउटा स्यानो आँगन जत्रो छ बसपार्क । दिनमा एउटा मात्र जिप चल्ने लोमन्थाङमा त्यति धेरै मान्छे किन जम्मा भए होलान्— बेलायती नागरिक डानियल स्टुरिज र म दुवै चकित भयौँ । पन्ध्र सोर वर्षकी युवती उभिएकी छिन् बैंसको रुखछेउ । स्थानीय सांस्कृतिक पोसाकमा परीजस्तै देखिएकी छिन् तिनी । हजारौँ सङ्ख्याका मान्छेहरूले खादा ओडाइरहेछन् । आशीर्वाद दिइरहेछन् । हातमा नोटहरू थमाइरहेछन् ।
‘ओहो, जीवित देवी भनेको यिनै हुन् कि कसो ? के विधि सम्मान, के विधि दक्षिणा !’ चकित छन् डानियल । म पनि चकित छु ।
सँगै बसेकी छाक्पा छोम्जुङ दिदीसँग सोधेँ मैले ।
‘यिनी मुस्ताङे राजा जिग्मे परवल विष्टकी नातिनी साइनो पर्छिन् क्या । यसपालि एस.एल.सी. पास गरेकी, क्याम्पस पढ्न काठमाडौँ जान लागेकीले सबैले बिदाइ गरेको ।’ लोमन्थाङवासी आपूmलाई एउटै परिवारको मान्दा रहेछन् । सुखदुःखमा सबै मिलेर सुखदुःख साटासाट गर्ने ।
सबैको बिदाइ बोकेर सोनाम बहिनी गाडीभित्र छिरिन् । खरखरी गनिन् नोट ।
‘बहिनी, कति भएछ ?’ नसोधेको भए पनि हुन्थ्यो; सोधेँ ।
‘तिन लाख छत्तिस हजार’— नढाँटी जवाफ दिइन् बहिनीले ।
दिने मामलामा मनकारी रहेछन् लोमन्थाङवासीहरू । गाडी गुड्यो लोमन्थाङ बजारबाट ।
लामो यात्रामा गाडी पनि एउटा घर जस्तो बन्छ । त्यसभित्रका यात्रुहरू एकै परिवार जस्तो ।
हामी चढेको गाडीमा दुई विदेशी र दस नेपाली छौँ । अब बिस्तारै परिचय सुरु हुन्छ । भाषाको कुरा चल्छ । संस्कृतिको कुरा चल्छ । आत्मीयता बढ्छ ।
मार्चुङ नदीलाई बायाँ पारेर कुद्दैछ हामी बोकेको गाडी । ढुङ्ग्याने सडकमा धुलो उडाउँदै कुलेलम ठोक्दैछ ऊ । लोमन्थाङभन्दा धेरै माथि उत्तरतिरबाट झर्दोरहेछ मार्चुङ नदी । पछि दामोदर कुण्डबाट झरेको नदी कालीगण्डकीमा मिल्ने भएकाले स्थानीय परिस्थिति नबुझ्नेहरूले माथितिर पनि कालीगण्डकी नै भनिदिँदा रहेछन् । मार्चुङको अर्थ ‘माउ नदी’ हो रहेछ । त्यसमा सयौँ नदी मिसिंदै कालीगण्डकी बन्ने रहेछ । मार्चुङको सुरिलो स्वर सुन्दै र स्वच्छ शरीर नियाल्दै हाम्रो मन घुलिन्छ नदीकै छाल र लहरहरूमा । अमूर्त भाव, विचार र कला बोकेर बगेको सुन्दर मार्चुङ आफैँमा कविताको सुन्दर मुहान छ । कविताका लहरहरू फिजाउँदै निरन्तर बगिरहेछ ऊ ।
गाडी हिँड्नुअघि नै लोमन्थाङमा किनेको पोलिथिन झोला खोले टासी बहिनी र कुङ्गा भाइले ।
‘किन खोल्नुभएको झोलाको मुख ?’ मैले सोधेँ ।
‘बान्ता आउला भनेर’— दुवैको जवाफ आयो एकै पटक ।
‘म भएको ठाउँमा बान्ता आउँदैन, ढुक्क हुनुहोस्’— पक्का जसरी बोलेँ म ।
‘साँच्चै हो ?’ बहिनी बोलिन् ।
‘हेर्नुहोस् न फरक नै पर्दैन’— थपेँ मैले ।
चराङ, ढाङ्मर, घमी, स्याङ्मोचेन हुँदै चैले पुग्दा पनि दुवैलाई बान्ता आएन ।
‘सर तपाईं झाँक्री हो कि क्या हो ? हाम्रो ठुलो रोग निको पारिदिनुभयो । हिँड्ने बेलामा वाकवाक सुरु भइसकेको थियो । हिँडेपछि स्वाट्टै हरायो । के जादु हो यस्तो ?’ चकित भए भाइ ।
‘यो जादु, टुना केही होइन । डरले बान्ता चल्छ क्या गाडीमा । डर झिकेर फालिदिनुहोस्, सबै ठिक हुन्छ’ — मैले बताएँ ।
बिस्तार लोमन्थाङ सहर टाढिँदैछ हामीबाट । छोर्तेन, चैत्य, गुम्बा र बौद्ध मन्त्र लेखिएका ध्वजापताकायुक्त लुङ्दरहरूको फरफराहट पनि टाढिँदैछ । सहरका कुनाकानी र वरपरका पहाडी थुम्काहरूसम्म टाँगिएका बौद्धसूत्रका रङ्गीबिरङ्गी गति टाढिदैछ । ढुङ्गाका गाह्राहरू, माटाका छानाहरू, छानामाथि चौकुना ढाकेर चट्टा बनाइएका दाउराका चाङ्हरूले निम्त्याएका नवीन बस्तीचित्रहरू टाढिँदैछन् । गुम्बा, दरबार, घर, चैत्य सबै माटाले कलात्मक रूपमा निर्मित छन् लोमन्थाङमा । त्यो पवित्र माटाको सुन्दर सहर बिदा भयो हामीबाट, हाम्रै मुटुमा सजिएर ।
तिब्बती संस्कार, संस्कृति, भूगोल र परिस्थितिको उपस्थिति त्यो सानो तिब्बतसँग टाढिदैछौँ हामी ।
हामीलाई लखेट्दै लखेट्दै आएको कुहिराले हामै्रअघिल्तिर घामलाई चक्रव्यूहमा फसायो र निकैबेर छोपिरह्यो आफ्नै मुठीभित्र । घामलाई उतै छोडेर ओर्लियो आकाश, कुहिराको सहारामा । त्यही अँध्यारालाई फकाउँदै चराहरूले गाए नूतन गीत । त्यही समयमा रचें मैले एउटा कविता ।
गति आमन्त्रण
तिमी जम्न खोजिरहेछौ
म पग्लन र बग्न खोजिरहेछु
हिउँ बनेर बस
वा, बादल बनेर फैलिऊ
म तिमीलाई
श्वेत सर्वाङ्गमा
म जस्तै स्वतन्त्र गीत गाउन
आव्हान गर्दैछु

जुनेली तरुना रात हुन्
वा, बैंस कोपर्ने तिखा दिनहरू नै किन नहुन्
मैले हारेको छैन इन्द्रेणी सपनाहरू ब्युँझाउन

मैले नै ब्युँझाएको छु
हिउँ ओडेर लमतन्न सुत्न खोज्ने पहराहरूलाई
हिउँकै लोलीमा बग्न बिर्सने नदीहरूलाई
र, हिउँसँग हारेर
कुम्लो कुटुरो बोक्दै मैदान झर्ने मान्छेहरूलाई

नदी र हावाको वेगमा हुत्तिएका ए मान्छेहरू
सुन एउटा कुरा
तिमी नरोकिएसम्म
रोकिँदैन कोहीपनि
अघिल्तिर मुस्कुराइरहेका छन् एक लहर तृणहीन नीलिम पहाडहरू । नीलिम आकाशमुनि नीलिम पहाडहरू आफैँमा मोतीका पहाड झैँ चम्केका छन् । घाँस, स्याउला, वन, बुट्यान केही नभए पनि सुन्दर छन् पहाडहरू । एउटी नग्न सुन्दरी आँखैअघिल्तिर एक्कासी उभिँदा झैँ कौतुहलकारी बनेको छु म । घाम निर्लज्ज लडिरहेछ त्यही नाङ्गा पहाडहरूमा । ऊ मातेको छ र काँपेको छ कुहिराका केस्राहरूमा ।
उच्च हिमाली मरुभूमिको स्वाद चाख्नेहरूका लागि गन्तव्य हो माथिल्लो मुस्ताङ । घाम, छाया, बादल र पहाडका कुमारी दृश्यहरूसँगै चराहरूका नूपूर आवाज र खोलाखोल्सीको अनन्त मूच्र्छना ब्युँझिइरहने ठाउँ पनि हो माथिल्लो मुस्ताङ । आँखाले निल्छु म उनलाई, मनले चाट्छु म उनलाई, हातपाउले लिन खोज्छु स्वाद उनको र भनिरहन्छु— तिमी पाएर पो हिउँभन्दा उज्यालो बन्दैछ मेरो जीवन । सृष्टिदेखि नै लजाउँदै आएकी तिमी । अझ लजाउँछ्यौ मेरा उत्तेजित आनीबानीहरू देखेर ।
तिम्रो लैनो लज्जाभित्रबाट उठाउन खोज्दैछु म प्रेमिल इन्द्रेणीको अम्बल धरहरा ।
‘ओ सार, तँ फोटो खिच्छस्, कापीमा लेख्छस्, यो दुई ओटै गर्न नपर्ने एउटा उपाय सिकाउँछु मान्छस् ?’ मेरो दायाँपट्टिको सिटमा बसेका आङ्गेल गुरुङ भाइ बोले । नोटबुकमा लेख्दै नयाँ दृश्यहरू तस्बिरमा कैद गर्दै गरेको मेरो लगाबलाई निकै अघिदेखि नियालेका रहेछन् उनले ।
‘हुन्छ, सुनौँ न भाइ’— म हाँसेँ ।
‘आँखाले हेर्ने, मनमा साँच्ने, भइहाल्छ नि, बेकारमा लेख्ने र खिच्ने केको झन्झट ?’ भाइ हाँसे ।
‘मनको कुरा मनमै रहन्छ नि भाइ, अरूलाई देखाउन तस्विर र अक्षर दुवै चाहियो नि’, थपेँ ।
‘लेख्नू तर, हाम्रो ठाउँ र मर्म बिग्रने गरी नलेख्नू नि’— लेखकको लागि असाध्यै राम्रो टिप्स भने भाइले ।
‘यतातिर सबै तिब्बती रहनसहन छ । बौद्ध बोन–पो तथा ताओ धर्मको फैलावट क्षेत्र हो लोमन्थाङ । तिब्बती चलनमा थरलाई त्यति महत्त्व दिइँदैन । तिब्बती मूलका लोवा जातिको बाहुल्यता छ यहाँ । सरकारले नागरिकता बाँड्दा हामी सबैको थर ‘गुरुङ’ भनिदियो । संस्कार बिरुद्धको चलन चलाएर हाम्रो संस्कृति बिगार्न खोज्दैछ सरकार ।’ आक्रोश आयो भाइबाट । राजा जिग्मेका भाञ्जा सुरेन्द्र विष्टको पनि सहमति देखियो आङ्गेल भाइको कुरामा ।
शक्तिको आडमा संस्कार भत्काइदिनु नश्ल नै निमिट्यान्न पार्न खोज्नु हो ।
स्याङ्मोचेन पुग्न लाग्दा जाँगर फक्रेको देखिन थाल्यो मान्छेको । ग्लास हाउसमा फलेका देखिन्छन् काउली, बन्दा, साग र गोलभेँडाहरू । उता सौर्य ऊर्जाका प्यानलहरू निलै फर्केका छन् आकाशतिर र सौर्यशक्ति पु¥याउँदैछन् घर घरसम्म । नाङ्गा पहाडहरूमा सल्बलाउँदै चरिरहेछन् बाख्राहरू र हिनहिनाउँदै उफ्रिरहेछन् घोडाहरू । घाँस नै नभएका पाषाणपुरहरूमा के कोपर्छन् होला ती बिचराहरूले ।
जीवनसँग बचाइ छ, जस्तो अप्ठेरो ठाउँमा पनि ।
संसार ढाकिएको छ बालुवाले । जतासुकै तृषित छ जमिन । आगाको लप्का फैलिइरहे झैँ छ हावासँग । आगाको भुङ्ग्रो ह्वारह्वारती खसे झैँ छ सूर्यबाट । काम गरिरहेछन् मान्छेहरू । जाँगर जागेको छ । ग्रिन हाउस सुरुङमा तरकारी फलाइरहेछन् । वस्तुभाउ पालिरहेछन् । हरियाली बढाइरहेछन् । खाडी मुलुकहरू कतार, साउदी अरेबिया, जोर्डनतिर देखेथेँ मैले । हेर्दा लोमन्थाङ त्यस्तै लाग्छ, भोग्दा त्यस्तो होइन । शीतल छ । भर्खर सफा पानीले नुहाएर ताजा बसे जस्तो छ । यहाँ उमार्न सक्ने धेरै छन्, उचाल्न सक्ने धेरै छन्, उक्साउन सक्ने कति कति ।
बडेमाको खोलो हिमरस बोकेर फालहाल्दैछ । अलि माथितिर हामीलाई नै एकोहोरो हेरिरहेछन् हिमशृङ्खलाहरूले ।
‘संसारकै सबैभन्दा शुद्ध पानी हो यो । ल हेर्नुहोस् त संसारका सबै घटना देखिन्छन् यी जलकलाहरूमा’— अलल्ले उर्लेका छालहरू देखाउँछु म ।
‘सहर पसेपछि मान्छे बिग्रिन्छ, लोभी, पापी, धूर्त र स्वार्थी बन्छ, त्यसैले म सहरमा बस्दिनँ’— रत्नराज्य कलेजबाट स्नातक उत्तीर्ण गरेका भाइको निचोड हो त्यो ।
‘सहरका मान्छे सुकिला लुगा लगाइ टोपल्छन्, भित्र मन भने असाध्यै मैलो हुन्छ ।’
‘सहरमा जथाभावी पिसाब गरेर जमिन भिजाउँछन् र त्यही जमिनबाट पानी तानेर पिउँछन् ।’
‘धुलाले रङ्मङ्गिएको आकाशमा सास फेर्छन्, मलिलो खेतबारीलाई सिसाका टुक्रा, इँटा, ढुङ्गा र सिमेन्टले अठ्याउँछन् अनि, प्लास्टिकका फुलहरू कोठामा राखेर सिसीको अत्तर छम्कन्छन् ।’
‘गाउँका बा आमाबाट जन्मे हुर्केर उनीहरूलाई नै नचिन्ने ठाउँ हो सहर । गाउँकै अन्न, दुध र तरकारी खाएर गाउँलाई नै हियाउने ठाउँ हो सहर ।’
‘मरिमेटेर ओइरने, लाए खाए जस्तो गर्ने, भित्रभित्रै गन्धेबन्सो हुर्काएर कोपरिरहने मुटु हो सहर ।’
‘माया मोह रुपियाँमा किनबेच हुन्छ सहरमा । जी, हजुरी, हुकुम र हवस् खुबै चल्छ सहरमा, व्यवहार भने हावाको तौलअनुसार फर्कने पिपलपाते भइरहन्छ सहरमा ।’
सहर पस्ने र फस्नेहरू गाउँविरुद्ध हल्ला चलाउँदैछन् अचेल । काला कर्तुत लुकाएर सुकिला साबित हुन खोज्नेहरू गाउँविरुद्ध गोला छर्दैछन् अचेल ।’
‘राजनीतिक बलमा हैकम चलाउने ठाउँ हो सहर ।’
‘त्यसैले, म सहर पस्दिनँ । पसिहाले पनि बस्दिनँ ।’
आङ्गेल भाइको आक्रोश मार्चुङ नदीको विद्युत्भन्दा कडा उत्रियो । टासी बहिनी र कुङ्गा भाइले झन्डै ताली पिटेका । सहरतिरबाट गएका हाम्रैविरुद्ध आङ्गेलले बोलेजस्तो मानेर कान राता पा¥यौँ हामीले ।
‘उहाँ त कवि हो कि क्या हो ?’ भाषा नबुझे पनि भाइको काव्य शैली खुब मन परेछ बेलायती मित्रलाई; सोधिहाले ।
धुवासँगै सल्बलाएको देखियो भ¥ज्याङबाट स्याङ्मोचेन गाउँ ।
‘दामोदर, तपाईं झरे पनि यतै उभिइरहनु हुनेछ सधैँभरि । तपाईं मरे पनि सधैँ बाँचिरहनु हुनेछ हाँसेर र अग्लिएर यतैतिर । नजन्मिदै तपाईं यतै हुनुहुन्थ्यो ।’ त्यतैको शितल हावाझैँ सुसाउनुभयो टासी बहिनी ।
‘कसरी ?’
‘उः हेर्नुहोस् न ! त्यता हुनुहुन्छ तपाईं ।’ दक्षिणतिर देखाउनुहुन्छ टासी बहिनीले दामोदर हिमाललाई । लहरभित्र असङ्ख्य लहरहरू छन् । निख्खर सेताम्यले हिमरोशनीले नयाँ रङ थप्दैछ सूर्यको किरणलाई । त्यतैबाट झर्दैछन् श्वेत धाराका असङ्ख्य धर्साहरू । चुचुरालाई चुम्दै टाढिँदै, टाढिँदै चुम्दै गर्दैछ एक भुल्का कुहिराले । निर्वस्त्र हिमसंसारमा निर्वस्त्र चल्मलाइरहेछ एउटा जखमले घाम । सदावहार श्वेत सौन्दर्य कदापि नथाक्ने हिमयाम बनेर उभिएको छ । शब्दमा बयान गर्न गाह्रो छ त्यो नीलिम नभ र श्वेत संसारको समुन्नतिलाई । त्यही देखेर लेखे होलान् हाम्रा पूर्खाले तिब्बततिर स्वर्ग छ भनेर । गाडीबाटै हाम फालेर त्यतै दगुरुँ जस्तो लाग्यो मलाई तर मसँगै पनि छ मात । मसँगै पनि छ स्वप्नील संसार । मसँगै पनि छन् आकाश, धर्ति र जीवनका सुन्दर क्षणहरू ।
मैले आँखा गाढेर हेरेँ । ती त फेरि लजाइन् र ओडिन् एउटा रङ्गीन बर्को ।
दामोदर हिमशृङ्खलाले पनि हेरिरह्यो मलाई । टासी बहिनीले त्यसो भनेपछि म पनि हेरेर अघाइनँ उसलाई । अघिदेखि किन हेरिएन ? थकथकाएँ म अलि अलि ।
‘शुष्कमा पनि छ सुन्दर जीवन’— सुसाउँदै भनिरह्यो वायुमात्रको वायुले ।
‘माटामा जत्तिको ओजिलो रङ अन्त कहाँ पाइन्छ र ?’ नाङ्गै लमतन्न सुतिरहेका पहाड, पाखा, भिर र खोंचहरूले जुलुसकै आवाजमा बोले एकै स्वरमा । दायाँतिर सुनौला पहाडहरू लामबद्ध छन्, बायाँतिर रक्तिम पहाडहरू र अलि पर पूर्वतिर टल्किरहेछन् चाँदी जस्ता पहाडहरू । मरुभूमिको गाढा रङ्ग स्पर्श गरेको मैले कतारका कुना कुनामा, साउदी अरेबियाका शान्त बालुवाहरूमा र संयुक्त अरब इमिरेट्सको फुजोराहाका मरुपर्वत सतहहरूमा । मरुभूमिको रङमा रङ्मङ्गिँदा जीवनका प्रत्येक क्षणमा सपना देख्ने र हरेक सपनाहरू सुगन्धित बनाउने तागत मिल्छ मलाई । बिन्दास बहकिरहेको भेटियो घाम पनि क्षितिजदेखि क्षितिजसम्म ।
लोमन्थाङ ! म तिमीलाई तन दिइरहेछु, मन दिइरहेछु र दिइरहेछु मेरो सर्वस्व । मरुभूमि होस् वा मरुद्यान, शिखर होस् वा खोंच, परिधानयुक्त होऊ वा परिधानविहीन, आँखाबाट हर्षका वा पिरका पउल बगाइरहेकी होऊ वा घाम जूनको रोशनीभन्दा अझ चम्किरहेको अनुहार— म मख्ख बनिरहेछु तिमीसँगको यात्रामा । तिम्रो सिरसिर साउतीले बिजुली चम्कन्छ मेरो जाँगरमा र प्रेमोत्कर्षका तिम्रा हरेक हेराइमा तरङ्गित हुन्छु म विशाल ज्वालामुखी फुटाउँदै ।
मेरो उपस्थितिमा तिमी लजायौ, लजाइरह्यौ । मैले भने धेरै योजनाहरू बुनेँ— तिम्रो रूपमा अझ रङ्ग दिएर म आफैँ अझ रङ्गिने र अझ फैलाउने नयाँ ऊर्जाका आँकुराहरूलाई ।
‘ओ ! भ्रागौम्जिन, भ्रागौम्जिन’— गाडीबाट नै फाल हालुँला जस्तो गरी उफ्रिए रोय हड्सन । ‘लुक लुक’ अलि पर ढुङ्गामाथि मुन्टो ठड्याउँदै चल्मलाइरहेका मुसाहरू देखिए । ‘हाम्रो लिंडे मुसालाई भ्रागौम्जिन भन्दा रहेछन् यिनीहरू । बोले कर्मा लामा । त्यति चिसो हिमालमा बाँच्न सक्नु भ्रागौम्जिनहरूको साहस मान्नै पर्छ । ‘ती मुसाहरूले पालैपालो तिखो स्वरमा चिर्रर आवाज निकाल्दा त्यो शान्त वातावरणमा अरू सुन्दरता थपिँदो रहेछ । ‘यो त हिमाली बुद्ध नै हो । एक्लै बस्छ । असारदेखि असोजसम्म घाँस बटुलेर दुलोमा राख्छ । हिउँदमा आपूm खान्छ र अरू साना किरा फट्याङ्ग्रालाई पनि खान दिन्छ । हिउँ चितुवा, न्याउरी मुसा, चिल, गिद्ध, फयाउराहरूले यसलाई नै खाइदिन्छन् । यो त साँच्चै हिमाली भिक्षु हो । आपूm दुःख सहेर अरूलाई हँसाउने, आपूm मरेर अरूलाई बचाउने । पहिले पहिले त असाध्यै देखिन्थे यस्ता मुसाहरू अचेल सारै कम देख्न पाइन्छ । हिमालमा तातो बढेकाले यिनीहरू मर्न थाले भन्छन् । यिनीहरू मर्न थाले भने हामी पनि कसरी बाँचौँला ख्वै हिमालमा ? दुलोमा छिर्दै, ढुङ्गामा खुरुर्र दौडिदै, रमाइरहेथे तिनीहरू । जिउमा रहेका पहेंला र खरानी रङ्गका भुत्लाहरू, चम्किला आँखा, चुच्चे मुख र आकर्षक कानहरूले जो सुकैलाई नलोभ्याउने कुरै थिएन ।’ ‘हामी पैदल आउनुपथ्र्यो, बेकारमा गाडीमा आयौँ । पैदल आएको भए कुरा गर्दै हिँड्न पाउने थियौँ मुसाहरू, घोडाहरू, खच्चरहरू, कागहरू, नदीहरू, नाङ्गा पहाडहरू र नाङ्गा घाम जुनसँग । गाडी चढ्नु भनेको हतारमा स्थानीय रङलाई अरूतिरै धकेल्नु पनि हो ।’ थकथकाए डानियल । पैदल हिँड्नु समयका प्रत्येक कित्ता नजिकबाट छाम्नु पनि हो । स्पर्शको अनुभूति आलो हुन्छ । गाडीको आवाजले दुलो छिरेका भ्रागौम्जिनहरू हामी पर पुगेको थाहा पाएपछि फेरि ढुङ्गामा लजालु पाराले सल्बलाएका देखिए ।
‘हेर्नुहोस् त उः बुद्धहरूको फेरि सम्मेलन सुरु भयो’— मैले कोट्याएँ कर्मालाई । रोय र डानियलले सयौँ तस्बिरहरू खिचे र रमाए । अमेरिकाको उचिता पहाडमा प्रेरी माउस देख्दा म पनि उनीहरू जस्तै रमाएको थिएँ । प्रेरी माउसहरू मान्छे वा अरू जीव नदेखे मान्छे झैँ उभिँदा रहेछन्, अरूलाई देखे भने छिरिहाल्दा रहेछन् आफ्ना दुलाहरूमा ।
अरू जीवहरू नहुने र माछा मात्र हुने हो भने कति नरमाइलो हुन्थ्यो होला यो संसार ।
ए भाइ, गाडी रोक गाडी, मान्छे नै मार्न दिनुभएन नि’— बाहिरको हृदयविदारक दृश्यले क्वारक्वारी कोप¥यो हामीलाई । गाडी रोकिएपछि झटपट ओर्लियौँ हामी सबै ।
पिडौँलाको मासु च्यातिएको छ । पिठ्युँमा प्वाल परेको छ । पाखुरा दुवैमा दाँत गाडिएका खोपिल्टाहरू छन् । पेटमा गहिरा डामहरू छन् लठ्ठीका । साउने पखेरोबाट पानी झरे झैँ बगिरहेछ जिउभरिबाट रगतको भेल । बाटाको बिचमा रहेको मेन्दोङ को छेका लाग्दै सर्पले निल्न आँटेको भ्यागुता झैँ बुद्रुक बुद्रुक उफ्रिन्छ र जहाँको तहीँ लड्छ मिङ्मा ।
‘तों बाँच्नुभन्दा ता मारेकै बेस् । कास्तो दिन बिहे गरेछु मोइले तोंसँग’— टाउकादेखि गोलिगाँठासम्म लठ्ठीले सुम्ठ्याएको सुम्ठ्याइछिन् धावाले । घरी ढुङ्गाले घरी लात्ताले भकुर्ने क्रम जारी छ ।
‘ए बहिनी, त्यतिसारो नपिट्नू नि मान्छे म¥यो भने’— रोक्नै नसकेर बोलेँ म ।
‘मारे मारोस्, यो मारे अर्कोसँग बिहे गर्छु मो’— मुख र मुड्की असिना झैँ बर्सिरहेछन् धावाका ।
अघिल्लो दिन घोडा चराउन डाँडापछाडि गएको रहेछ मिङ्मा । घोडा छोडेर रातभर चराङका साथीहरूसित मातेछ ऊ । बिहान घोडा पनि छैन, दोचा किन्न लगेको पैसा पनि छैन । अनि पो धावाले भालुकाँडे लठ्ठी बजारेकी रहिछिन् मिङ्माको ठाउँ कुठाउँमा ।
‘आबो यस्तो गार्दैन, माफ देऊ’— हात जोड्दै छारे रोगले लर्खराए झैँ गर्दैछ मिङ्मा । हामी देखेर सहाराको महसुस गर्दैछ तर लजाएको छ बेस्सरी ।
‘भै’गो अबदेखि यस्तो गर्दैन रे, जे भए’नि लोग्ने हो छोडिदेऊ’ सुरेन्द्र विष्टले सम्झाएपछि बल्ल रोकिइन् धावा । हामी नपुगेको भए एउटा मान्छे मृत्युको मुखमा जाकिन्थ्यो बिचरा ।

मान्छेले मान्छेलाई भकुरेको पहिलो पटक देखेका रहेछन् डानियल र रोयले । उनीहरू पो भूकम्पले हल्लाएको लिङ्गो झैँ हल्लिइरहे र जिब्रो काढिरहे निकैबेरसम्म ।
पहाड र तराईतिर भए जति गल्ती गरे पनि लोग्नेले स्वास्नीलाई भकुर्छ ।’ गाडी गुडेपछि मैले भनेँ ।
‘यहाँ त महिला सर्वेसर्वा हो । घरको कमाइ सबै महिलाको हातमा, लोग्ने, छोराछोरी महिलाकै इशारामा, महिलालाई भने प्रश्न गर्न पाइन्न कसैले पनि’ आङ्गेल भाइको स्पष्टोक्तिले बल्ल खुल्यो मिङ्माले चुटाइ खान परेको रहस्य ।
‘हिमालकी केटी र तराईको केटा बिहे गरिदिनुपर्ने रहेछ । त्यसो भयो भने बल्ल कोहीसँग कोही दब्न नपर्ने रहेछ हगि’— मैले भनेँ । हो मा हो मिलाए टासी र आङ्गेलले ।
नीलगिरि होटल, स्याङ्मोचेन लेखेको घरभन्दा अघिल्तिर हाम्रो गाडी रोकियो । साथीहरूले लोमन्थाङबाट हिँड्नुअघि नै फोनबाट खानाको अर्डर गरिसकेका रहेछन् हाम्रा लागि ।

मुलाको पुरानो अचार, लेकाली कालो दाल, लेकाली आलुको भुजुरी, चौंरीको घिउ र जौको ढिँडो– भोकको माझमा परेपछि खुर्मुरिँदै झरे पेटको भँड्खारोतिर ।
‘आज एक पटक पनि बान्ता भएन नि, देख्नु भो’ मसँग हिँडेपछि केही हुँदैन भनेको थिएँ नि’— खानाको पैसा तिर्दै गरेका टासी बहिनी र कुङ्गा भाइलाई कोट्याएँ मैले ।
‘हो सार, आज त आचम्मै भो, सारको गफको रमाइलामा वाकवाकी भुल्यो हामीले त’, कुङ्गाले भने ।
‘लौ अब कुनचाहिँ मारिने भो, कसको हातखुट्टा भाँचिने भो !’ होटलमा काम गर्ने दुई भाइ माझ्दैका भाँडा छोडेर कुलेलम ठोके बाहिरतिर होटलका साहु साहुनी, भात खाने ग्राहक र भरियाहरू सबै खुर्मुरिए होटलबाहिर । डानियल र रोय पनि हामीसँगै होटलबाहिर निस्किए ।
अन्दाजी पैंतालिस र चालिस वर्षजतिका दुई दाज्युभाइ टुक्रक्क बसेका छन् छेउको ढुङ्गामाथि । उनीहरूसँगै छेउमा बसेका छन् अन्दाजी बाइस, अठार र पन्ध्र वर्षजतिका तिन बच्चाहरू । आँगनमा लम्पसार लडेको छ कान्छो भाइ अन्दाजी तिस वर्षजतिको । ती तिनै भाइकी साझा पत्नी अन्दाजी पचास वर्षजतिकी पेमाढोमाले भकुर्दैछिन् त्यही कान्छो लोग्नेलाई । भाषा बुझिँदैन तर गाली बर्सिएको छ । कुटाइ यति निर्मम छ कि त्यो बिचराको पनि ज्यान तग्ला जस्तो छैन । हेर्ने दर्शकहरू त बिस पच्चिस जना नै छन् तर सम्हाल्ने कोही छैन । लात्तीले हानेर लडाउँछिन् । बिरालाले मुसो उचाले झैँ कपाल समातेर उचाल्छिन् र मुड्की चखाएर ढालिदिन्छिन् । बिचरो कान्छो लोग्ने हायल कायल भयो । पेमाढोमाका तिन लोग्नेमध्ये कान्छालाई एक वर्षअघि व्यापार गर्न बौद्ध पठाएकी रहिछिन् । त्यहीँ उसले अर्की केटी बिहे गरेछ । त्यसैवापत भकुराइमा परेछ ऊ ।
पेमाढोमाका भाषालाई नेपालीमा अथ्याईदिए मलाई पेमा रिन्जिन भाइले र त्यही अथ्याइरहेँ मैले रोय र डानियललाई । त्यो परिवार रहेछ लोमन्थाङको सबैभन्दा विकट चाम्जुङ गाउँको ।
‘तँ अब लोमन्थाङ काटेर बाहिर जान पाउने छैनस् । त्यो केटीको नाम मात्र उच्चारण गरिस् भने छोसेर खोलामा हालेर मारिदिन्छु । तँ अब तिन वर्षसम्म डाँडापछाडि बाख्रा, घोडा र खच्चर चराएर गोठालो बस् । तिन वर्षसम्म घर पनि आउन पाउन्नस् । ऊ त्यो कान्छो छोरा तेरो हो, मसँग छोरा पाउने, बिहे अर्कोसँग गर्ने, तँलाई अहिले नै यो ढुङ्गाले हानेर मारौँ ? रौद्र रूप देखियो पेमाढोमाको । हिन्दु साहित्यमा वर्णित श्वेत भैरवी तिनै हुन् कि झैँ लाग्यो मलाई । लुगलुग कामिरहेको रगतपच्छे शरीर बचाउने त्राण बोकेर ढुङ्गामाथि उक्लियो ऊ । त्यतै बजारिन् पेमाले बडेमाको ढुङ्गा । धन्न एक रौँले लागेन र पो । नत्र हेर्दाहेर्दै जीवन चट् उसको ।
हामीले पेमालाई सम्झायौँ । उनको कान्छो लोग्नेले माफी माग्यो । उनले भनेभन्दा फरक केही नगर्ने कसम खायो । एक वर्ष व्यापार गरेर कमाएको तिन लाख पचास हजार पेमालाई चढायो । पेमा केही मत्थर बनिन् । उनको जेठो र माहिलो लोग्नेले एक शब्द निकाल्न सकेनन् । लुगलुग कामेर बसिरहे ढुङ्गामाथि । बच्चाहरू पनि बाजको अघिल्तिरको परेवाजस्तो सशङ्कित बनिरहे । बोल्यो भने कुनै पनि बेला आइपुग्ने छ आमाको झापु आफ्नै गालामाथि भन्ने उनीहरूलाई राम्ररी थाहा रहेछ ।
तिन लजालु लोग्नेहरू देखेपछि सम्झिएँ मैले तराई र पहाडका लजालु बुहारीहरूलाई ।
‘लोमन्थाङका आमाहरू नारी सशक्तीकरण अभियानका उत्तम अभियन्ता बन्न सक्छन्’— डानियलले जिब्रो टोक्दै मेरो कानमा फुसफुसाएको कुरा गढ्यो मेरो मनमा राम्रैसँग ।
‘नाङ्गो आकाश नाङ्गो धर्तिको बिचमा मान्छेको छलछाम व्यवहार पनि टिक्न सक्तैन । यी हेर्नुहोस् न लोमन्थाङ सर्वत्र स्पष्ट, सर्वत्र खुला र सर्वत्र सरल छ । सेतो कपडामा एक छिटा मसी पनि देखिहाल्छन् जोसुकैले । त्यसैले पनि झुठमुठ र ढुलमुल कहाँ टिक्छ र ?’ मैले भनेँ ।
बिस्तारै बादलको बर्को ओढ्यो स्याङमोचेनले । बिस्तारै जालोमा छोपिएको बत्ती बन्यो समय दर्शाउने डुलुवा । अलि पर बारीमा लजाउँदै झुलिरहे फापरका राता डाँठ र हिउँजस्तै सेता फुलहरू ।
लजाउने र खुल्ने क्रम जारी छ लोमन्थाङको । हामी मनको मझेरीमा लोमन्थाङका स्पर्श र स्मरण चाङ लगाउँदै ओरालो झरिरहेछौंँ ।

स्याङ्मोचेन, लोमन्थाङ, मुस्ताङ
२०७१ असार १७ गते, मंगलबार

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्